१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘मितज्यू’ मा सौगात र दयाहाङको टकराव

नेपाली चलचित्र उद्योगमा केही यस्ता कलाकार छन्, जो सँगै पर्दामा देखिँदा दर्शकमा उत्साह देखिन्छ। यस्तै मध्येका दुई कलाकार हुन्, दयाहाङ राई र सौगात मल्ल। यी दुई कलाकार एउटै चलचित्रमा देखिँदा त्यो सिनेमाको हाइप नै बढ्छ र दर्शकमा प्रतिक्षा हुन्छ।

यो अवसर फेरि एकपटक जुराइदिएको छ, चलचित्र ‘मितज्यू’ले। ‘मितज्यू’मा सौगात र दयाहाङ एक साथ देखिँदैछन्। कुनै सिनेमामा दुई भेट्रान कलाकार भए पनि कोही अतिथि भूमिकामा मात्रै हुन्छन्।

तर, ‘मितज्यू’ यी दुई कलाकार मुख्य भूमिकामा छन्। दुई मितको कथा हो, ‘मितज्यू’। र, ‘मितज्यू’मा सौगात र दयाहाङ मित हुन्। यी दुई मितबीच एक युवतीको प्रवेश र रुटमा हालेको गाडीलाई लिएर चलचित्रमा हुने उतारचढावको कथामा ‘मितज्यू’ बनेको छ।

त्यसैले यो सिनेमाको द्वन्द्व भनेकै सौगात र दयाहाङबीच छ। यी दुई कलाकारबीच हुने नोकझोक र टसलको वरिपरि सिनेमा घुम्छ। यसैले सिनेमामा दर्शक होल्ड गर्ने हो।

वास्तवमा मित भएपछि एकले अर्कोको नाम उच्चारण गरेर बोलाउन पनि हुँदैन भन्ने मान्यता छ तर ‘मितज्यू’मा यी दुईबीच झगडा नै हुने यसका अहिलेसम्ममा सिनेमाका बाहिर आएका कन्टेन्टले नै देखाइरहेको छ।

“यी दुई कलाकारको टकराब हाम्रो चलचित्रमा गजबले हेर्न पाइन्छ। यी कलाकारबीचको मतभेद र द्वन्द्व नै सिनेमा मुख्य आकर्षण हो,” निर्देशक अनिल बुढा मगर भन्छन्, “हामीले हेर्दा दयाहाङ र सौगात दुवै सिनेमाको हिरो हो तर पनि द्वन्द्व पनि उहाँहरू बीच नै हुन्छ भने पक्कै पनि दर्शकले मन पराउनु हुनेछ भन्ने लागेको छ।”

मित लगाएर मितको साइनोमा बाँधिइसकेपछि फेरि कसरी झगडा सम्भव र त्यसको बैठान कसरी हुन्छ भन्ने कौतुहल सिनेमाले मेटाउने उनी बताउँछन्।

वास्तवमा दयाहाङ र सौगातबीच जुन चलचित्रमा टकराव छ, त्यही हिट भएको विगत छ । ‘कबड्डी’ र ‘लुट’ यसका उदाहरण हुन्। त्यसैले यी दुईबीचको टकराब दर्शकले ‘मितज्यू’मा पनि मन पराउने निर्देशक अनिलको विश्वास छ।

चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ। यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय छ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। शिशिर बिशंखेको सिनेमेटोग्राफी छ। नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ।

नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा सिनेमाको मुख्य विषय भएकाले धेरै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ।

प्रकाशित: ३ जेष्ठ २०८३ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App