भारतले लगाएको अघोषित नाकाबन्दी हटाई भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकार सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले र्याली र विरोध प्रदर्शनसँगै भारतीय राजदूतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।
एनआरएनएका अनुसार असल छिमेकीको भूमिका निभाउन र अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न दूतावासमार्फत नयाँ दिल्लीलाई अनुरोध गरिनेछ । संघका अनुसार विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रमबारे स्थानीय प्रहरी, कम्युन र भारतीय राजदूतावासलाई अग्रिम जानकारी गराइसकिएको छ।
नेपालले भोगिरहेको समस्याको अन्तर्राष्ट्रियकरण तथा भारतीय पक्षलाई नैतिक दबाब होस भनेर गर्न लागिएको विरोध कार्यक्रममा सहभागी हुन डेनमार्कमा बस्ने अधिकांश नेपालीले फेसबुकमार्फत इच्छा देखाएका छन् । व्यापक प्रचारप्रसार गरिएकाले डेनिस सञ्चारमाध्यमले समेत कार्यक्रमबारे चासो व्यक्त गरेको संघले जनाएको छ ।
विरोध कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र स्थानीय सरकार तथा प्रहरीबाट समेत स्वीकृति प्राप्त भइसकेको एनआरएनए डेनमार्कले जानकारी गराएको छ । विरोध कार्यक्रममा सक्रिय रुपले सहभागी हुन संघले डेनमार्कमा बस्ने सबै नेपालीलाई आह्वान गरेको छ ।
आफूले चाहेजस्तो संविधान नआएपछि बिच्किएको भारतले भारतीय भूमि हुँदै नेपाल आउने आयातित वस्तु बोकेका ढुवानी साधनलाई मुख्य व्यापारिक नाका रक्सौलपारि रोकिदिएको छ । नेपाललाई इन्धन बेच्ने एकाधिकार पाएको भारतीय आयल कर्पोरेसनले ज्यादै कम परिमाणमा इन्धन उपलब्ध गराउँदा नेपालको दैनिक जनजीवन कठिन बनेको छ । जीवनदायी औषधि बोकेका गाडीलाई समेत नेपाल छिर्न नदिएपछि बिरामीको मृत्यु हुन थालेको छ । भारतीय नाकाबन्दीले नेपालमा अभूतपूर्व मानवीय संकट उत्पन्न गरेपछि भारतको विश्वव्यापी रुपमा आलोचना भइरहेको छ । नेपालविरुद्धको नाकाबन्दीलाई लिएर भारतभित्रै पनि नरेन्द्र मोदी सरकारको आलोचना भइरहेको छ ।
प्रकाशित: २ मंसिर २०७२ २०:४३ बुधबार





