१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा पदबहाली

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानवबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाले आज निर्वाचन आयोगमा पदबहाली गरेका छन्। 

पदबहालीपछि बसेको आयोगको बैठकले हाल संघीय संसद्मा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकअनुसार एकीकृत निर्वाचन व्यवस्थापन नियमावलीको मस्यौदा तयार गर्ने निर्णय गरेको छ।

साथै निर्वाचनमा नागरिकको अपेक्षाबमोजिम आधुनिक सूचना प्रविधिको प्रयोगसम्बन्धी अवधारणापत्र तयार गर्ने, मतदाता नामावलीलाई त्रुटिरहित, अद्यावधिक र विश्वसनीय बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त कार्कीले आयोगका कर्मचारीलाई निर्देशनात्मक सम्बोधन गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र समावेशी निर्वाचन सम्पन्न गराउने दायित्वलाई प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेका छन्। 

उनले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन, कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्न तथा उच्च मनोबल, व्यावसायिकता र उत्तरदायित्वका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए। संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरूको बिहीबार नियुक्ति भएको थियो।

प्रकाशित: १५ श्रावण २०८३ २२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App