ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लाभग्राही समूहमा सहभागी हुन नसक्ने बाहेक पालिकाका सबै घरधुरीको फुसको छाना विस्थापन गर्ने कार्यक्रम अघि सारेको छ।
गाउँपालिकाले कार्यविधिनै बनाई फुसको छाना विस्थापन कार्यक्रम अघि सारी चैत २० गतेका मितिले १५ दिनभित्रमा सम्बन्धित वडामा आवेदन गर्न पालिकावासीलाई आवह्वान गरेको छ। पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार फुसको छाना विस्थापन कार्यक्रममा सहभागी हुन चाहने घरमुलीले सम्बन्धित वडा कार्यालयमा तोकिएको समयभित्र आवेदन गर्नुपर्ने हुन्छ।
आवेदक घरमुलीले परिवार संख्या र नामसहितको विवरण समावेश भएको हस्त लिखित निवेदन, परिवारका सदस्यहरूको नागरिकताको प्रमाणपत्र भए सोको प्रतिलिपि, घर रहेको जग्गाको धनीपुर्जाको प्रमाणित प्रतिलिपि, हाल बसोबास गरिरहेको घरको पूर्ण आकृति देखिने फोटो र लाभग्राही समूहमा सहभागी हुन नसक्ने भन्दा बाहेकको अवस्था रहेको स्वघोषणा संलग्न राख्नुपर्ने पालिकाले जनाएको छ।
मैवाखोला गाउँपालिकाको फुसको छाना विस्थापन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार लाभग्राही समूहमा सहभागी हुन नसक्ने भनी ८ वटा बुँदा सूचीकृत गरिएको छ। सूचीकृत बुँदामा परेका व्यक्तिहरूले भने फुसको छानो विस्थापन कार्यक्रममा सहभागी हुन पाउने छैनन्। जसअनुसार गाउँपालिका भित्र एकभन्दा बढी घर रहेको र कम्तीमा एक घरको फुसको छानो विस्थापन भएको, घर फुसले तथा गोठ तथा भण्डारण घर जस्तापाता वा ढुङ्गाले छाएका परिवार र जस्तापाता पाउनकै लागि वा लाभग्राही समूहमा सहभागिता जनाउन छुट्टिएको परिवारलाई फुसको छानो विस्थापन कार्यक्रमको लाभग्राही मानिने छैन।
यस्तै लाभको पद लिएका (सरकारी वा गैर सरकारी संघसंस्थामा कार्यरत) परिवार, एकभन्दा बढी घर जिल्लाभित्र वा बाहिर समेत भएका परिवार, गाउँपालिका भित्र कम्तीमा एक घर पक्की घर भएका व्यक्तिका परिवार, वडा कार्यालयबाट लाभग्राहीको रूपमा सिफारिस नभएका परिवार र अन्य पालिका वा अन्य क्षेत्रबाट आई अरूको घरमा रुँघालु बसेका परिवार समेत फुसको छानो विस्थापन कार्यक्रमको लाभग्राहीमा पर्ने छैनन्।
सम्बन्धित वडाले लाभग्राहीको सूची तयार गर्दा प्राकृतिक तथा अन्य विपद्ले घरबारविहीन भएको परिवार, गाउँपालिका भित्र अपाङ्ग घरमुली भएको व्यक्ति वा परिवार, गाउँपालिकाभित्र पहिचान भएका विपन्न तथा गरिव घर परिवार, परिवारमा संरक्षक नभएको असाहाय, जेष्ठ नागरिक, महिला तथा बालबालिका भएको परिवार,गाउँपालिका भित्र स्थायी बसोबास भएका एकल महिला भएको घर तथा परिवार, आर्थिक, सामाजिक र साँस्कृतिक पछाडि पारिएका दलित,आदिवासी जनजाति तथा अल्पसंख्यक परिवार र गाउँपालिका भित्र फुस तथा अन्य यस्तै सामग्रीले छाना निर्माण गरी बसेको परिवारलाई प्राथमिकता दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
फुसको छाना विस्थापन कार्यक्रमका लागि छनौट भएका लाभग्राहीलाई पालिकाले घरको छानो लगाउने कार्यमा कर्कटपाता (जस्तापाता) उपलब्ध गराउने छ।
प्रकाशित: २१ चैत्र २०८१ १३:२४ बिहीबार