१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘म नेकपा (एमाले) को उम्मेद्वार हुँ’: डा. भेषराज थापा

नेकपा (एमाले) को जारी महाधिवेशनमा लामो राजनीतिक विरासत बोकेका नेता/कार्यकर्ताहरुले विभिन्न पदमा आ–आफ्नो उम्मेदवारी दिएकै छन् । तर, त्यसैमध्ये यस्ता व्यक्तिहरुले पनि उम्मेदवारी दिएका छन्, जो लामो समयदेखि आफ्नो विषयमा विज्ञ कहलिएका छन् । जापानको ‘युनिभर्सिटी अफ यामानाशी’ बाट जलस्रोत इन्जिनियरिङमा विद्यावारिधी गरेका ईन्जिनियर डा. भेषराज थापा तिनै मध्येको एउटा नाम हो ।  

उमेरले ४० वरपरका थापा झण्डै डेढ दशकदेखि प्राध्यापनमा सम्लग्न छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पससहित मुलुकका विभिन्न सरकारी र नीजि कलेजहरुमा प्राध्यापन गर्दै आइरहेका छन् । नेकपा (एमाले) को प्रोग्रेसिभ इन्जिनियर्स एसोसियसन नेपाल (पीन) का अध्यक्ष रहेका एमालेको एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार छन् । उनै थापासँग महाधिवेशन स्थलमा गरिएको कुराकानी ।

तपाईंको उम्मेदवारी किन ?

अहिले समाजमा ठूलो बहस छ । राजनीति र नेतृत्व दल भित्रबाट कि बाहिरबाट ? कुन पुस्ताबाट ? कुन क्षेत्रबाट र कुन वर्गीय धरातलबाट ? यो बहसमा हाम्रो पार्टी नेकपा (एमाले)ले झनै ठूलो प्रश्नको सामना गरिरहेको छ । र, यति नै बेला अहिले हाम्रो एघारौँ महाधिवेशन काठमाडौं उपत्यकाको भक्तपुरमा जारी छ । महाधिवेशन भव्यतापूर्वक अघि बढीरहेको तपाईंले नै देख्नु भएको छ ।  

यस्तो परिस्थितिबिच दलहरुको सान्दर्भीकतालाई थप बलियो बनाउन र राजनीतिक दल बिना देशको संगठित विकास सम्भव छैन तथा लोकतन्त्रमा दलको विकल्प दल नै हुन् भन्नका लागि सबै राजनीतिक दलहरुले आफैलाई पुनःर्सरचना गर्नुपर्ने समय हो यो । यसको सबै भन्दा बलियो जबाफ त्यतिबेला हुन्छ, जब एमालेको अब बन्ने केन्द्रीय समितिमा समाजले चाहे जस्तो र नयाँ बहसले डो¥याउन खोजे जस्तो पात्र, प्रवृत्ति र विचार–चिन्तन बोकेको मानिस नेतृत्वमा आई पुग्छ ।  

अझ एमालेको हकमा त म के पनि दावि गर्छु भने पार्टीले पछिल्लो सरकारको नेतृत्व गर्दैगर्दा पनि यो देशको विकास र पुर्वाधार निर्माणमा एमालेले धेरै नै ठूलो उदाहरण प्रस्तुत गरेको छ । तपाईंले अन्तर्राष्ट्रिय विमानस्थलदेखि सुरुङ मार्गको कुरा गर्नुस वा फराकिला राजमार्गदेखि देशैभर एकै पटक उद्दघाटन गरिएका १५ सय अस्पतालहरुको कुरा गर्नुस ती सबै एमालेको नेतृत्वमा भएको हो । तथा ती सबै यो देशका इन्जिनियरहरुले नै बनाएका हुन् । त्यसैले यो केन्द्रीय समितिमा त्यो समुदायको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर मैले उम्मेदवारी दिएको हुँ ।

भन्नुको अर्थ तपाईंले पेशागत समूहका तर्फबाट उम्मेदवारी दिनु भएको ?  

मैले पेशागत समुहबाट उम्मेदवारी दिएँ कि भन्ने तपाईको जुन प्रश्न छ, शायद मैले भन्न खोजेको विषय तपाईंलाई त्यति राम्रो गरि सम्प्रेषित गर्न सकिन होला । जून व्यक्ति विगत तीन दशकदेखि यो पार्टीको विद्यार्थी संगठन हुँदै यहाँसम्म आई पुगेको छ, उसको पनि यो पार्टीमा त्यति नै हिस्सेदारी छ । पार्टीले गरेका सहि–गलत सबै निर्णयमा मेरो पनि हिस्सेदारी छ । योगदान छ । नेकपा (एमाले), जसले आम नेपाली जनताको आकांक्षाको ठूलो हिस्सा ओगट्छ, त्यसलाई थप जनमुखी बनाउने काम हाम्रो पनि हो ।  

त्यसैले केन्द्रीय समितिमा उम्मेदवारी दिनका लागि मैले कुनै पेशागत समुहको साहारा लिएर वा ४० वरपरको नयाँ अनुहार भन्दै हक मागिरहेको छैन । मैले यो देश र पार्टी निर्माणमा हाम्रो पनि योगदान हुनु पर्ने महशुस गरेर उम्मेदवारी दिएको हुँ । एउटा उदाहरण नै हेरौँ न, काठमाडौंको टिचिङ अस्पतालमा दशकौँदेखि काम गरिरहेका पार्टी निकट कुनै कर्मचारी वा स्वास्थ्यकर्मीले देशभरका एमाले कार्यकर्ताले आफ्नो समाजमा भएका स्वास्थ्यसँग सम्बन्धीत समस्याहरु लिएर आउँदा, गुनासो सुन्दा–सुन्दै उनीहरुको कान थाकी सकेको हुन्छ । पार्टीको दायित्व बहन गर्दागर्दै उनीहरुको काँध गली सकेको हुन्छ तर पनि उनिहरु पार्टीको कुनै पनि पदमा दावि गरिरहेका हुँदैनन् ।  

यो कुरा वकिल, पत्रकार शिक्षक, युवा, विद्यार्थी, कर्मचारीको हकमा पनि लागू हुन्छ । इन्जिनियरिङ क्षेत्रका व्यक्तिको पनि कुरा यही हो । के ती पेशागत क्षेत्रका विज्ञहरुको पार्टी निर्माण योगदान हुनुपर्दैन ? पार्टीले तर्जुमा गर्नुपर्ने नीतिमा त्यस्ता विज्ञहरु चाहिँदैन ? म के बुझ्छु भने नेकपा (एमाले) ले समयको पदचाप बुझ्छ र त्यसै अनुरुपको पार्टी निर्माणमा भूमिका खेल्छ । समाजको मागलाई एमालेले सम्बोधन गर्छ भन्नेमा म ढुक्क छु ।  

जेनजी आन्दोलनले नेकपा (एमाले) लाई धेरै नै क्षति पुर्‍याएको राजनीतिक वृत्तमा आँकलन गरिँदैछ । यस्तोमा तपाईं एमालेको केन्द्रीय सदस्य हुने चाहना राख्दै गर्दा अप्ठेरो लागेन ?

देशमा ठूलै उथल पुथल भयो भन्ने हामी सबैले देख्यौँ । त्यति मात्रै होइन, यो देशको संविधानलाई कुल्चिएको पनि हामीले देख्यौँ । संसदको बहुमतबाट चुनिएको सरकारलाई अपदस्त गरेको पनि देख्यौँ हामीले । निरंकुशतालाई घुँढा टेकाएर, हामीले नै लडेर ल्याएको लोकतन्त्र निसास्सिएको पनि हामीले देख्यौँ । त्यति मात्रै होइन, अहिलेको सरकार जुन विधि, प्रक्रिया र संविधान भन्दा बाहिरबाट बनेको छ, त्यसले नेपाली राजनीतिलाई कम्ता प्रहसनको विषय बनाएको छैन ।

म नेकपा एमालेको सामान्य कार्यकर्ताका हिसाबले तथा यस पार्टीमा मैले गरेको सामान्य भन्दा सामान्य योगदानका आधारमा यो पार्टीलाई थप बलियो बनाउन तथा देशका विद्यमान समस्यालाई हल गर्न, आमागी चुनौतीहरुको सामना गर्दै देशलाई सहि ट्रयाकमा लैजान राजनीतिक दलहरुले नै सहि ढंगले काम गर्नुपर्छ भन्ने मत राख्छु । त्यसका लागि पार्टीको संरचना र नेतृत्व सहि हुनुपर्छ भन्ने मत राख्छु । नेकपा (एमाले) आज त्यही मोडमा उभिएको छ । मलाई के विश्वास छ भने एमालेको यो एघारौँ महाधिवेशनबाट देश र समाजले अपेक्षा गरे अनुरुपको युवा र सक्षम नेतृत्व चुनिएर आउने छ । आगामी सयमको चुनौतिलाई सार्थकतातर्फ लैजान यो महाधिवेशन सफल हुनेछ भन्नेमा ढुक्क छु । त्यसैले मलाई एमालेको कार्यकर्ताका रुपमा उम्मेदवारी दिँदैगर्दा आत्मग्लानी होइन कि गौरवबोध छ ।  

अन्त्यमा तपाईंले कुन समूहबाट उम्मेदवारी दिनु भएको छ।

चुनावनिर्मम हुन्छ । नेतृत्वनिर्माण जटिल प्रक्रियाहो । नेतृत्वले पार्टीको मात्रै होइनकि देशकै दिशा तय गर्ने सामथ्र्य राख्छ । त्यसैले त्यस्तो नेतृत्वसुझबुझभएको, लामो समय सांगठनिक क्षेत्रमाकाम गरेको तथाआफ्नो विषयको विज्ञ चाहिन्छ । एमालेको महाधिवेशनमाजतिपनिउम्मेदवार हुनुहुन्छ उहाँहरु सबै सक्षम र लामो समय देश र जनताको पक्षमालामो समय काम गरेको व्यक्तित्व नै हुनुहुन्छ ।  

देश संकटमा उभिएको बेला देशको पक्षमा, पार्टीको पक्षमाअहोरात्रपहरेदार भएर उभिएकामहाधिवेशनकाप्रतिनिधिअग्रज, साथी, मित्र र सहयोद्धाहरुलाई थाहा छ म नेकपा (एमाले) समूहबाट उम्मेदवार हुँ र त्यो भन्दा ठूलो समूह यो पार्टीमाकुनै पनि छैन । यसका साथै मसँग एउटा थपविशेषताजोडिएको छ, मेरो पृष्ठभूमि इन्जिनियरिङ भएकाले यो देशका सबै इन्जिनियरहरुको पनिप्रतिनिधित्व मैले गरिरहेको छु ।  

बाँकी यो देश निर्माणमा, पार्टी निर्माणमा अहोरात्र खटेकाएमालेका दुरदर्शी नेता/कार्यकर्ताहरुले आफै बुझ्नु हुन्छ कसलाई भोट गर्दा ठिक हुन्छ ।

प्रकाशित: २९ मंसिर २०८२ २१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App