१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

शहरीया रंगीन भित्ताहरू

कविता

सोनाम सज्जन किराती

 

बेतुक लाग्छन्  

शहरीया रंगीन भित्ताहरू

रंग्याउन बाँकी छ मन

जहाँ महँगो

बासमती चामलको भुजालाई  

भात भनिन्छ  

जहाँ औकातको प्रत्येक चिम्टी

नछुटाएरै

हिसाबकिताब हुन्छ  

मर्न नपरेकाहरूको लास  

ठेगानमा राख्न नसक्दा  

उनीहरू हेपिन्छन्

यसर्थ  

बेतुकका लाग्छन्  

शहरिय रंगीन भित्ताहरू

रंग्याउन बाँकी छ मन

प्रत्येक जाडोमा हिटरको  

न्यानो तापेर बाँचेकाहरू

प्रत्येक तापक्रमभित्र  

एसीमा गुम्स्याइएका ज्यानहरू

हाजिर छन्  

बुढी बाख्रो समेत नछाड्ने  

बोको जसरी  

देशलाई बलात्कार गर्ने

तिनका असली धोको

तसर्थ  

बेतुक लाग्छन्  

शहरीय रंगीन भित्ताहरू

रंग्याउन बाँकी छ मन

क्रमशः लागिरहेछ  

जोजो देशको बागडोर लिएर  

अघिअघि छन्

समृद्धिको ठेकेदार हुँ भनेर  

मुनाफामा रमाउँछन्

यस्तै हो मेरो देशको रोग

यही अवस्था देखेर  

बेतुक लाग्छन्  

शहरीय रंगीन भित्ताहरू

रंग्याउन बाँकी छ मन

मन पारदर्शितामा खुल्छ

मन स्वावलम्बनमा रम्छ  

मन हाँसो पीडा रोजेर बाँच्छ  

हो त्यो दर्दको फुलाइहरू  

अटाएको मन  

दुनियाँले पोत्नु पर्दैन  

असली रङ दुखबाट जन्मन्छ  

म मेरो मन यहीं रङको सहारामा

रंगीन बनाउँछु

तसर्थ  

बेतुक लाग्छन्  

शहरीया रंगीन भित्ताहरू

रंग्याऊ अब सम्पूर्ण मन

आँसुमा घोलित रङहरू किनेर।

प्रकाशित: ३० वैशाख २०७८ ००:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App