१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

कार्थकको नजरमा नेपाली संगीत सर्जक

डबली

नेपाली साहित्यमा केही वर्षदेखि उपन्यास र आत्मकथाको भीड छ। बजार पनि छ भन्छन्। तर, नेपाली भाषामा नाटक, जीवनी, सिनेमा, संगीतसम्बन्धी पुस्तक अभावशून्य नै छ। बजार नभएर हो वा भएर, थाह छैन। यस्तो अवस्थामा पनि निकै मुस्किलले संगीत र सिनेमाबारे लेखिरहने स्रष्टा कमै छन्, त्यसमध्ये साहित्यकार पिटर जे कार्थकको नाम अघिल्लो पंक्तिमा आउँछ। उनी रामशरण दर्नाल, सुबी शाह, नगेन्द्र थापापछि संगीतबारे लेख्ने एक सक्रिय मसीजीवी हुन्।  

उनी अब छैनन्। तर उनी जीवित हुँदै अंग्रेजीमा उनको संगीतसम्बन्धी एउटा पुस्तक निस्कियो, नेपाली म्युजिक मेकर्स। यही पुस्तक हालै नेपालीमा अनुवाद भएर प्रकाशित भयो, ‘नेपाली संगीतस्रष्टा’ नामबाट। यो एउटा अनौठो संयोग हो, पिटर जे कार्थकले नेपालीमा लेखेको उनको पहिलो उपन्यास धेरै वर्षपछि अंग्रेजीमा अनुवाद भएर आयो र उनले अंग्रेजीमा लेखेको संगीतसम्बन्धी किताब उनको देहान्तपछि नेपालीमा प्रकाशित छ।  

अघिबाटै भनियो, नेपालीमा संगीत र मनोरञ्जनसम्बन्धी किताब कमै छ, वा हातमा गन्न नपुग्ने गरी छ। त्यसमा पनि हाम्रो संगीतको इतिहास नै अनधीत रूपमा रहेको छ, यसको कुनै इन्स्टिच्युसनल मेमोरी (संस्थागत अभिलेख) नै छैन। रामशरण दर्नालको ‘नेपाली संगीतका साधक’, र नरेन्द्र प्रसाईंको ‘नेपाली संगीतका शिखर’पछि विकल्पमा अर्को किताब छैन, नहुनुका पछाडि एउटै कथा हो, हाम्रो इन्स्टिच्युसनल मेमोरीको अभाव।  

छिमेकी मुलुक भारतमा पनि यस्तै प्रकारको समस्या छ र त्यहाँ यस्तो भनिएको छ, ‘भारतको क्रिकेटको सामाजिक इतिहास वर्षौंदेखि एउटै धरातलीय समस्याबाट पीडित छ। त्यो हो, हामी जनताका रूपमा लिखित अभिलेखमाथि आपराधिक विमति वा असमानता राख्छौँ, (रामचन्द्र गुहा, अ कर्नर अफ फरेन फिल्ड)।’ गुहाले भारतीय क्रिकेटबारे भनेजस्तो वा त्यही थरीको दृष्टिदोष हाम्रो संगीत समाजमा पनि भएको छ। हाम्रो संगीतको इतिहास कहिल्यै सही लेख्न सकिएन, वा सम्भव नै भएन। त्यसका दुई कारण छन्– १० राणाको क्रूर समयमा यसको सुरुवात भयो। २० पञ्चायती व्यवस्थाका सूत्रधार राजा महेन्द्रको शासनकाल नेपाली संगीतको स्वर्णिम काल बन्यो।  

त्यही कालावधि रेडियो नेपालदेखि राल्फासम्म, दरबारिया भजनदेखि दार्जिलिङे सांगीतिक हस्तक्षेपसम्म सँगै रह्यो। नेपालबाहिर भारतको कलकत्ता, मुम्बई र दिल्लीमा गीत रेकर्डिङ भयो। नेपालमै पनि चेतभवनको रेकर्डिङ इतिहासको जग थालनी भएपछि सिंहदरबारको रेडियो रेकर्डिङको कालखण्ड सुरु भयो।  

यही समयका एक ज्वलन्त साक्षी पिटर जे कार्थकले लामो समयको अध्ययन र अनुभवपश्चात् यो कृति लेखे, नेपाली संगीत स्रष्टा (दार्जिलिङ र काठमाडौंको संगीत संसार)। पिटर जे कार्थकले २०५४ देखि २०७४ सालसम्म गीत–संगीतबारे लेखेका २८ वटा विविध लेख यसमा संकलित छन्, अंग्रेजीमा पूर्वप्रकाशित लेखलाई मञ्जुश्री थापाको सम्पादन सहयोगमा पुस्तकाकार दिइएको थियो। त्यही अंग्रेजी पुस्तकलाई गीतकार वसन्त थापाले सम्पादन संयोजन गरेर हिमाल किताबले यसै वर्ष प्रकाशित गरेको छ।  

यसमा संगीतकार नातिकाजीदेखि सबैभन्दा पछिल्लो पुस्ताका संगीतकार दिव्य खालिङसम्म समेटिएको छ। खालिङका समकालीन दार्जिलिङका गायकगायिका अनि वाद्यवादक पनि यसमा प्रकाशमान छन्।  

नेपाली संगीतको स्वर्णिम युगमा एक गितारवादकका रूपमा नेपाली संगीतमा सक्रिय रहेका पिटरले आफ्ना गुरु अम्बर गुरुङदेखि आफ्ना समकालीन गोपाल योञ्जन, लुई ब्याँक्स्, शरण प्रधान, अरूणा लामा, भक्तराज आचार्य सबैलाई न्यायपूर्वक उल्लेख गरेका छन्। सन्दर्भ संगीतकै भए पनि नेपाली जनजीवन, समाजार्थिक विकास, बसाइँसराइ अनि मान्छेका आनीबानीका तस्बिर उतार्नमा खप्पिस पिटरले घरीघरी उर्दूका प्रसिद्ध लेखक सआदत हसन मन्टोको स्टाइल ल्याएका छन्, यस पुस्तकमा।

पिटरको पूर्वकथा

पिटर जे कार्थक जातिले लेप्चा हुन्, उनको वैवाहिक जीवन काठमाडौंको नेवारसँग भयो र उनी पछि नेपालकै भए। यद्यपि उनको जन्म भारतको सिलाङमा भएको थियो। उनको बाल्यकाल, किशोर काल दार्जिलिङमा बित्यो।  

दार्जिलिङमा हुँदै उनले सन् १९५६ देखि वाद्यवादकको रूपमा संगीत मण्डलीमा प्रवेश गरे। आर्ट अकादेमी हुँदै उनी संगम ग्रुपमा आबद्ध भए, पछि आफैँले ‘हिलियन्स’ नामक ब्यान्ड खोले, यसका उनी गायक पनि भए। पछि सन् १९६६ देखि सन् १९७६ सम्मको एक दशक लामो समय उनले सेसन म्युजिसियनको रूपमा रेडियो नेपालमा गितार र बेस बजाए, यसबाहेक उनी माउथ अर्गेन पनि बजाउँथे।  

सन् १९७६ पछि उनले सांगीतिक कार्यमा सरिक हुन छाडेको देखिन्छ, तर यसपछि उनले उपन्यास लेखे– प्रत्येक ठाउँ प्रत्येक मान्छे, पहिलो उपन्यासमै उनले साझा पुरस्कार पाए। यस उपन्यासको लामो समयपछि उनी संस्मरण लेखकका रूपमा सुरुचि पाक्षिक र गरिमा मासिकमा देखिए। यसै समय उनको इच्छा मुताविक (तर असहमतिपूर्वक) साझा प्रकाशनले पिटरका कथाहरू प्रकाशन गर्‍यो। यस संग्रहको ‘सुपारीको रूख’ उनको तहल्का मच्चाएको कथा हो। यसपछि उनले अंग्रेजीमा उपन्यास पनि लेखे।  

उपन्यास र कथापछि उनको कलम र बोली चल्ने क्षेत्र हुन गयो, संगीत समीक्षा। यसैमा उनले नेपाली सांगीतिक फाँटलाई गहिरोसित नियाले। आफ्नो सांगीतिक जीवनमा उनले नारायणगोपालदेखि दीप श्रेष्ठ, गोपाल योञ्जनदेखि भक्तराज आचार्यसम्मका गीतमा बाजा बजाएका छन्, यो कारणले उनी आफूलाई रमाइलो शैलीमा ‘बजिया’ भन्न मनपराउँथे।  

उनले संगीतबारे पहिलो लेख गोपाल योञ्जनको निधनपछि सुरु गरेका थिए, नेपालीमा उनले पहिलो लेख, अम्बर गुरुङ संगीत प्रवद्र्धन समितिबाट नातिकाजीलाई सम्मानित गर्दा ‘नातिदाइ राम्रो’ भन्ने लेख लेखेका थिए। यसबाहेक उनले संगीतकार दिव्य खालिङ, दीप श्रेष्ठ, तारादेवी, गंगा राणाबारे पनि लेख्दै आएका छन्।  

रेडियो नेपालमा सेसन म्युजिसियनका रूपमा काम गरे पनि उनले गायक ध्रुव केसीको गीतमा बाजा बजाउन नपाएकामा दुःख व्यक्त गरेका छन्। दार्जिलिङ र नेपालको दुवै सांगीतिक इतिहास र आरोहअवरोह बुझेका पिटरको यो कृति नेपाली संगीत स्रष्टा आजसम्म नेपालीभाषामा प्रकाशित संगीतको एउटा महत्वपूर्ण कृति हो भन्दा फरक पर्दैन। तर उनले यस पुस्तकलाई ‘मेरो व्यक्तिगत संस्मरणको संग्रह हो र यो कुनै पनि किसिमको ऐतिहासिक अभिलेख होइन’ भनेर अलमल्याइदिएका छन्। यो पुस्तक कार्थकको निधनको नौ महिनापछि उनकै जन्मजयन्तीको अवसर पारेर बजारमा ल्याइएको छ।  

पुस्तकका बारेमा

पुस्तकको आवरणमा आठजना संगीत स्रष्टाको तस्बिर समेटिएको छ। त्यसमा गायक बच्चुकैलाशबाहेक अन्य दिवंगत सात संगीतसाधक छन्– नातिकाजी, अम्बर गुरुङ, अरूणा लामा, गोपाल योञ्जन, शरण प्रधान, नारायणगोपाल र तारादेवी। भित्र लेखमालामा बलिउडका संगीतकर्मी लुई ब्यांक्स, रनजित गजमेर, शरण प्रधान, अम्बर गुरुङ, कर्म योञ्जन, कुमार बस्नेत, तारादेवी, शशिराम भण्डारी, पुष्प नेपाली, फत्तेमान राजभण्डारी, गोपाल योञ्जन, शिवशंकर, अगमसिंह गिरी, जितेन्द्र बर्देवा, इन्द्र थपलिया, शान्ति ठटाल, रवि दास, कुमार सुब्बा, दिलमाया खाती, निर्मला गजमेर, संगीता सुब्बा लगायतलाई समेटेका छन्।  

लेखनका हिसाबले यो पुस्तकमा नेपाल र दार्जिलिङ दुई ठाउँको व्यापक चर्चा छ। सांगीतिक संरचनाका हिसाबले यसमा चर्च संगीतदेखि लिएर क्वायर अनि भक्ति संगीतदेखि क्यान्टाटा सम्मका चर्चा छन्। पिटर आफैँ एक कुशल वाद्यवादक भएकाले संगीतको स्वरिता, संकल्पना अनि स्वकथनलाई संगीतकै व्याकरणीय भाषामा विस्तारित गरेका छन्। यस्तो काम बिरलै हुन सक्छ, वा अब हुन अलि गाह्रै पर्छ होला।  

उनले गीतमा प्रयोग भएका कर्ड प्रोग्रेसन अनि हार्मोनियम फिटाइका बारेमा भातखण्डे संगीत लिपिको चर्चा पनि धुमधामले गरेका छन्। कलाकारको चर्चा गर्दा उनले आफ्नो अनुभवका आधारमा रचना, धुन, संगीत संयोजन, स्केल र स्वर संगीतको पनि व्याख्या गरेका छन्, त्यो सम्भवतः पिटर आफैँ एक वाद्यवादक भएका कारणले मात्र सम्भव भएको हो भन्ने बुझिन्छ।  

यो पुस्तकमा उनले गीत विशेषमा अम्बर गुरुङको नौलाख तारा र कुमार बस्नेतको ‘दिउँला यो जोवन तिमीलाई दिउँला’को उद्धृत गरेका छन्। सांगीतिक समूहमा यिनले लेकाली समूह, राल्फाली सांगीतिक समूह अनि भारतको हिमालयन कला मन्दिर, संगम समूह, हिलिन्स्, श्रावण (सावन) समूहको सन्दर्भ उचित तरिकाले उल्लेख गरेका छन्।  

कलाकारका बारेमा कार्थक  

नेपाली संगीत आकाशका लगभग एकै समयका शतप्रतिशत सबै गायक गायिका, संगीतकार अनि गीतकारसित काम गरिसकेका पिटरले नेपाली संगीतको विकासमा ओझेल परेका र हराएका कैयन् संगीतस्रष्टाको यसमा झसंग हुने गरी चर्चा गरेका छन्। जितेन्द्र बर्देवा, संगीता सुब्बा, उही गोविन्दबहादुर, इन्द्रलाल, इन्द्र थपलिया, मदन परियार, निर्मला गजमेर, पुष्प नेपाली, बबी पन्त, बबी ब्यांक्स् त्यस्ता केही नाम हुन्।  

नजाऊ फर्की नेपाल  

उठेर भन्छ देउराली  

फर्केर हेर न मुगलानको  

मायालु पाखा चियाबारी  

यस गीतका गीतकार अगमसिंह गिरीका बारे चर्चा गर्दा उनले उनको भद्रता, नेपालीपन र नेपाली वेशभूषाको व्याख्या गरेका छन्। उनको मद्यपानप्रतिको लतको खुलेर आलोचना पनि गरेका छन्। गिरीपछि दार्जिलिङका अनि नेपाली संगीत समाजका चर्चित गीतकार जितेन्द्र बर्देवाको नाम स्वतः सम्मानका साथ लिएका छन्। ‘यहाँ फूल नखिलेछ’, ‘हेर न हेर कान्छा डाँडामा फूलले ढाक्यो’ जस्ता गीतका रचयिता बर्देवाले ‘एक रात थियो’, ‘वन डढेको देखिन्छ’ जस्ता गीत गाएका छन्। अल्पायुमै बितेका बर्देवालाई कार्थकले झरेका चम्किला तारा भनेका छन्।

तेरो माया के लाग्छ भन्नु  

मलाई मेरै माया नै लाग्दैन।  

गोपाल योञ्जनको यो लोपप्रायः गीतको चर्चा गर्दा उनले योञ्जनको रचनाकारिता, संगीत अनि व्यक्तित्वबाट प्रभावित भएको स्विकारेका छन्। योञ्जनका बारेमा लेखेका यी कुराले भावुक बनाउँछ। उनले लेखेका छन्–  

व्यक्तिगत रूपमा गोपालमा यदाकदा आत्माभिमान र आत्मश्लाघा देखिन्थ्यो। तर म त्यस्तो चारित्रिक दोषलाई दार्जिलिङ वा अन्य ठाउँबाट आउने नेपाली प्रवासीप्रति काठमाडौंको वातावरणमा त्यसवेला र अहिले पनि विद्यमान रहेको संकुचित दृष्टिकोणलाई प्रतिकार गर्ने एउटा रणनीतिका रूपमा लिन्थेँ।  

संगीतकार गायक शिवशंकर र पुष्प नेपालीप्रति उनी सद्भावनाका शब्द मात्र लेख्दैनन्, इतिहासमा अनधीत रहेको पक्ष उद्घाटित गर्छन्। नेपाली संगीत जगतका अदम्य साधक नातिकाजी श्रेष्ठका बारे लेखिएको यो लेख नेपाली संगीत इतिहासको एउटा असाधारण पाना हो। पुस्तकमा उनले कसैलाई शिरोमणि वा कसैलाई महागायक भनेर अचाक्ली गरेका छैनन्। तर, आफ्ना गुरु भएका कारणले अम्बर गुरुङलाई ‘सर’ र ‘संगीत मनीषी’ शब्द प्रयोग गरेका छन्।

 नारायणगोपाललाई ‘स्वरसम्राट’सम्म प्रयोग गरेका छन्। नारायणगोपालबारे उनका फरकफरक लेखमा उनले नारायणगोपालको झगडिया काण्डका कारण आफू ससुराली टोलमा जान प्रतिबन्धित भएको घटना नरम ध्वनिमा लेखेका छन्।  गायक भक्तराज आचार्य नेपाली संगीत आकाशका एक अति प्रभावशाली गायक हुन्। उनको गायकीको प्रशंसा सबैले गर्छन्, तर रामशरण दर्नाल लिखित ‘नेपाली संगीत साधक’मा उनी छुटेका छन् भने नरेन्द्र प्रसाईंको ‘नेपाली संगीतका शिखर’मा पनि उनको नाम परेको छैन। तर, यस कृतिमा पिटरले उनीसित सहकार्य गरेका आधारमा उनको बारेमा ठाउँठाउँमा लेखेका छन्।

पुस्तकको पृष्ठ १६५ मा उनले लेखेका छन्, ‘भक्तराज आचार्य रेडियो नेपालका लाइबेरियन थिए। स्वर र गायन भने यिनको सानदार थियो।’ यसबाहेक कार्थकले गायक आचार्यको गायकी र बानी–व्यहोराको चर्चा गर्दै अन्यतिर पनि पंक्तिबद्ध गरेका छन्। गायक आचार्यबारे कार्थकले लेखेका अन्य पंक्ति गम्भीरतापूर्वक पढ्ने हो भने आचार्य परिवारले यो किताब सम्मानपूर्वक घरमा राख्ने मात्र होइन, ती पंक्ति पढेर अचम्भित हुनुभन्दा सजग र सतर्क हुनु जरुरी छ।  

संगीतका एक अध्येता र लेखकका हैसियतले कार्थकले गायक आचार्यबाहेक योगेश वैद्य, दीप श्रेष्ठ, दिव्य खालिङ, उर्मिला श्रेष्ठ, कमला श्रेष्ठ, सोफिया शर्मा हुँदै शान्ति ठटालसम्मको चर्चा गरेका छन्। गायिका संगीतकार शान्ति ठटाल र अम्बर गुरुङको प्रेम प्रसंगको चर्चा गर्दै पृष्ठ १४७ मा त्यस घटनाको रोचक चर्चा गरेका छन्, ‘श्रीमती गुरुङ र महिला ‘ग्याङ’ले शान्ति ठटाललाई सार्वजनिक रूपमा भुत्ल्याए।’ दार्जिलिङका अन्य कलाकारलाई सम्झिने क्रममा लेखकले अशोक राई, कर्म योञ्जन, रवि दास, कुमार सुब्बा, संगीता सुब्बा, निर्मला गजमेर, रनजित गजमेर, दिलमाया खाती, इन्द्र थपलिया, हिमालय कला मन्दिरको तथ्यगत चर्चा गरेका छन्।  

पुस्तकमा सबैभन्दा रोचक कुरा समय देखिएको छ। समय सँगसँगै सीमा पनि छुट्टिएको छ। संगीतको भाषा र सीमा हुँदैनन् भन्छन्, तर यस पुस्तक पढ्दा यस्तो लाग्छ, त्यही वेला बनेका नेपालका गीत र दार्जिलिङका गीत संगीतमा एक फरक आवृत्ति छ भन्ने लाग्छ। नेपालका कलाकारमा गायक फत्तेमान राजभण्डारीलाई उनले टेक्निक र आवाजका धनी गायक भनेका छन्। गायक दीप श्रेष्ठलाई अम्बर गुरुङको भनाइ सापटी लिँदै एक अराजक गायक भनेका छन्।

दीपका बारेमा कार्थकको थप भनाइ, ‘सीधा कुरा गर्ने र आफूले गर्नुपर्ने काम गर्दा गम्भीरतापूर्वक गर्ने दीपको बानी मलाई सधैँ मनपथ्र्यो। काठमाडौंका अधिकांश गायक र संगीतकारमा पाइने दोधारे र अस्पष्ट स्वभाव हेरी उनको स्वभाव एकदमै भिन्न थियो।’ गायक श्रेष्ठका रेकर्डिङ सेसनका कुरा गर्दा कार्थकले तारिफ गरेका छन्। 

त्यस्तै, गायक संगीतकार बच्चुकैलाशलाई उनले जुवाको खालमा भेटेको यादगार पल उद्धृत गरेका छन्। गायक बच्चुकैलाशका विषयमा लेखिएको १० पृष्ठ लामो उनको यो लेख नै बच्चुकैलाशलाई बुझ्ने विशेष लेख भएको छ। सायद यसरी बच्चुकैलाशलाई कसैले प्रयोग गरेका छैनन्। गायिका कमला श्रेष्ठलाई उन्मुक्त गायिका भनेका छन् भने गंगा राणाप्रति उनी अलि निर्मम देखिएका छन्। यस पुस्तकमा उनले गोपाल योञ्जनलाई गोफ्ले, श्रीमती योञ्जनलाई बेबी रिन्छेन, इन्द्र थपलियालाई थप्पू, अम्बर गुरुङलाई बूढोजस्ता रोचक पदवी पनि दिएका छन्।  

संगीत बन्दाको क्षण  

यस पुस्तकको नाम ‘नेपाली संगीत स्रष्टा’ भए पनि यसमा म्युजिक मेकिङका केही प्रसंग भुल्नै नसकिने खालका छन्। विशेषतः अम्बर गुरुङको संगीत रहेको ‘नौलाख तारा’ र शरण प्रधानको संगीत रहेको ‘यहाँ फूल नखिलेछ’ गीतको सांगीतिक निर्माण अद्भूत कथाबाट सुरु भएको छ। यो दोहोरिएको पनि छ, दोहोरिँदा पनि यसको स्वाद फरक छ।  

यहाँ फूल नखिलेछ  

बहार आउन नै भुलेछ  

यहाँ चोट दुखेकै छ  

तर सहन परेकै छ।

हामी यसका कर्डका कारण यसलाई डेड (डिइएडी) गीत भन्ने गथ्र्यौं। यसमा डी मेजर, ई मेजर, ए मेजर, ए सेभेन्थ र डी मेजर कर्ड खेल्नुपथ्र्यो। अरूणाले आधुनिक एकल गायन समूहको पहिलो पुरस्कार जितिन्। गायिका लामाका समकालीन कार्थकले लामाले गाउन नसकेको गीतबारे एक संगीतकर्मीको हैसियतले कार्थकले गरेको कामको चलाखीको चर्चा उनले यसरी गरेका छन्, ‘मैले खोलबाट गितार निकालेँ र सी मेजरमा ६/८ तालको मध्यम विलम्बित बिटमा बजाएँ। अन्तरामा बी फ्ल्याट मेजर र सी सेभेन्थ कर्ड बजाएपछि उनले गीत टिप्नुपथ्र्यो। यो तरिका अपनाइस् भने बूढो तीन छक्क पर्छ।’

गीत संगीत निर्माण हुँदाको रमाइलो क्षण मात्र उनको निम्ति भएन, उनले एक वाद्यवादकको रूपमा यादव खरेलको ‘पिउँदापिउँदै’, गोपाल योञ्जनको यति चोखो यति मिठो, लौ सुन म भन्छु गीतको रेकर्डिङपछि रेडियो नेपालबाट बिदा लिए।  संगीत निर्माणको समयको नरमाइलो क्षण सम्झँदै उनले अन्त्यमा लेखेका छन्, ‘राजा र रानीका लागि अम्बर सरको क्यान्टेटा प्रस्तुत गरिने भएपछि अर्को झमेला आइलाग्यो। नाम पुण्यात्मा जस्तो गरेको एक नैतिकहीन, अहंकारी र व्यर्थको फुलेल गायकले अम्बर सरका लाइनलाई सही तरिकाले नगाइदिएर मजाक उडाइदियो। निजले गाउनुपर्ने आफ्नो छोटो अंशको शब्द र धुनलाई जानाजान बिर्सिदिएर हैरान खेलायो।’ 

पुस्तकको अन्तिमतिर यी पंक्ति लेख्दा उनले ती गायकप्रति गाली वर्षापात गर्दा गायकको अपमानभन्दा आफ्ना गुरु अम्बरले पाएको हैरानीप्रति अनि नेपाली संगीतमा सहकार्यको अभाव र सहचार्यको कमी भएको पनि संकेत गरेका छन्। नेपालमा वाद्यवादनमा अभ्यासको सख्त अभाव, गायनमा नक्कल प्रभावका कारण हाम्रो संगीत पछि परेको उनले स्विकारेका छन्। गीत संगीतबारे यति गहिरोसित लेख्न इतिहासको मात्र ज्ञान भएर पुग्दैन, संगीतको पनि ज्ञान चाहिन्छ भन्ने कार्थकको लेखाइमा देखिएको छ। आफैँ एक कुशल वाद्यवादक अनि पूर्वीय र पाश्चात्य संगीतको ज्ञानले भरिपूर्ण व्यक्तित्व भएका कारण यो पुस्तक पठनयोग्य र संग्रहणीय छ। भारतमै पनि संगीतबारे लेख्ने लेखक कम छन्।

राजु भारतन, गणेश अनन्तरमण, हरिश भिमानी, अक्षय मनवानी, साबिर दत्त, इकबाल मसूद केही नाम छन्, तर ती सबै संगीतका ज्ञाता होइनन्, तर कार्थक र रामशरण दर्नालजस्ता संगीतका समीक्षक हुनु हाम्रा लागि गौरवको कुरा हो। नेपाली गीतसंगीत निर्माणमा यति महत्वपूर्ण पुस्तक प्रकाशनले वर्तमान नेपाली संगीतकर्मी र भावी पुस्तालाई यस पुस्तकले अपार सहयोग पुर्‍याउने कुरामा द्विमत छैन। यो पुस्तक संग्रहणीय छ, पठनीय छ।

प्रकाशित: १४ चैत्र २०७७ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App