१३ पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

गहिरो चिन्तनका निबन्ध ‘जराकाे शक्ति’

पुस्तक

आत्मपरक निबन्ध लेखन र प्रकाशन अन्य विधाका तुलनामा कम देखिन्छ। यो अभिलेख लामो समयदेखि चलिरहेको छ। किन यस्तो भइरहेको छ त? निबन्ध आफैंमा गम्भीर र बौद्धिक लेखन भएकोले पो हो कि? निबन्ध परिकल्पनाले मात्र लेख्न सकिँदैन। लेखकको ज्ञान, अनुभव, अध्ययन र अनुभूतिविनाको निबन्ध अलिनो हुन्छ। निबन्धको गूढ मर्मरहित हुन्छ। अनि शैलीमा लेखकको आफ्नाेपन भएन भने न निबन्ध लेखेर परिचित हुन सकिन्छ न स्थापित नै। यस्तै जोखिमका कारण निबन्ध लेख्नेहरूको सङ्ख्या नबढेको पो हो कि? कारण अरू पनि हुन सक्लान्। निबन्ध अन्तर्गतका नियात्रा, संस्मरण जस्ता लेखन निरन्तर रूपमा बढिरहेको भए पनि आत्मपरक निबन्ध लेखन र प्रकाशनको सङ्ख्या भने खासै बढ्न सकेको देखिँदैन। यति भएर पनि निबन्धलाई धनी र बौद्धिक लेखन मानिन्छ। यसले साहित्यमा सङ्ख्याको मात्र अर्थ हुँदैन भन्ने तथ्य पुष्टि गरेको छ।

नेपाली साहित्यमा आत्मपरक निबन्धलाई धनी र बौद्धिक बनाउने अभियानमा झण्डै तीन दशकदेखि निरन्तर लागिरहने निबन्धकार हुन् पुण्य कार्की। अहिले फेरि उनको नयाँ निबन्धसङ्ग्रह ‘जराकाे शक्ति’ प्रकाशित भएको छ। यो उनको छैटौं आत्मपरक निबन्धसङ्ग्रह हो। यसअघि उनका कविको छैटौँ इन्द्रिय (२०६०), एउटा हर्कुलसको खोजी (२०६३), रातको सुन्दरता (२०६९), जाग्रत आँखाहरू (२०७३), बङ्लङ (२०७६) निबन्धसङ्ग्रह प्रकाशित छन्।

कार्की नेपाली निबन्धमा स्थापित भए पनि उनका अन्य विधाका कृतिको प्रकाशन २०५४ सालदेखि हुँदै आएका छन्। आख्यान, काव्य, बालसाहित्य, जीवनीका एक दर्जन कृति प्रकाशित छन्। ‘अन्न र आजादी’ शीर्षकीय निबन्ध हो। यस निबन्धले श्रमजीवीहरूको पक्षमा वकालत गरेको छ। मेहनत गर्नेहरू निरन्तर गरिरहेका छन् भने ठालुहरू सत्ताको आसनबाट उनीहरूको शोषण गरिरहेको यथार्थ प्रस्तुत गरिएको छ।

देशमा पटकपटक व्यवस्था परिवर्तन भए पनि जनताका अपेक्षा पूरा हुन नसकेको तर नेतृत्व गर्नेहरू भने निरन्तर परिवर्तन भइरहेको जनबोलीलाई निबन्धमा कलात्मक रूपले प्रस्तुत गरिएको छ। बच्चाभित्र सीमाहीन सम्भावना हुन्छन्। हामी भने उनीहरूलाई हाम्रै विचारको दास बनाइरहेका छौं। हामीले बच्चाहरूलाई विचारको भरिया बनाइरहेको तथ्य ‘बच्चाका आँखा’ निबन्धमा छ। ‘चिउराको रुख’ निबन्धले विद्यालयमा व्यावहारिक शिक्षा हुन नसकेकाले युवाहरू घरव्यवहारमा अनभिज्ञ बनिरहेको सत्य निबन्धले उजागर गरेको छ।

आध्यात्मिकका साथै अन्य क्षेत्रमा सन्देश प्रवाह गर्नेहरू गन्तीमा जतिसुकै भए पनि गन्तव्यमा पुग्न सक्ने मान्छे भने नगन्य मात्र हुने गरेको निबन्ध ‘बीउ हुनेको कथा’ मा छ। शिक्षा भनेको प्रमाणपत्र मात्र नभएर शीप र क्षमता पनि हो। त्यसैले ज्ञान, सीप, व्यवहार, अनुभूतिलाई आत्मसात् गर्न सक्नु नै निबन्धमा वास्तविक शिक्षा मानिएको छ। जीवनका यति धेरै आयाम सिक्न एक जुनी पर्याप्त नहुने निबन्ध ‘गुरुत्व शक्ति’ उदाहरणसहित प्रस्तुत गरिएको छ।

यस सङ्ग्रहका निबन्धहरूले समयको शक्ति जत्तिको बलवान् अरू केही नहुने प्रष्ट पारेको छ। यही यथार्थ नबुझ्नेहरू आज अग्लिएर आकाश छुन खोज्छन् र भोलि भुइँमा पछारिहेका छन्। यसलाई देख्ने साक्षी हामी नै बनिरहेका छौं।

समय भनेको सधैं परिवर्तन भइरहन्छ भन्ने सन्देशमूलक निबन्धहरू सङ्ग्रहमा रहेका छन्। निबन्धहरूले उज्यालोको उपासना गरेका छन्। प्रकृतिको सम्मान गरेको छ। देशमा नेतृत्वको असक्षमता र जनताको नैराश्य पनि छ।

मान्छेलाई चरित्र र मानवीयताबाट पतन गराउने प्रवृत्ति, लोभले लाभ र लाभले विलाप गराउने कुरा, धर्म र आस्थामा ठगी गर्ने कुरा, अन्ध श्रद्धा र अँध्यारो यात्राका कुरा, मनोरोगीलाई पात्र बनाएर दर्शक बनिरहेका कुरा निबन्धहरूमा मार्मिक रूपमा प्रस्तुत भएका छन्।

निबन्धले आफ्नोपनमा हुने गर्वानुभूतिलाई महत्त्व दिएको छ। राष्ट्रप्रेमको झण्डा फर्फराइरहेको छ। जीवितको अपमान गरेर दिवङ्गतको सम्मान गर्ने बेथितिको विरोध गरेको छ। फौजी कीराले बाली सखाप पारेको सबैले देखिन्छ तर भ्रष्टाचारको मानवकीराले नदेखिने गरी देश सखाप पारेको सन्दर्भ निबन्धमा जोडले उठेको छ।

यसरी निबन्धहरूमा सजिलोसँग गहिरा विषय र सन्दर्भ निबन्धकारले उठाएका छन्। पहिले गाउँमा हुने आत्मनिर्भरता र स्वाभिमान अहिले सबै भत्किएको छ। यही कारण अहिले कृत्रिमताले बढी महत्त्व पाउने गरेको छ। बाहिरी पहिरन नै मूल्याङ्कनको आधार बन्दै गएकाले नै योग्यता र क्षमतालाई पहिरनले ओझेल पार्ने गरिएको छ। पुर्खा र परम्पराको नाममा समाज अगाडि बढिरहेकाले समयसापेक्ष भए नभएको सोच्न नसकिरहेका सन्दर्भलाई पनि निबन्धकारले गम्भीर रूपमा उठाएका छन्।

निबन्धकारले आफ्नो विद्यार्थी जीवनको अभाव र बाध्यताका सन्दर्भ पनि मार्मिक रूपले प्रस्तुत गरेका छन्। केही निबन्धले जीवनलाई सार्थक किसिमले चिन्ने विषय गहिरोसँग उठाएको छ।

जीवनमा आफूले आफूलाई चिन्न नसक्ने तथा समस्यासँग जुध्न नसक्ने कायरहरूले गरिने आत्महत्याको विषय पनि निबन्धको छ। जन्म र मृत्यु जीवनको निरन्तर प्रक्रिया भएको, जीवनमा सङ्कट नपर्ने कोही पनि नहुने, धैर्य गर्न सक्नुपर्ने तथा मृत्युको चिन्तन तथा ध्यानले आफूलाई चिनाउन सक्ने जस्ता विषयका निबन्ध पनि चोटिला छन्।

यसरी सङ्ग्रहका निबन्धहरू विषय र सन्दर्भले विविध छन्। निबन्धमा विचारको प्राधान्य छ। न्याय र समानताको आवाज छ। भ्रष्ट र बेइमानको विरोध छ। राष्ट्रियताको जोड छ। विषयको गहिरो चिन्तन छ। अनुभूतिको तीव्र आवेग छ। प्रस्तुतिमा आफ्नोपन छ। यही कारण निबन्ध पढ्दा पाठकलाई पृष्ठ पल्टाइरहने जाँगर चल्छ।

कतिपय निबन्ध कथानक भएकाले कथा पढिरहे जस्तो पनि लाग्छ। प्रत्येक निबन्धमा प्रत्यक्ष अप्रत्यक्षमा सन्देश र उत्प्रेरणाका सन्दर्भहरू छन्। कतै इतिहासका, कतै विज्ञानका, कतै अध्यात्मका, कतै परम्पराका, कतै समाजका र कतै दर्शनका विषयलाई निबन्धकारले आफ्नो अनुभव र विचारले जोडेका छन्।

यही कारण निबन्धका विषय सामान्य जस्तो लागे पनि त्यसको अन्तरगर्भसँग पुगेर पत्रपत्रमा केलाइएको छ। त्यसैले यस निबन्धसङ्ग्रहका निबन्धका विषयगत सोच र शैलीमा पनि निबन्धकार पुण्य कार्कीको आफ्नोपन छ। यो नै निबन्ध र निबन्धकारको विशेषता हो। निबन्धसङ्ग्रहले नेपाली आत्मपरक निबन्ध लेखनलाई अझ व्यापक बनाउने कार्यमा सार्थक भूमिका निर्वाह गर्न सक्ने देखिन्छ। निबन्धकार पुण्य कार्कीको यस निबन्धसङ्ग्रहको सार्थक सफलताको लागि शुभकामना व्यक्त गर्दछु!

प्रकाशित: २४ श्रावण २०८२ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App