११ कार्तिक २०७७ मंगलबार
ब्लग

के महिला संधै दबिनु पर्छ ?

यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता  

यत्रै तास्तु न पुज्यन्ते सर्वास्त फला क्रिया।।

अर्थात जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ देवताको पनि बास हुन्छ। के यो भनाइअनुसार साँच्चै ने नारीको सम्मान र कदर भएको छ त हाम्रो समाजमा ? धार्मिककालदेखि नै महिलालाई महादेवी, महालक्ष्मी, महासरस्वतीको दर्जा दिएको छ। महिलालाई जननी पनि मानिँदै आएको छ। तर आज जताततै महिलामाथि हिंसा, बलात्कार र तिरस्कारका बाढी नै आएका छन्। जुन घटनाले समाज नै दुर्गन्धित बनाइरहेको छ। शारीरिक सम्बन्ध गर्न नदिएको झोकमा कोदालोको बिँड योनीमा हालेर यातना दिने पुरुष हाम्रै समाजमा छन्। प्रेममा असफल भएपछि तेजाव हालेर महिलालाई ज्यानै लिने र नसके विरूप बनाएर छाड्ने पुरुष पनि यही समाजमा छन्। तर पनि हाम्रो समाज सधैँ पुरुषलाई नै एक नम्बरमा राख्छ र महिलालाई दिन्छ नम्बर दुई।

आज महिला ठूला ओहोदामा पुगेका छन्। सगरमाथा चढेका छन्। प्लेन उडाएर संसारलाई देखाइदिएका छन्। तर हामी पनि महिलालाई हेर्ने पुरानै दृष्टिकोणलाई मलजल गरेर बसेका छौँ। मेरी छोरी, बुहारीले यसो गरी, उसो गर? भन्दै फूर्ती लगाउँछन्। अनि साँझ पर्योा कि उही परिवार डराउन थाल्छ। किनकि हाम्रो समाज यस्तै छ। घर आउन एकैछिन ढिला हुँदा लाञ्छना लगाउनसमेत पछि पर्दैन यही समाज। वास्तवमा हाम्रो दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रमाण हुन् यी।  

उही महाभारतझैँ पूरा सभामा द्रौपदीमाथि दुव्र्यवहार हुँदा राजा, भद्रभलाद्मी, ज्ञानीहरू कसरी मौन बस्न सके ?,  किन विरोध हन सकेन ? त्यतिबेलाको  समाजले किन यसविरुद्ध आवाज उठाउन सकेन ? जुवाका नाममा महिलालाई खुला बजारमा बेच्न पाइन्छ ? राजसभा जस्तो ठाउँमा भएको यस्तो घटना रोक्न त्यतिबेला सबै जागेका भए आजसम्म यो समाज धेरै अघि बढिसक्थ्यो। रामायणमा रावणले सीता हरण गरेर लगे तर उनलाई छुन पनि सकेनन् तर अग्निपरीक्षा दिनुपर्यो। सीताले। किन ? आखिर रामले पनि त वनबास गएका बेला कुनै आइमाइप्रति आँखा गाडेका थिए कि ? उनले चाहिँ अग्निपरीक्षा दिनुपर्दैनथ्यो ? त्यसैले त महिलामाथि हेरिने दृष्टिकोण उतिबेलैदेखि पक्षपाती थियो भन्न कन्जुस्याइँ गर्नुपर्दैन।  

जुनै समयकालमा पनि नारीलाई खेलौनाका रूपमा मात्र हेरियो। बासनाका लागि प्रयोग गरियो। पढे/लेखेका शिक्षित भनाउँदा घरमा पनि महिलालाई वस्तु भन्दा माथि व्यवहार गरिएन। मानसिक लाञ्छना मात्र हैन, शारीरिक हिंसाले समेत उत्तिकै जरो गाडेको छ सबैतिर। खासमा समाज परिवर्तन भयो तर हामी परिवर्तन हुन कहिल्यै सकेनौँ। आफूभित्रको अहंकार बदलिएन किनकि समाजले महिलालाई हेर्ने चस्मा कहिल्यै फेरिएन। छोरीहरू शिक्षित त बनाइए तर विवाह गर्दा दाइजोमा बेचिए। मोलमोलाइ अझै जारी छ यही समाजमा। आखिर कसले बढावा दिइरहेको छ यस्ता कुप्रथालाई ? अब सोच्न र उपचार खोज्न ढिला भइसकेको छ।  के पुरानो इतिहास हेरेर महिलाले यातना भोग्न बाध्य हुनुपरेको हो ? आफ्ना सपना र लक्ष्य महिलाका पनि छन्। तिनैलाई पूरा गर्न धैरै संघर्ष गरिरहेका छन् महिला तर पनि हेर्ने दृष्टि उही पुरानै किन ?  

केही ठूला कहलिएका विद्वान्ले नै भनेका छन् कि हाँस्ने स्त्रीहरू वेश्या हुन। के महिलाले हाँस्न पनि नपाउने ? कहाँको न्याय हो यो ? लाग्छ, महिलालाई समाजले नै परिबन्दमा पार्दै गयो जुनै समयमा पनि। आखिर किन नारीलाई नै केन्द्रमा राखिन्छ हेलाको ? सृष्टि सिर्जनाका लागि महिला/पुरुष दुवैको भूमिका हुन्छ आवश्यकता अनुसार। तर समाज किन महिलामाथि मात्र क्रूरता प्रदर्शन गर्छ, सधैँ सधैँ ?

नारी दिवस मनाउँछौँ। महिला सशक्तीकरणको कुरा गर्छौँ तर पनि दाइजो प्रथा, भ्रुण हत्या, महिला बेचबिखन, तिरस्कार अनि घरेलु हिंसा किन बढ्दो छ ? आफ्नै काका, भतिजा, ससुरा, बाबु, पे्रमीबाटै किन बलात्कृत हुन्छन् महिला, पटक पटक ? अनि उल्टै पीडकलाई भन्दा पीडितलाई नै खुइल्याउने काम किन हुन्छ निरन्तर ? समस्याको समाधान यस्तै प्रश्नको उत्तरमा लुकेको छ।  

समयअनुसार समाज अवश्य परिवर्तन भएको छ। आधुनिकताका नाममा धेरै कुरा अंगालेका पनि छौँ। तर पनि महिलालाई हेर्ने दृष्टिकोणमा रुढिवादिताकै साम्राज्य किन ? महिलाका हरेक काममा दाग लगाउने, प्रत्येक पाइलामा लाञ्छना लगाउने र हरेक गतिविधिमा प्रश्न उठाउने अधिकार कसले दियो यिनलाई ? महिलाको भावनामा ठेस लगाउने र उनीहरूलाई कमजोर बनाउने आँट कहाँबाट पाए यिनले ? त्यसैले अब यस्ता क्रियाकलापविरुद्ध महिला स्वयं जाग्नुपर्छ। सहने पनि हद हुन्छ जुन हद अब नाघिसक्यो। यो प्रण किन पनि आवश्यक छ भने यसलाई जति छाड्यो उति उति झांगिन्छ। अहिले भइरहेका घटना त्यसैको संकेत हो।

 

 

प्रकाशित: २५ आश्विन २०७७ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App