सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। यसअघि यही चैत ५ गते उक्त सुनको मूल्य उच्च रहँदै प्रतितोला एक लाख १० हजार पुगेको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय ५० छ। उक्त सुन अघिल्लो दिन एक लाख आठ हजार पाँचसयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४० ले बढेर रु एक हजार चार सय ४० पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तराष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २२ चैत्र २०७९ ०७:३३ बुधबार





