६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

एनआरएनएको १४ बुँदे घोषणापत्र जारी

काठमाडौं - वैदेशिक रोजगारीमा गएर दुर्घटनालगायतका ठूला समस्यामा पर्ने व्यक्ति र परिवारलाई सहयोगार्थ छुट्टै राहत कोष स्थापना गर्नेलगायत १४ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन सकिएको छ। गैरआवासीय नेपाली अभियानले वैदेशिक रोजगारीमा गएका नेपालीको समस्याबारे वेवास्ता गरिरहेको आरोप लागिरहेको बेलामा संघले कोष स्थापनाको पहल गरेको हो।कोषमा सबै राष्ट्रिय समन्वय परिषद र गैरआवासीय नेपालीलाई अनुरोधसमेत गरेको छ। घोषणापत्रमा वैदेशिक रोजगारीमा गएका नेपालीको समस्या न्यूनीकरण गर्न सरकारसँग मिलेर निरन्तर रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। घोषणापत्रमा सरकारलाई नेपालीहरु काम गर्न जाने मुलुकका सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्न र श्रमिकको मानवोचित अधिकारको रक्षा गर्न आग्रह गरेको छ। 
घोषणापत्रमा नेपाली अर्थतन्त्रलाई जीवन्त राख्न वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने बिप्रेषणको उच्च मूल्यांकन गर्दै यसलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न र स–साना पुँजी संकलन गरेर लगानी गर्ने प्रतिबद्धता गरिएको छ। वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक सूचना दिन तयार पारिएको वैदेशिक रोजगार गाइडबुकलाई नेपालका सबै गाविस र नगरपालिकाका वडामा निःशुल्क उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ। 
नेपालमा स्वदेशी, विदेशी र गैरआवासीय नेपालीको लगानी प्रवर्द्धनलाई अझ बढी प्रोत्साहन गर्न सरकार र उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता घोषणपत्रमा छ। गैरआवासीय नेपालीलाई आफू बसिरहेको मुलुकका लगानीकर्ताको आर्थिक तथा बौद्धिक लगानी प्रवाह गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न घोषणापत्रमा आह्वान गरिएको छ। नेपालमा लगानी आउन सक्ने मुलुकसँग दोहोरो कर मुक्त गर्ने सम्झौता अघि बढाउन आग्रह गरिएको छ। घोषणापत्रमा लमजुङको दोर्दी खोलामा २७ मेगावाट जलविद्युत आयोजना सुरु भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा संयुक्त लगानीमा नयाँ जलविद्युत परियोजना निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।
विभिन्न मुलुकका गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदको सक्रियतामा भइरहेको नेपाल हाउस, नेपाली मेला, संस्कृति पर्यटन र नेपाली उत्पादनको प्रवर्द्धन कार्यलाई अन्य मुलुकमा थालनी गर्न घोषणापत्रमा आह्वान गरिएको छ। 
सम्मेलन समापनको अवसरमा आयोजित कार्यक्रममा गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले एनआरएनले नेपालको आर्थिक विकासमा योगदान गरेको टिप्पणी गर्दै यसलाई अझै बढाउन सक्ने धारणा राखे। उनले विदेशमा बसेका नेपालीलाई बिदा मनाउन नेपाल आउन आग्रह गरे। उनले दोस्रो पुस्तालाई वर्षमा एक महिना युवालाई स्वयंसेवकका रुपमा स्वदेश पठाउन आग्रह गरे। मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले गैरआवासीय नेपालीले छोटो अवधिमा धेरै उपलब्धि हासिल गरेको बताए। उनले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउन गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण रहेको बताए। संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताए। पूर्व महासचिव तेन्जी शेर्पाले दोस्रो दशकमा प्रवेश गरेको गैरआवासीय अभियानमा चुनौतीको पर्खाल रहेको बताए। उनले संघको इतिहासमा भएको निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको रुपमा लिन आग्रह गर्दै यसलाई गलत रुपमा नबुझ्न अनुरोध गरे। संघका नवनिर्वाचित अध्यक्ष शेष घलेले निर्वाचित भएपछि प्रतिबद्धता अनुसारका काम अघि बढाउन आग्रह गरे। उनले हार र जीतलाई विर्सेर एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता गरे। संघका निर्वतमान अध्यक्ष जीवा लामिछानेले एक दशकको अवधिमा संघले निकै ठूलो फड्को मारिसकेको बताए। 
'दश वर्ष लामो यो यात्रामा हामीलाई पनि र नेपालमा बस्ने नेपालीलाई पनि यथार्थ अवगत भइसकेको छ। गैरआवासीय नेपालीका सीमितताका सम्बन्धमा आम नेपालीले बुझिसक्नुभएको छ भने गैरआवासीयमा पनि नेपालका लागि केही गर्नुपर्छ भन्ने धारणा विकास भएको छ,' उनले भने, 'हामी यथार्थको धरातलमा ओर्लिइसकेका छौं। अब हामी थप जिम्मेवार भएका छौं र नेपाली समाजले हामीले धान्नै नसक्ने अपेक्षा पनि गर्नुहुने छैन भन्ने ठानेका छौ।'

प्रकाशित: ५ कार्तिक २०७० २२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App