नेपालका बक्सर चन्द्रबहादुर थापाले जारी आइबा मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक पक्का गरेसँगै ७५ हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) मा भएको च्याम्पियनसिपमा चन्द्रबहादुरले बुधबार पुरुष ५४ केजी तौलसमूहमा सेमिफाइनलमा स्थान बनाएका हुन्।
चन्द्रबहादुरले क्वार्टरफाइनलमा इरानका बक्सर काजेमी मेहदीलाई युनानिमस डिसिजन (रेफ्रीको एकमत निर्णय) का आधार हराएका थिए।
यससँगै उनले ७५ हजार अमेरिकी डलर अर्थात् एक करोड सात लाख २५ हजार रुपैयाँ बराबरको पुरस्कार पाउने भएका छन्।
इन्टरनेसनल बक्सिङ एसोसिएसन (आइबा) को आयोजना भएको च्याम्पियनसिपमा शीर्ष तीन स्थान प्राप्त गर्ने बक्सरले क्रमशः तीन लाख, एक लाख ५० हजार र ७५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउने प्रावधान छ।
बुधबार चन्द्रबहादुर सेमिफाइनलमा स्थान बनाएसँगै कम्तीमा कांस्य पदक पक्का गरेपछि ठूलो रकम पुरस्कार पाउने भएका हुन्। रोल्पाका चन्द्रबहादुर घरेलु प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्ने गर्छन्।
उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्र थापामगरका आफ्नै भाई हुन्। रामचन्द्रले ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता नै यो सफलता पाएका हुन्।
अब रामचन्द्रले सेमिफाइनलमा सन् २०२१ को विश्व च्याम्पियन तथा टोकियो ओलम्पिकका कांस्य विजेता कजाखस्तानका बक्सर साकेन बिबोसिनोभसँग खेल्नेछन्।
नेपाली टोलीका आइबा थ्री स्टार प्रशिक्षक दीपक महर्जनले चन्द्रसँग जुनसुकै खेलाडीविरुद्ध भिडेर खेल्ने बलियो आत्मविश्वास रहेको र त्यसले नै सफलता मिलेको बताएका छन्।
‘उनीसँग जस्तोसुकै खेलाडीसँग भिडेर खेल्ने बलियो आत्मविश्वास छ। उनी एकदम मिहनेती र अनुशासित छ। उनको इन्डुरेन्स पनि एकदम रामो छ,’ प्रशिक्षक महर्जनले भने ’आशा छ। उनले सेमिफाइनलमा पनि जित निकाल्नेछन्।’
उनले यसअघि आर्मेनियाका डेभित यगोरियन्सलाई ४–० को स्पिलिट डिसिजनका आधारमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका थिए। आर्मेनियाका डेभित यस च्याम्पियनसिपको विश्व नम्बर ६ बक्सर पनि हुन्।
चन्द्रले पहिलो खेलमा इन्डोनेसियाका मासिहोर योसुए होलीलाई ५–० ले हराएका थिए। नेपालको बक्सिङ इतिहासमा मंगलबार पहिलोपल्ट दुई खेलाडी विश्व च्याम्पियनसिपको क्वार्टरफाइनलमा पुगेका थिए।
रोकियो लालप्रसादको यात्रा
अर्का खेलाडी लालप्रसाद उप्रेतीको यात्रा भने क्वार्टरफाइनलमा नै रोकिएको छ। ४८ केजी तौलसमूहमा लालप्रसाद बुधबार जुसुपोभ तेमिर्टासविरुद्ध पराजित हुन पुगे।
लालप्रसादले उत्कृष्ट प्रदर्शन गरे पनि यस च्याम्पियनसिपमा विश्व नम्बर चार स्थान प्राप्त गरेका तेमिर्टाससँग पराजित हुन पुगे।
हारका बाबजुद लालप्रसादले १० हजार अमेरिकी डलर प्राप्त गर्ने नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्याम अवालेले जानकारी दिए।
उपाध्यक्ष अवालले यो सफलताले पनि नेपाली बक्सिङको स्तर बढेको देखिएको र नेपालको बक्सिङ विकासमा काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। आइबा थ्री स्टार बक्सिङ प्रशिक्षक दीपक महर्जनको प्रशिक्षणमा रहेको नेपालबाट पाँच बक्सरले यस च्याम्पियनसिप प्रतिस्पर्धा गरेका थिए।
तीमध्ये दुई बक्सरले उत्कृष्ट प्रदर्शन गरेका हुन्। यसअघि लालप्रसादले अन्तिम १६ मा माल्दोभाका बक्सर पोरोमबाक मिहाइलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।
राउन्ड अफ ३२ मा भने उनले इथियोपियाका अलेमु अबेललाई हराएका हुन्। यो च्याम्पियनसिप अहिलेसम्मको सर्वाधिक पुरस्कार राशिको प्रतिस्पर्धा हो।
प्रकाशित: २५ मंसिर २०८२ ००:१४ बिहीबार





