२९ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

बेलायतको वेम्बलीमा इतिहास दोहोर्‍याउँदै नेपथ्य

सन् २०१३ मा वेम्बलीमा आफ्नो प्रदर्शन दिँदै नेपथ्य ब्यान्ड । तस्बिर: नेपथ्य

नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ ।  

साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुने भएको छ । नेपथ्यले पछिल्लो समय सन् २०१३ अगस्ट ३ तारिखमा वेम्बलीमा प्रस्तुती दिएको थियो । ‘वेम्बलीको प्रभाव यस्तरी विस्तार भइदियो कि त्यसपछि हामीलाई विश्वका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड उभिएका मञ्चहरू पाउन थप सहज हुन थाल्यो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले भने ।  

१२ वर्षअघि वेम्बलीको अनुभव सम्झँदा ब्यान्डका मुख्य गायक अमृत गुरुङ अहिले पनि भावुक हुन्छन् । ‘हामीलाई पहिले पनि श्रोतादर्शकले उत्तिकै माया गर्दै आउनुभएको हो,’ उनी भन्छन्, ‘तर वेम्बलीको प्रस्तुतिपछि हामीले अर्कै उचाइ महसुस गर्दै आएका छौँ ।’

त्यति बेलाको माहोल अमृतको आँखामा झलझली छ । उनी थप्छन्, ‘त्यो क्षण मेरो जीवनकै एउटा चुनौतीजस्तो बनेर सामुन्ने उभिएको थियो र हिम्मत जुट्नासाथ आफूलाई पूर्ण रूपले दर्शकमा समाहित गरिदिएको थिएँ ।’  

नेपथ्यको यस पटकको वेम्बली यात्रालाई बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले संयोजन गर्दैछन् ।  

बेलायतको यात्रामा नेपालबाट ब्यान्डका छ सदस्य र आठ प्राविधिक एवं व्यवस्थापक गरेर १४ सदस्यीय समूह हुनेछ । मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।  

यति बेला बेलायतभर एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको अनुमानित तथ्याङ्क छ । तिनै नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले यस यात्रालाई उच्च प्राथमिकतामा राखेको छ ।  

पछिल्ला तीन महिनाभित्र नेपथ्यले अस्ट्रेलिया र अमेरिकाको शृङ्खलाबद्ध यात्रा गरिसकेको छ । ‘नेपथ्यको आगामी कन्सर्टले बेलायतमा नेपाली सङ्गीतको अर्को इतिहास रचना गर्दै छ,’ स्थानीय आयोजक टोलीका दीपेन्द्र लामा भन्छन्, ‘सात हजार टिकट अहिले नै बिक्री भइसकेको छ भने ठूलो सङ्ख्यामा दर्शकको इनक्वाइरीको ओइरो लाग्न थालेको छ ।’

 

प्रकाशित: २९ असार २०८२ १८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App