सुनसरीको देवानगन्ज–३ कप्तानगन्जबाट सुरु भएको विवादको निवारण समयमा नहुँदा निम्तिएको हिंसात्मक परिस्थितिले देशलाई संवेदनशील मोडमा उभ्याएको छ। एउटै गाउँमा बस्दै आएका दुई समूहबिचको विवादले हिंसात्मक रूप लिँदा त्यसको प्रभाव मधेस प्रदेशका विभिन्न स्थान र अन्यत्र पनि फैलिन थालेको छ। अराजकताको प्रभाव फैलिन कत्ति पनि बेर लाग्दैन। यी घटनाहरू दुःखद मात्र छैनन्, राज्यका सुरक्षा संयन्त्रहरू कमजोर भएको संकेत पनि बन्न पुगेका छन्।
समस्याको पहिचान समयमै ठिक ढंगले गर्न नसक्दा यसले सुरक्षा चुनौती मात्र होइन, बृहत्तर नेपाली समाजमा रहेको सद्भाव र धार्मिक सहअस्तित्वमाथि गम्भीर प्रश्न उठाएको छ। केही समयदेखि नेपाली समाजमा बढ्दै गएको पारस्परिक आशंका र अविश्वासको परिचायक हो यो घटना। अनेकताका बिचमा एकताको बिन्दु पत्ता लगाएर मिलिजुली बाँच्ने हाम्रो देश र समाजमा यो घटनाले आपसी असहिष्णुता फैलाएको छ।
हिमाल–पहाड, तराई–मधेस जहाँ बसे पनि, जुनसुकै धर्म अवलम्बन गरे पनि नेपाली जनताले आपसी सहयोग र सहअस्तित्व स्वीकार गर्दै आएका छन्। एउटै समाजमा सँगै बस्दा यदाकदा विवाद उत्पन्न हुनु अस्वाभाविक होइन। त्यस्ता विवादको समाधान हुँदै आएको पनि छ। नेपाली समाजमा धार्मिक सहिष्णुताको अभाव छैन। एउटै गाउँमा एकातिरबाट मस्जिदको अजान र अर्कातिरबाट मन्दिरको घण्टी गुन्जिने गरेका छन्। एउटै टोलमा तिहारको मिष्ठान्न र इदको सेवैयाँ बाँड्ने चलन छ। यो नै विविधतापूर्ण नेपाली समाजको एकताको उदाहरण हो।
अहिले कप्तानगन्ज घटनासँगै फैलिएको आगोको लप्काले हाम्रो समाजमा रहेको सहअस्तित्वको भावनालाई नष्ट पार्न खोजेको छ। यो आगोमा अहिले घरहरू जलेका छन्। असहिष्णुता बढ्दै गए भोलि पुस्तौंदेखि नेपाली मनमा बाँचेको विश्वास पनि जल्ने छ। त्यो अवस्था आए कसले सम्हाल्ने र कसरी सम्हाल्ने ? अहिलेको घटना हिन्दु र मुस्लिमबिचको विवाद वा नेपालमा रहेका दुई समुदायबिचको वैमनस्य होइन, यो एउटा सामान्य घटना हो। यसलाई कमजोर राज्य संयन्त्रको गलत निर्णयले विस्तार गराइदिएको छ। समाजमा रहेको गैरजिम्मेवार र असहिष्णु प्रवृत्तिका कारण निम्तिएको जोखिम हो यो। केही व्यक्तिको गल्तीलाई सम्पूर्ण समुदायको अपराध बनाउन खोज्दा समाज बिथोलिन्छ, सामाजिक न्यायको हत्या हुन्छ। असामाजिक तत्त्वले अन्यायको यात्रा सुरु गर्छ र निहत्था नागरिकले एकपछि अर्को गर्दै ज्यान गुमाउने शृंखला सुरु हुन्छ।
अहिले प्रश्नहरू जन्मिएका छन्– राज्यका सुरक्षा संयन्त्रहरूलाई स्थानीय तहमा विवाद बढिरहेको जानकारी थियो भने सुरक्षा प्रशासनले किन समयमै समाधान खोजेन ? किन संवाद भएन ? धार्मिक अगुवा, जनप्रतिनिधि, प्रशासन र सुरक्षा संयन्त्रका सञ्चालकहरू किन एकै ठाउँमा बसेर सहमति खोजेनन् ? किन एउटा सामान्य विवाद निवारणका लागि जनताले मृत्यु, आगजनी र कफ्र्युको सामना गर्नुपर्यो ? राज्य र तिनका निकाय किन सक्रिय हुन सकेनन् ? राज्य किन जिम्मेवार भएर प्रस्तुत भएन ?
अहिलेको समयमा सडकबाट भन्दा बढी खतरा मोबाइल फोनको पर्दाबाट हुने गरेको छ। सामाजिक सञ्जालमा फैलाइएका भिडियो, सम्पादित तस्बिर, घृणाले भरिएका सन्देश र उत्तेजनापूर्ण धार्मिक नाराले मानिसको भावनामा छिटो कब्जा गर्छन्। सामाजिक परिवेशमा ‘सन्देश’का रूपमा फैलाइने हल्ला वर्षौंदेखिको पारस्परिक विश्वासको सम्बन्धलाई खरानी पार्न पर्याप्त हुन्छ। यो अवस्था आउन नदिन जनता सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ। राजनीतिक दलहरूले यो समयलाई सत्तामा जान समर्थन जुटाउने अवसरका रूपमा होइन, राष्ट्र जोगाउने जिम्मेवारीका रूपमा लिनुपर्छ।
भावनात्मक विषयलाई राजनीतिक नाफाको साधन बनाउने प्रवृत्ति अत्यन्त खतरनाक हुन्छ। आगो मन्दिर वा मस्जिद कहाँबाट सुरु भयो? त्यसबारे बहस गर्नुअघि आगो निभाउने चिन्ता र चिन्तन गर्नुपर्छ।
कानुन कार्यान्वयन गर्ने जिम्मेवारी सुरक्षा निकायको हो। यसक्रममा उसले संयमित र निष्पक्ष भएर काम गर्नुपर्छ। साम्प्रदायिक घृणा फैलाउने जोसुकै भए पनि उसलाई कानुनको कठघरामा उभ्याउनैपर्छ। राज्यका सबै निकाय जिम्मेवार र जवाफदेही बन्नुपर्छ। जटिल समयमा समस्याको समाधान प्रहरी र प्रशासनको घेराबाट होइन, सिंगो नेपाली समाज एकै ठाउँमा उभिएर खोज्नुपर्छ। मन्दिरका पुजारी, गुम्बाका लामा, मस्जिदका मुर्र्सिद सबै एउटै मञ्चमा उभिनुपर्छ।
हामी बस्ने भूगोल, हामीले मान्ने धर्म र हाम्रा पूजा गर्ने तरिका फरक फरक हुन सक्छन् तर राष्ट्रियता एउटै हो। सहअस्तित्व यो देशको मौलिक र मूल चरित्र हो। सरकार सञ्चालकहरूले बुझ्नुपर्छ– संवादले बाटो बिरायो भने घृणा बढ्दै जान्छ, जसको मूल्य सिंगो मुलुकले चुकाउनुपर्छ। विभाजन र घृणाले भरिएको देश कि विविधतामा गर्व गर्ने तथा सहअस्तित्वमा रमाउने देश बनाउने ? निर्णय हाम्रै हातमा छ।
प्रकाशित: १५ श्रावण २०८३ ०८:०० शुक्रबार

