५ वैशाख २०८१ बुधबार
अर्थ

दुर्घटनापछि घटे हवाई यात्रु र उडान संख्या

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यती र बुद्ध एयरका जहाज। फाइल तस्बिरः नागरिक

दुइसाता अघिसम्म पोखरा–काठमाडौं रुटमा बुद्ध एयरले मात्र दिनमा १२ वटा उडान गरिरहेको थियो। ती सबैजसो उडानका ७०–८० प्रतिशत सिट यात्रुले भरिएका हुन्थे। बिदाको बेला त करिब सतप्रतिशत नै सिट भरिएका हुन्थे। त्यस्तै अवस्था यती एयरलाइन्सका जहाजमा पनि थियो। यतीले पनि पोखरा–काठमाडौं रुटमा दिनमा ६ वटासम्म उडान गर्दै आएको थियो। त्यसबाहेक श्री र गुण एयरले पनि उडान गरिरहेका थिए। सबैजसो हवाई जहाजलाई यात्रुको खासै खाँचो थिएन।  

तर, माघ १ गते पोखरामा चालकदलका चार सदस्य र यात्रुसहित ७२ जनाको ज्यान जानेगरि यती एयरलाइन्सको एटिआर७२–५०० सिरिजको जहाज दुर्घटनामा परेपछि हवाई यात्रु निकै नै घटेका छन्। यात्रु मात्र घटेका छैनन की हवाई उडान संख्या पनि आधाको हाराहारीमा घटेको हवाई कम्पनिले बताएका छन्। झन्डै आधा संख्यामा यात्रु घटेको हवाई कम्पनिले बताएका छन्।  

पर्यटन व्यवसायिका अनुसार फेबु्रअरीदेखि पर्यटकीय सिजन सुरु हुन्छ। यो सिजन अप्रिलसम्म रहिरहन्छ। व्यवसायी यो समयलाई पर्यटनको दोश्रो सिजन मान्छन। पहिलो सिजन सेप्टेम्बर–नोभेम्बरलाई मान्दै आएका छन्। सिजनको मुखैमा भउको हवाई दुर्घटनाले यात्रुप्रति नकारात्मक सन्देश फैलाउँदा पनि अहिले यात्रु कम भएको व्यवसायीले बताएका छन्। हवाई कम्पनिका पदाधिकारी पनि आधा संख्यामा यात्रु र उडान झरेको बताउँछन्।  

बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार दुर्घटना अघि पोखरा–काठमाडौं रुटमा बुद्धले नियमित १२ वटा उडान गरिरहेको थियो। त्यसबाहेक पोखराबाट भैरहवा, नेपालगञ्ज र भरतपुरसम्म पनि नियमित उडान थियो। ती सबै उडानमा पर्याप्त यात्रु हुन्थे। तर, अहिले करिब ५० प्रतिशत सिटमा मात्र यात्रु रहेको बरालले बताए। यो बेला यात्रु मात्र नभई उडान संख्या पनि घटेको बताए। पोखरा–काठमाडौैं रुटमा अहिले दिनमा ८ वटा मात्र उडान भईरहेको उनले बताए।  

‘दुर्घटना अघि पोखरा–काठमाडौं रुटमा दिनमा १२ वटासम्म उडान थिए। अहिले आठवटामा झरेका छन्। भैरहवा, भरतपुर र नेपालगञ्ज पनि उडान त छन्, तर, ती सबै उडानमा आधा यात्रु मात्र छन्,’ उनले भने, ‘दुर्घटनापछि एकाएक हवाई यात्रु घटेका छन्।’ हवाई दुर्घटनापछि एकखालको नकारात्मक सन्देश प्रवाह हुँदा त्यसको मार यात्रुमा परेको उनले बताए। ‘हवाई यात्रा निकै नै जोखिमपूर्ण रहेको भन्ने सन्देश फैलियो, जुन गलत हो। अब यो गलत सन्देश चिर्न जरुरी छ,’ बरालले भने, ‘पर्यटकीय सिजन सुरु हुने बेलाको यो सन्देशले विदेशी यात्रु पनि हतोत्साही हुने त्रास भएको छ।’

यती एयरका प्रवक्ता सुदर्शन बर्ताैला पनि दुर्घटनाले नकारात्मक सन्देश दिलाएकोले त्यो चिर्न जरुरी रहेको बताउँछन। उनका अनुसार अहिले पोखरा–काठमाडौं रुटमा अहिले यतीको दिनमा ३ वटा उडान भईरहेका छन्। त्यो संख्या दुर्घटना अघि दिनहुँ ६ वटासम्म थिए। ‘नियमित रुपमा ६ वटा उडान भईरहेका थिए। यात्रु संख्या पनि निकै राम्रो थियो। तर, दुर्घटनापछि यात्रु एकाएक घटेका छन,’ बर्ताैलाले भने, ‘उडान संख्या पनि आधामा झरेका छन्। बिस्तारै गति लिने देखिएको छ। तर, केही समय लाग्ने पक्का छ।’

हवाई उडानबारे राज्यपक्ष र समग्र पर्यटन क्षेत्रले सकारात्मक सन्देश फैलाउन सक्ने हो भने हवाई यात्राप्रति गुमेको त्यो अविश्वास अलि छिटोगरि चिर्न सकिने बर्तौला बताउँछन्। ‘यस्तै नकारात्मक सन्देश रहिरहने हो भने सिंगो हवाई क्षेत्र नै नोक्सानीमा जान्छ। त्यसैले सरकार र पर्यटन क्षेत्र यसप्रति अलि सचेत हुनुपर्छ। दुर्घटनाबाट पाठ सिकेर गलत सन्देशलाई सकारात्मक दिशा दिनुपर्छ,’ उनले भने, ‘हवाई कम्पनि यसबारेमा संवेदनशील बनेको छ। पोखराको पर्यटन क्षेत्र यसबारे अझ बढी संवेदनशील हुन जरुरी छ। किनकी हवाई क्षेत्रप्रति अविश्वास प्रकट गर्न दिन हुँदैन।’

पर्यटन व्यवसायी पनि हवाई दुर्घटनाले चिन्तित छन्। हवाई यात्रुमा दुर्घटनाले त्रास सिर्जना गरिदिएको व्यवसायी बताउँछन्। पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन, ‘स्थलमार्ग बिस्तारको कारणले यात्रा सकसपूर्ण छ। हवाई यात्राप्रति नकारात्मक सन्देश प्रवाह हुँदा यात्रु नै छैनन दुर्घटनापछि हवाई यात्रु निकै नै कम भएका छन।’ अहिले पोखरा–मुग्लिन राजमार्ग बिस्तार भईरहेको छ। बिस्तारको काम भईरहँदा अहिले यात्रा झन्झटिलो बनेको उनले बताए। तोकिएको समयमा यो दूरी पुरा गर्न सकस छ। स्थलमार्ग सकसपूर्ण बनेपछि धेरै यात्रुले हवाई यात्रा रोजेकोमा दुर्घटनापछि त्यो पनि कम भएको उनले बताए।  

‘हवाई दुर्घटनाले त पर्यटनमा निकै नै असर पारेको छ। राजमार्गको यात्रा हैरानीपूर्ण छ। हवाई दुर्घटनाबारे नराम्रो सन्देश फैलिएको छ,’ उनले भने, ‘हवाई यात्रा प्रति नै अविश्वास सिर्जना भएको छ। त्यसले गर्दा पोखरा रुटमा अहिले यात्रु कम भएका हुन्।’ बिदाको बेला पोखरालाई पहिलो गन्तव्य बनाउने आन्तरिक पाहुना अहिले यात्रामा निस्कन नसकेको उनले बताए। ‘दुर्घटनापछि यात्रु निकै नै घटेका छन्। यसले सिंगो पर्यटन क्षेत्रमा मार पारेको छ,’ उनले भने, ‘हवाई दुर्घटनाले गुमाएको साख फर्काउन समय लाग्ने देखिएको छ। यसप्रति सबै क्षेत्र सचेत हुनैपर्छ।’  

प्रकाशित: ११ माघ २०७९ १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App