कुरा २०८२ पुस २० गतेको हो। सोही दिन दिल्ली र आदिस अबाबा हुँदै लाइबेरिया जाने मेरो यात्रा तय भएको थियो। मेरो ढाड निकै दुखिरहेको थियो। त्यसैले एकछिन त यात्रा स्थगित गरूँ कि भन्ने सोच पनि आयो तर लाइबेरियामा सञ्चालन गर्नुपर्ने कार्यक्रमहरू धेरै अघिदेखि नै तय भइसकेकाले यात्रा रद्द नगर्ने निष्कर्षमा पुगेँ। त्यसैले दिउँसो करिब दुई बजेतिर म र मेरी श्रीमती अनु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लाग्यौं।
मेरो ट्राभल एजेन्टले यदि सामान दिल्लीसम्म मात्र चेक–इन भयो भने दिल्ली विमानस्थलमा फेरि अध्यागमन प्रक्रिया पूरा गर्नुपर्ने हुन सक्छ भनेर जानकारी दिएका थिए। यही सोचले बाटोभरि म अलि असहज र चिन्तित महसुस गरिरहेको थिएँ।
हामी छिटै विमानस्थल पुग्यौं। अनुबाट बिदा लिएर म विमानस्थलभित्र पसेँ र उनी घर फर्किइन्। भित्र पस्नेबित्तिकै एकजना सज्जनले अगाडि आएर उदारतापूर्वक मेरो लगेज एक्स–रे मेसिनमा राख्न सहयोग गरिदिनुभयो। सानो सहयोगजस्तो देखिए पनि त्यसले मेरो मन तुरुन्तै हलुका बनाइदियो।
त्यसपछि म सुरक्षा जाँचतर्फ लागेँ। प्रहरी अधिकारीले निकै शिष्ट र छरितो ढंगले जाँच गर्नुभयो। जाँच सकेपछि उहाँले ‘धन्यवाद सर, सुरक्षित यात्रा होस्’ भन्नुभयो।
म साँच्चिकै अचम्ममा परेँ। पचासभन्दा बढी पटक विदेश यात्रा गरेको भए पनि विमानस्थल सुरक्षाकर्मीबाट यस्तो आत्मीय र सम्मानजनक व्यवहार मैले पहिले कहिल्यै पाएको थिइनँ।
त्यसपछि म इन्डियन एयरलाइन्सको काउन्टरतर्फ गएँ। लाइन लामो थिएन, पालो छिटै आयो। काउन्टरमा रहेका कर्मचारीले मेरो गन्तव्य सोधे। मैले ‘लाइबेरिया’ भनेँ। उनले अलि अलमलिँदै ‘त्यस्तो नामको देश पनि छ र?’ भनेर साधे।
मैले मुस्कुराउँदै ‘लाइबेरिया पश्चिम अफ्रिकामा रहेको देश हो’ भनेँ।
उनले मेरो टिकटको फोटो खिचे। त्यसपछि मैले ढाड दुखिरहेको कुरा बताउँदै सामान सिधै लाइबेरियासम्म चेक–इन गरिदिन र सम्भव भए सहज सिट मिलाइदिन अनुरोध गरेँ। उनले तीनवटा बोर्डिङ पास जारी गरिदिए, सामान लाइबेरियामै पाउने व्यवस्था मिलाइदिए र इकोनोमी क्लासको पहिलो पंक्तिको आइल सिटसमेत उपलब्ध गराइदिए। यो मेरा लागि अप्रत्याशित बोनसजस्तै थियो।
त्यसमा पनि दिल्लीमा फेरि अध्यागमन प्रक्रिया पूरा गर्नु नपर्ने भएपछि म झन् ढुक्क भएँ। एयरलाइन्सका कर्मचारीप्रति आभार व्यक्त गर्दै म अध्यागमनतर्फ लागेँ।
अध्यागमन कक्ष अत्यन्तै व्यवस्थित देखिन्थ्यो। सबै अधिकारीहरू आआफ्नो काउन्टरमा पूर्ण रूपमा व्यस्त थिए, अनावश्यक गफ कतै देखिँदैनथ्यो। दुई–तीन जना कर्मचारी काउन्टरअगाडि सधैं सतर्क अवस्थामा उभिएर कुनै काउन्टर खाली हुनासाथ अर्का यात्रुलाई तुरुन्तै त्यतैतर्फ पठाइरहेका थिए। सबै काम छरितो, अनुशासित र शान्त वातावरणमा भइरहेको थियो। समग्र माहोल निकै व्यावसायिक र रोचक थियो।
केही बेरमै मेरो पालो आयो। अध्यागमन अधिकृतले कहाँ जान लाग्नुभएको भनेर सोधे। मैले ‘लाइबेरिया’ भनेँ। नाम सुन्नासाथ उहाँ उत्साहित हुनुभयो। उहाँले लाइबेरियाकी पूर्व राष्ट्रपति म्याडम एलेन जोनसन सिरलिफबारे उत्साहपूर्वक कुरा गर्न थाल्नुभयो। म्याडम सिरलिपले हार्भर्ड विश्वविद्यालयमा पढाइ, विश्व बैंक र युएनडिपीमा काम, सन् २००६ देखि २०१८ सम्मको राष्ट्रपतिको कार्यकाल र सन् २०११ मा प्राप्त नोबेल शान्ति पुरस्कार आदिको जानकारी उहाँलाई राम्रै रहेछ।
लाइबेरियाकी पूर्व राष्ट्रपति एलेन जोनसन सिरलिफका साथ
उहाँको कुरा सुन्दा मलाई पनि मेरो अनुभव सम्झना आयो। म्याडम सिरलिफको कार्यकालको अन्त्यतिर मैले लाइबेरिया सरकारलाई आन्तरिक राजस्व परिचालनसम्बन्धी सल्लाह दिने अवसर पाएको थिएँ।
सन् २०१७ जुलाई १८ मा आयोजित राष्ट्रिय राजस्व गोष्ठीमा उहाँले मञ्चमा आसीन मन्त्री, राजनीतिज्ञ, न्यायाधीश र उच्च प्रशासकहरूलाई कर तिर्ने संस्कार विकास गर्न आफैं उदाहरण बन्न आग्रह गर्नुभएको थियो।
अध्यागमन अधिकृतले मेरो पासपोर्ट हेरेपछि ‘पत्रिकामा लेख लेख्ने रूप खड्का तपाईं नै हो?’ भनेर सोध्नुभयो। मैले ‘हो’ भनेँ। उहाँ यो लेख लेख्ने मानिस सरकारी कार्यालयमा काम गर्ने व्यक्ति होला भनेर सोचेको थिएँ भनेर भन्नुभयो।
मैले पहिले अर्थ मन्त्रालयअन्तर्गत काम गरेको तर पछिल्ला दुई दशकदेखि विभिन्न देशका सरकारलाई सल्लाह दिँदै आएको र समय मिल्दा लेख्ने गरेको बताएँ।
त्यसपछि उहाँले भन्नुभयो, ‘म तपाईंको नियमित पाठक हुँ।’ उहाँ काउन्टरबाट बाहिर निस्केर मसँग सेल्फी खिच्नुभयो। म लाइबेरिया पुग्नुअघि नै त्यो फोटो उहाँले मेरो ह्वाट्सएपमा पठाइसक्नुभएको थियो।
उहाँको नाम अनिल चापागाईं रहेछ, पद शाखा अधिकृत। अर्थशास्त्रमा स्नातक गर्नुभएको रहेछ र कर तथा म्याक्रो इकोनोमिक्सका विषयमा थप अध्ययन गर्ने चाहना राख्नुहुन्थ्यो। त्यो छोटो भेटले मलाई गहिरो प्रभाव पार्यो।
अध्यागमन पार गरेपछि अन्तिम सुरक्षा जाँचतर्फ लागेँ म। यहाँ पनि प्रक्रिया छरितो र सहज थियो। त्यसपछि म पर्खिने कक्षमा पुगेँ, जुन हालै विस्तार गरिएको जस्तो लाग्थ्यो।
अध्यागमन अधिकृत अनिल चापागाईंका साथ
कोही यात्रु बोर्डिङका लागि लाइनमा थिए, कोही शान्त रूपमा पर्खिरहेका थिए। कोही कफी र स्न्याक्स किनिरहेका थिए भने कोही रमाइलो कुराकानीमा मग्न थिए। भिड हुँदा हुँदै पनि वातावरण व्यवस्थित थियो।
मैले एक कप अमेरिकानो अर्डर गरेँ। कफी बेच्ने युवक निकै मिजासिला थिए। कफी पिउँदै मैले फोनमा अनुलाई विमानस्थलको मेरो सुखद अनुभव सुनाएँ। सामान सिधै लाइबेरियासम्म बुक भएकाले दिल्लीमा अध्यागतम सम्बन्धी झन्झट ब्यहोर्न नपर्ने र सजिलो सिट पाएको कुरा सुनेर अनु धेरै खुसी भइन्।
केहीबेरपछि अमेरिकाबाट छोरा उत्सवको फोन आयो। उनी दुई दिनअघि मात्रै नेपालमा एक महिनाको बिदा बिताएर अमेरिका फर्किएका थिए। मेरो अनुभव सुनेपछि उनले ‘आफ्नो यात्रा त्यति उल्लेखनीय नभए पनि यसपालि सबै काम अघिल्लो पटकभन्दा धेरै छिटो र सहज भएको थियो’ भने।
मैले यो अनुभव जनकपुरमा आप्रवासनसम्बन्धी काममा संलग्न छोरी उपासनालाई पनि सुनाएँ। विमानस्थलका कर्मचारीको सकारात्मक व्यवहारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पनि सहज हुन सक्छ भनेर उनी पनि खुसी भइन्।
विश्वका करिब ३१ देशमा काम र ४० जति देश भ्रमण गरेको मेरो अनुभवसँग तुलना गर्दा यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाएको अनुभूति साँच्चिकै फरक र स्मरणीय रह्यो। अध्यागमन, प्रहरी, एयरलाइन्स र अन्य निकायका कर्मचारीहरू अत्यन्तै शिष्ट, सहयोगी, व्यावसायिक र सकारात्मक देखिए।
यो परिवर्तन जेनजीको चेतना, वर्तमान अन्तरिम सरकार, नेतृत्व परिवर्तन, तालिम वा सोचमै आएको स्वतःस्फूर्त सकारात्मकता के कारणले आएको हो म ठ्याक्कै भन्न सक्दिनँ। तर कारण जे भए पनि समग्र वातावरण प्रशंसनीय थियो।
यही नै हो, राष्ट्रले आफ्ना राष्ट्रसेवकहरूबाट अपेक्षा गर्ने व्यवहार। यस्तो सकारात्मक वातावरण सम्पूर्ण सार्वजनिक प्रशासनमा फैलियोस्, हरेक कर्मचारीले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरून्, उद्योग, वाणिज्य, राजस्व, शिक्षा, स्वास्थ्य, यातायात, गृहलगायत सबै क्षेत्रमा काम छिटो, सरल र पारदर्शी बनोस्।
सार्वजनिक निकायहरू विकासका बाधक होइनन्, सशक्त सहजकर्ता बनून्। नयाँ नेपालले खोजेको पनि यही हो। राम्रो सार्वजनिक सेवा प्राप्त गर्नेहरूले पनि त्यसलाई खुलेर सराहना गर्ने र समाजमा यसको सकारात्मक चर्चा गर्ने संस्कार बसाल्नुपर्छ।
प्रकाशित: ३ माघ २०८२ १२:०३ शनिबार





