२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

हाइटेक प्रविधिले उत्पादनमा ६० प्रतिशत वृद्धि

बेमौसमी खेतीका लागि अति उपयुक्त सेमीहाइटेक प्रविधिबाट कृषि खेती गर्दा आम्दानी बढेपछि यहाँका कृषक त्यसतर्फ आकर्षित भएका छन्। व्यावसायिक कृषिलाई थप व्यवस्थित बनाउन तथा उत्पादनमा वृद्धि हुने भएपछि सेमीहाइटेक प्रविधिबाट कृषि गर्ने किसानको संख्या पनि बढ्दै गएको छ।

थोरै महँगो र सुरुमा लागत बढी लाग्ने भए पनि तरकारी उत्पादनमा वृद्धि हुने भएपछि सेमिहाइटेक प्रविधितर्फ किसान आकर्षित हुन थालेका छन्। दिर्घकालिक रूपमा कृषि गर्ने किसानका लागी यो प्रविधि लाभदायक देखिएपछि अहिले सेमीहाईटेकमा कृषि गरेर कृषकहरूले मनग्य आम्दानी गरिरहेका छन्।

बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी हुने भएपछि सन्धिखर्क-८ का कृषक पुष्करनाथ बञ्जाडेले विगत पाँच वर्षदेखि सेमीहाइटेक प्रविधिबाट खेती गर्दै आएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (जोन) को ५० प्रतिशत अनुदानमा सेमीहाइटेक प्रविधि भित्राएका बञ्जाडेले त्यसमा काँक्रो र टमाटर खेती गर्दै आएका छन्। कुल ३० रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको र वार्षिक बीस लाख आम्दानी गर्ने गरेको उनले बताए।

‘वर्षको बीस लाखको तरकारी बेचेको छु, उनले भने, ‘खर्च कटाएर १४/१५ लाख बचाएको हुन्छु।’ २०४६ सालदेखि निरन्तर खेती गर्दै आएका बञ्जाडेले टनेलदेखि हाइटेक प्रविधिसम्मका सबै प्रविधि प्रयोग गरेका छन्। सेमीहाइटेक प्रविधि प्रयोग गर्दा उत्पादनमा ६ गुणाले वृद्धि भएको उनको भनाइ छ। छत्रदेव गाउँपालिका वडा नम्बर-४ का कृषक विष्णु भुसालले दुई वर्षअघि यो प्रविधिबाट कृषि खेती सुरु गरे। टनेलमा व्यावसायिक खेती गर्दै आएका भुसाल अनुदानमा सेमीहाइटेक पाएपछि अहिले त्यसमा बेमौसमी तरकारी फलाएर बेचिरहेका छन्। सुरुमा लगानी बढी लगाउनु परे पनि प्रविधिमैत्री भएकाले पछि लागत कम हुने उनले बताए। ‘सुरुमा अलि बढी खर्च लाग्छ, उनले भने, ‘एकपटक खर्च गरेपछि अन्य खर्च कम हुन्छन्, उत्पादन पनि बढी हुन्छ।’

करीब दस वर्ष विदेश बसेर फर्किएपछि सन्धिखर्क नगरपालिका-६, सबस्टेसन नजिकै ८० रोपनीमा व्यावसायिक फलफूल तथा तरकारी खेती गर्दै आएका बाबुराम भुसालले पनि सेमीहाइटेक प्रविधिबाट तरकारी उत्पादन गरिरहेका छन्। सेमीहाइटेक प्रविधि उपयुक्त भए पनि आवश्यक प्राविधिक ज्ञान र अनुभवको कमीले भरपुर फाइदा लिन भने नसकेको उनले बताए।

कुलर, पंखा, सिँचाइ आदिको सबै सुविधा हाइटेक भित्रै हुने भएकाले खेती गर्न सजिलो रहेको उनको भनाइ छ। ‘सबै सुविधा हुने भएकाले बेमौसमी तरकारी उत्पादन गर्न सहज र सरल छ, उनले भने, ‘ज्ञानको अभाव र प्राविधिकहरूको कमीले जति उत्पादन हुनुपर्ने हो त्यति हुन सकेको छैन।’ विदेश बसेर सिकेको ज्ञान, सिप र त्यहाँ कमाएको पैसाले स्वदेशमै केही गर्न खोजेको उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन कार्यान्वयन एकाइ (जोन) का प्रमुख रामनाथ पाण्डेका अनुसार प्रतिकुल मौसमलाई अनुकूल बनाएर गरिने कृषि प्रणालीलाई सेमीहाइटेक प्रविधि भन्ने गरिन्छ। रोग, किराको जोखिम नरहेको, विषादी छर्किन नपर्ने, मजदुर कम लाग्ने र बेमौसमी खेती गर्न पाइने भएकाले यो प्रविधि कृषिमैत्री भएको उनको भनाइ छ।

खुला ठाउँ तथा टनेलमा हुने उत्पादनभन्दा सेमीहाइटेकमा ५० देखि ६० प्रतिशतले उत्पादन वृद्धि हुने प्रमुख पाण्डेले बताए। हाइटेक भित्रै कुलर, पंखा, पानी सिँचाइ गर्ने फोहोरा, थोपा सिँचाइ, तापक्रम मिलान लगायतका सुविधा हुने भएकाले बेमौसमी खेतीका लागी अति उपयुक्त रहेको उनको भनाइ छ।

उनले भने, ‘दीर्घकालीन रूपमा कृषि गर्ने किसानका लागि यो उपयुक्त छ। सुरुमा एकैपटक धेरै लगानी लाउनुपर्छ तर किसानमैत्री प्रविधि भएकाले यो गरिखाने किसानका लागि दीर्घकालसम्म फाइदा पुर्‍याउँछ।’

नयाँ प्रविधि र केही महँगो भएकाले अहिले अर्घाखाँची जिल्लाभर ९ जनाले मात्र यो प्रविधिबाट तरकारी खेती गरिरहेका छन्। गर्न सके बजारको अभाव छैन।

प्रकाशित: ४ फाल्गुन २०७९ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App