१४ मंसिर २०७८ मंगलबार
ब्लग

विपत्तिमा मनलाई कसरी बलियो बनाउने ?

‘विपत्ति म आउँछु भनेर जानकारी दिएर आउँदैन’ त्यस्ता विपत्ति शारिरीक र मनोवैज्ञानिक रुपले सामना गर्नसक्नु नै मानव क्षमता हो। यतिबेला नेपालमा मात्र  नभई विश्व समुदाय नै कोरोना भाइरसको महामारीले ग्रसित र त्रसित छ।

विपत्तिजन्य अथवा संकटपूर्ण अवस्थाले व्यक्तिको मन र शरिरलाई नकारात्मक प्रभाव पर्न थालेको छ। विपत्तिजन्य अवस्थामा पार्ने मानसिक प्रभावलाई आघात भनिन्छ। यस्तो घटनाले व्यक्तिको मनमा सहनै नसक्ने मनोवैज्ञानिक पीडा दिन्छ। व्यक्ति जसले आफै अनुभव गरेको छ, अरुलाई भएको देखेको छ र कसैबाट सुनेको छ भने पनि मानसिक तनाव हुन सक्छ। प्रायः आघात प्राकृतिक प्रकोपहरुका कारणले हुने गर्दछ। जस्तै भूकम्प, बाढी–पहिरो, चट्याङ, रोगव्याधि, हिंसाजन्य घटनाले व्यक्तिको मन र शरिरलाई प्रत्यक्ष असर गर्छ।

हत्या हिंसा, बलात्कार, बेचबिखन, द्वन्द्वका कारणले पनि व्यक्तिलाई मनोसामाजिक असरहरु गर्ने गर्छ। त्यसको अतिरिक्त व्यक्तिले निर्माण गरेका सामग्रीहरु दुर्घटना हुँदा जस्तै बस, जहाज, विद्युतीय झट्काहरु लाग्दा, अकस्मात आफन्तहरु गुमाउँदा व्यक्तिलाई आघातको पीडा हुने गर्दछ।

अहिलेको समयमा मानिसहरु कोरोना भाइरसको कारण धेरैको मृत्यु भएको छ। हजारौं व्यक्तिहरु अझै पनि एकान्तबास बस्नु परेको छ। हरेक घरघरका मानिसहरुमा ज्वरो रुघाखोकी लागेको अवस्था छ। यसले गर्दा हरेक समुदायका व्यक्तिहरुमा चिन्ता, डर र अन्योलता थपेको छ।  

यतिबेला व्यक्तिहरुमा नकारात्मक तनाव बढिरहेको छ। छटपटी भइरहेको छ। यस असरको न्यूनीकरण कहिले होला, त्यसको अनुमान गर्न कठिन छ। उपचारको लागि विभिन्न देशहरु सरकार, दातृनिकाय र संघ संस्थाहरुसमेत लागिपरेका छन्।

औषधि/खोप तयार भए पनि प्रभावकारी हुन सकेको छैन। कोरोनाको अन्योलता र अनिश्चितता कायमै छ। यस्तो अवस्थामा बालबालिका तथा अन्य आम व्यक्तिहरुको मनको पीडालाई कसरी काम गर्ने र तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोच्नु र व्यवहारमा लागू गर्ने उत्तिकै महत्वपूर्ण छ।  

कोरोना भाइरसजस्तै महामारी वा विपत्तिजन्य अवस्थाले अल्पकालीन र दीर्घकालीन असर गर्छ। डर लाग्ने, राति निद्रा नलाग्ने, खानामा अरुचि हुने र कोरोनाको कारण मृत्युको संख्या बढिरहेको समाचार हेर्दा मन र शरिर सर्तक हुने, मुटुका धड्कन छिटोछिटो बढ्ने, ध्यान केन्द्रीत गर्न नसक्ने जस्ता लक्षणहरु व्यक्तिमा आउन गरेको पाइन्छ।  

त्यस्ता लक्षणहरुलाई अल्पकालीन लक्षणका रुपमा लिइन्छ। यस्ता समस्याहरु प्रभावित समुदायका धेरैभन्दा धेरै व्यक्तिहरुले महशुस गरेका हुन्छन्। त्यस्ता लक्षणहरु देखिनु भनेको सामान्य हो। जसलाई असमान्य घटना पछिको स्वभाविक प्रतिक्रियाको रुपमा लिइन्छ। त्यस्तो प्रक्रियाहरु आउनु भनेको हाम्रो मन र शरिर कमजोर भएर होइन संकटको बेलामा मनमा यस्ता प्रतिक्रियाहरु आउँछन् भनेर स्वीकार गर्याे भने मन शाान्त हुन सहयोग गर्दछ।  

तर महिनौ बितिसक्दा पनि निदाउन नसक्नु, कोरोना सर्छ कि भनेर धेरै डराउनु, जीवनमा केही गर्न सकिँदैन कि भन्ने सोचाइ राख्नु, कसैले पनि यो समस्यालाई निराकरण गर्न सक्दैनन् भन्ने सोचाइहरु व्यक्तिमा आइरहन्छन्। त्यस्ता समस्याले व्यक्तिको मन, शरिर, व्यवहार र सम्बन्धमा असर पुग्छ भने तुरुन्त स्वास्थ्यकर्मीहरु, मनोविमर्शकर्ता मनोविद्हरुको सल्लाह र सहयोग लिनुपर्छ।  

अप्ठ्यारो अवस्थामा व्यक्तिको मनले देखाउने प्रक्रिया हुन्, भावनात्मक समस्या। शारिरकि समस्याजस्तै मनका समस्याहरुलाई पनि व्यव्स्थापन गर्न सकिन्छ। त्यसका लागि मनोसामाजिक मनोवैज्ञानिक र मनोचिकित्सा क्षेत्रमा दक्षता प्राप्त गरेको व्यक्तिको सहयोग लिनपछि पर्नु हँुदैन।

विपत्तिजन्य अवस्था आउन सक्ने कठिनाइलाई सामना गर्न व्यक्ति आफैको ठूलो भूमिका रहन्छ। समस्या संगै ब्यक्तिमा समाधानका उपायहरु हुन्छन । परिवारका सदस्यसँगै रहने वा सम्पर्कमा रहिरहने, एकले अर्काको भावनाहरु सुन्ने र बुझ्ने गर्दा मन हल्का हुन्छ। संकटको बेलामा धेरैले सल्लाह सुझाव दिने गरेका हुन्छन्। यस्तो समयमा व्यक्तिका मनका भावनाहरु सुनाउने वातावरणको विकास गर्नुपर्छ जसले गर्दा मन हल्का हुन्छ।  

संकटजन्य अवस्थामा दिनचर्या फरक हुने भएकाले आफूलाई व्यस्त राख्ने र योजना बनाई लागू गर्दा मन आँत्तिदैन। केहि काम छैन भने मनलाई खुसी बनाउने शरिरलाई स्वस्थ राख्ने घरभित्रै गर्न सकिने क्रियाकलापहरुमा ध्यान दिन सकिन्छ। उदाहरणका लागि समयमा खाना खाने, सुत्ने, व्यायामहरु गर्ने, योगा गर्ने, ध्यान गर्ने गरेमा मन आँत्तिदैन। घरभित्रै बसेर जेजे क्रियाकलाप गर्न सम्भव छ, त्यसैलाई नै निरन्तरता दिनुपर्छ।

घरभित्र बस्दा सामाजिक सञ्जालको प्रयोग धेरै नै हुन्छ। त्यस्ता सञ्जालहरु सबै सत्य सूचनाहरु दिन्छन् भन्ने छैन। गलत सूचनाले मनलाई आतंकित बनाउँछ। सूचना लिँदा आतंकित बनाउनेभन्दा सतर्क बनाउने कुराहरुमा बढी ध्यान दिनुपर्छ।

कोरोना भाइरस हाम्रो नियन्त्रणमा छैन। तर शारिरीक दूरी, सरसफाइ, तनाव व्यवस्थापनलाई ध्यान दिन सकियो भने हामी शारिरीक र मनोवैज्ञानिक रुपमा सुरक्षित रहन सक्दछांै। यो समस्या हामीलाई मात्र हैन अरुले पनि भोगेका छन्। सकारात्मक ढंगले सोच बनाई परिस्थितिलाई सामान्यीकरण गर्नतर्फ लाग्दा व्यक्तिलाई सामान्य अवस्थामा फर्कन सहज हुन्छ।  

समुदायमा यस्तै समस्यामा रहेका व्यक्तिहरुको भावनाहरु पनि सुन्ने उनीहरुले कसरी समस्यालाई  सामना गरिरहेका छन्, जानकारी लिने गर्दा व्यक्तिलाई मनमा सजिलो महशुस हुन्छ। समस्याग्रस्त रहेको बेलामा पानी, खाना, निद्रा, आराम महत्वपूर्ण मानिन्छ तर व्यक्तिले ध्यान दिन सकिरहेको हँुदैन।  

कतिपयले तनावलाई सामना गर्न कठिन भई लागूऔषध तथा दुव्र्यसनीमा लागेको पाइन्छ। नकारात्मक सामना गर्ने शैलीले शरिर र व्यक्तिको मनलाई अझै तनाव थप्छ। चिन्ता तनावलाई कम गर्न कतिपयले लागूपदार्थको प्रयोग गर्ने गरेको पाइन्छ। लगूपदार्थले क्षणिक रुपमा मन शान्त भएपनि दीर्घकालिन रुपमा असर गर्दछ।

लागूऔषधले निरन्तरता पायो भने डर, चिन्ता लाग्ने बित्तिकै रक्सी खान मन लाग्ने हुन सक्छ। रक्सी वा लागूपदार्थमा आश्रित हुने सम्भावना बढ्छ। त्यसैले शारिरीक दूरी, सरसफाइ र मनोवैज्ञानिक पक्षलाइ ध्यान दिन सके बिस्तारै हामी यो महामारीसँग जुध्न सक्छौं।  

सकेसम्म सानासाना कार्यहरुमा व्यस्त भइरहने। इन्टरनेटमार्फत् धेरै व्यक्तिसँग घुलमिल भइरहनाले एक्लोपनाको महशुस हुँदैन। शारिरीक र मनोवैज्ञानिक असर परे पनि बिस्तारै कम हुँदै आउँछ र व्यक्ति सामान्य अव्स्थामा फर्कन सहयोग गर्छ। दीर्घकालमा व्यक्तिमा देखिन सक्ने मानसिक असरहरु न्युनीकरण गर्न राज्यमा रहेका तीन तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित: २८ वैशाख २०७८ २०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App