१६ चैत्र २०८० शुक्रबार
कला

म जान नसकेको त्यो अन्तिम उडान

अक्षर

आकाश बिहानदेखि धुम्म थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन भएको थिएन। सोही दिनको बिहानको उडान तालिका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं चुहानडाँडा (तेह्रथुम) उडान भर्दै थियो। सो उडानमा तत्कालीन संस्कृति पयर्टन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सम्मिलित टोली तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण साइटको निरीक्षणमा जाने कार्यक्रम थियो। पर्यटनमन्त्रीले विमानस्थल निरीक्षणमा जाने कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको रूपमा म पनि प्रायः साथै जाने कार्यक्रम रहन्थ्यो।  

२०७५ फाल्गुन पहिलो साताको कुनै एक बिहानीमा माननीय रविन्द्र अधिकारीले फागुन १५ गते तेह्रथुमको चुहानडाँडामा प्रस्तावित विमानस्थल निरीक्षणमा जाने कार्यक्रम राख्नुभयो। यसरी उडान गर्ने भन्नासाथ मेरो पहिलो काम त्यस दिनको मौसमसम्बन्धी जानकारी लिने र आफ्नो कुनै कार्यक्रम भए नभएको यकिन गर्ने हुन्थ्यो। प्राविधिक पहुँचका कारण तत्कालै मौसमसम्बन्धी जानकारी लिँदा त्यस दिन नेपालभरि पानी पर्न सक्ने सम्भावना देखाउँथ्यो र अर्को मेरो आफ्नो पूर्वनिर्धारित कार्यक्रमले म त्यस दिन काठमाडौं छाड्न सक्ने अवस्थामा थिइनँ। सिंगापुरको हेलिकप्टर इन्जिन विक्रेता कम्पनी साफ्रानले तीन महिनाअगाडि मेरो अनुकूलतामा काठमाडौंमा हेलिकप्टरको इन्जिनसम्बन्धी सेमिनार आयोजना गरेको थियो। त्यसमा मैले प्रमुख वक्ताको रूपमा भाग लिने सहमति दिएको थिएँ। यसरी गरिएको प्रतिबद्धता पूरा गर्नुपर्ने जिम्मेवारीबाट म पन्छिन चाहदिनँथेँ। 

उडान सुरक्षा विभाग प्रमुख फोनमा कुरा गर्दै अलि आत्तिएको भावमा मतर्फ हेर्दै सेमिनार हलबाट बाहिर निस्किनुभयो। उहाँको हाउभाउले कुनै अनिष्ट भएको शंका मनमा आउनु स्वाभाविक थियो। मैले आफ्ना भनाइहरू अविलम्ब समाप्त गर्दै सम्भावित अनिष्टको शंकामा आयोजकसँग बिदा मागेर हल बाहिर निस्केँ। 

मैले मन्त्रीसमक्ष त्यस दिनको कार्यक्रम अर्को कुनै उपयुक्त समयका लागि निर्धारण गर्न अनुरोध गरेको थिएँ। किनकि सो दिनको मौसम अनुकूल नहुने सम्भावना थियो। मेरो विकल्पमा अरू जान त सक्थ्यो, तर मौसमको विकल्प हुने सम्भावना थिएन। मन्त्रीको सचिवालयका सदस्यलाई पनि मैले मौसमको अवस्था जानकारी गराएको थिएँ।

मन्त्रीको सचिवालयका साथीहरूको अनुरोध एवं मौसमको सम्भावित प्रतिकूलताको जानकारीपश्चात् मन्त्रीज्यूले चुहानडाँडाको १५ गतेको यात्रा रद्द भएको जानकारी दिनुभयो। दिनहरू क्रमशः बित्दै गए। २०७५ चैत १४ गते बिहान नागरिक उड्यन प्राधिकरण सञ्चालक समितिको बैठक समाप्त भएपश्चात् चुहानडाँडामा १५ गते जानैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको कुरा मन्त्रीज्युले राख्नुभयो र पुनः मलाई सँगै जानुपर्ने कुरा राख्नुभयो। मैले पुनः असमक्षता प्रकट गर्दै मौसम र बाध्यतालाई तुलना गर्दै १५ गतेको उडान रद्द गर्न अनुरोध गरेँ, तर मन्त्रीज्यूको बाध्यताको भार प्रतिकूल मौसमभन्दा बढी थियो। सोही समयमा उक्त उडानमा यति समूहका अध्यक्ष आङछिरिङ शेर्पा पनि जाने जानकारी प्राप्त भएपछि मैले उहाँलाई फोन गरी प्रतिकूल मौसमको समयमा उडान गर्न उपयुक्त नहुने कुरा राखेँ, तर उहाँले पनि मन्त्रीज्यूको बाध्यताका कारण उडान गर्न लागेको जानकारी दिनुभयो। म उक्त उडानमा सहभागी हुन नसक्ने भएपछि एकजना उपमहानिर्देशकलाई सँगै लैजाने कुरा आयो। 

उक्त उडान विमानस्थल निर्माणको विषयसँग सम्बन्धित भएकाले इन्जिनियरिङ विभागका निर्देशक धु्रव भोचिमैयासँग जाने निश्चित थियो र सो विषय बजेट तथा कार्यक्रमसँग समेत सम्बन्धित भएकाले कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ पनि सँगै जाने तय भएको थियो। १५ गते बिहान एयर डाइनेस्टीको उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट निर्धारित समयभन्दा केही ढिला उडेको जानकारी प्राप्त भयो। बिहान करिब ११ बजे मैले माननीयमन्त्री अधिकारी, वीरेन्द्र श्रेष्ठ र ध्रुव भोचिमैयालाई फोन सम्पर्क गर्न प्रयास गरेँ। बारम्बारको प्रयासपछि ध्रुवजीसँग फोन सम्पर्क स्थापित भयो। मैले मौसमकै बारेमा जानकारी लिएँ। निजका अनुसार काठमाडौंदेखि चुहानडाँडासम्म जाने बाटोको मौसम राम्रो थिएन र कार्यक्रम छिटै सकाएर काठमाडौं फर्कन लागेको जानकारी प्राप्त भयो।

दिउँसो २ बजे म हेलिकप्टरको उडान सुरक्षासम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा सहभागी भई उडान सुरक्षा विषयमा केही बोल्दै थिएँ। उडान सुरक्षा विभाग प्रमुख फोनमा कुरा गर्दै अलि आत्तिएको भावमा मतर्फ हेर्दै सेमिनार हलबाट बाहिर निस्किनुभयो। उहाँको हाउभाउले कुनै अनिष्ट भएको शंका मनमा आउनु स्वाभाविक थियो। मैले आफ्ना भनाइहरू अविलम्ब समाप्त गर्दै सम्भावित अनिष्टको शंकामा आयोजकसँग बिदा मागेर हल बाहिर निस्केँ।

एयर डाइनेस्टीको हेलिकप्टर पाथीभरा क्षेत्रमा हराइरहेको छ र सम्पर्क विहीन छ। त्यहाँ द्विविधा के थियो भने चुहानडाँडा जाने हेलिकप्टरको अन्यत्र उडान कार्यक्रम थिएन र सिधै काठमाडौं आउनुपथ्र्यो। एयर डाइनेस्टीको अर्को हेलिकप्टर त्यो क्षेत्रमा उडानमा थिएन। मनमा अनेक आशंका आए मन्त्री लगायतको टोली गएको हेलिकप्टर दुर्घटनामा त परेन ! एक्कासि सबैको अनुहार आँखाअगाडि नाच्न थाले। म तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित वायुयान खोज तथा उद्दार केन्द्रका लागि प्रस्थान गरेँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने क्रममा सोही उडान दुर्घटनामा परेको स्पष्ट भइसकेको थियो। मेरो फोनको घन्टी लगातार बज्न थाल्यो। एकातिर दुर्घटनाको समाचारबारे बुझ्न खोज्ने पत्रकारले फोन गरिरहेका थिए भने, अर्कातिर उक्त दुर्घटनामा म परेको हो वा होइन भनी बुझ्न खोज्ने आफन्तजन, साथीभाइ एवं शुभचिन्तकले फोन गरिरहेका थिए।

दुर्घटना घटेपश्चात् नागरिक उडड्यन प्राधिकरणको महानिर्देशकको हैसियतमा जहाजको खोज तथा उद्धार लगायतका सम्पूर्ण विषयको जिम्मेवारी मेरै काँधमा आएको थियो। मेरा अभिन्न मित्रहरू रविन्द्र अधिकारी, वीरेन्द्र श्रेष्ठ, ध्रुव भोचिमैया, आङछिरिङ शेर्पा लगायत सबै जनाको सो दुर्घटनामा मृत्युभएको थियो। ती सबैसँग मेरो जीवनको लामो कालखण्ड अत्यन्त सामिप्यतामा बितेको थियो। एकातिर यी व्यक्तिलाई गुमाउनुको पीडा थियो भने अर्कोतिर खोजी तथा उद्धारको सम्पूर्ण कार्य मेरै नेतृत्वमा सम्पन्न गर्नुपर्ने बाध्यता थियो।

जहाज हराएको खबर चारैतिर फैलिएको थियो। सामान्यतः जहाज दुर्घटनामा परेपछि यात्रु तथा चालक दलका सदस्य जीवित रहने सम्भावना अत्यन्त न्यून रहने गर्दछ र सबै मिडियाले जहाज दुर्घटना भएको र मृत्यु हुनेको नामावली प्रकाशित गरिसकेका थिए, तर हामीहरूले जहाज र यात्रुहरूको वास्तविक अवस्था आधिकारिक रूपमा पत्ता नलाग्दासम्म मृत्युको बारेमा परिवारजनलाई सो समाचार भन्न सक्ने अवस्था थिएन। जसले गर्दा परिवारजनलाई हाम्रो संयन्त्रले आवश्यक सहयोग नगरेको अनुभव हुनु स्वाभाविक नै थियो। दुर्घटनाको दिन नै त्यसमा रहेका सबै यात्रु तथा चालक दलका सदस्यको मृत्यु भएको पुष्टि भएको थियो। मृतकको पार्थिव शरीरलाई सोही दिन काठमाडाैं ल्याउने प्रयास असफल भयो।

नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष एवं प्राधिकरणकै विभागीय उच्च तहका कर्मचारी परेको उक्त दुर्घटना युरोपियन युनियनले जारी गरेको सुरक्षा सूचीबाट छुटकारा पाउने हामीले गरेको निरन्तर प्र्रयासको बाटोमा ठूलो अवरोधका रूपमा अगाडि आउन सक्ने सम्भावना थियो भने हामीले बारम्बार युरोपियन युनियनलाई नेपालमा वायुयानले उडान सुरक्षाका नियम पालना गर्दछन् भन्ने हाम्रो भनाइ र गराइमा युनियनले गरेको अविश्वासमा थप पुष्टि भएको थियो। कुनै वायुयान दुर्घटना हुँदा समग्रमा देशलाई दुख्छ, तर त्यसको मात्रा उडानसँगको सम्बन्धको आधारमा बढी वा थोरै हुने गर्दछ। नियमन निकायको जिम्मेवारी बोकेको पदाधिकारीलाई यस्ता दुर्घटनाले अत्यन्त मर्माहत पार्ने अनुभूति मैले गरेको छु। यसबाट हुने धनजनको क्षति, उडान सुरक्षामा उठ्ने प्रश्न, आफ्नो जिम्मेवारी वहन गर्न नसकेको अनुभूत, नजिक तथा चिनेजानेका व्यक्तिहरू गुमाउँदाको पीडा, दुर्घटनाका कारण उडान सुरक्षामा हवाई यात्रुको भरोसामा आउने कमी एवं समय–समयमा अनावश्यक आइपर्ने अवरोधजस्ता विषयले लामो समयसम्म लखेटिरहेको हुन्छ।  

मैले लामो समय सँगै कार्यक्षेत्रमा बिताएका मित्रहरू एवं उक्त दुर्घटनामा गुमाएका मेरा अभिन्न मित्र रविन्द्र अधिकारीको मायालु स्वभाव, आङछिरिङको ठट्यौली कुराकानी, वीरेन्द्र श्रेष्ठको सादगी र गम्भीरपन एवं ध्रुव भोचिमैयाको मन्द मुस्कान सधैँभरि मेरो मानसपलमा घुमिराख्छ भने दुर्घटनापश्चात् त्यसको व्यवस्थापनमा संलग्न भएको त्यो समय एक दुःख स्वप्नको रूपमा जीवनभर रहिरहनेछ।

सोही दिन सम्माननीय प्रधानमन्त्री सबैको घरमा गई परिवारका सदस्यसँग दुःख साट्नुभयो र अप्ठेरो परिस्थितिमा सरकारको उपस्थित रहन्छ भन्ने बलियो आधार खडा गरिदिनुभयो। साथै, शोकसन्तप्त परिवारलाई भविष्यमा आइपर्ने अप्ठेरामा सरकारले सहयोग गर्ने विश्वास समेत दिलाउनुभयो। त्यसले राज्यको उपस्थिति हरेक क्षेत्रमा छ भन्ने अनुभूत समेत हामीलाई गरायो।

समय व्यतीत भएको पत्तो हुँदैन। उक्त दुर्घटना भएको पनि दुई वर्ष नाघिसकेको छ। हाम्रो परम्परा अनुसार, दुःखको एक वर्ष सकिएको छ, तर आफ्ना प्रियजनको असामयिक विछोड खाटा बनेर रहिरहन्छ, बेला–बेलामा खाटा उप्किएर घाउ आलो बनिरहन्छ। आफ्ना भोगाइ र विचारहरू पाठकसमक्ष ल्याउन पनि मलाई दुई वर्ष नै लाग्यो। समय नै सबै पीडाको मलम हो, यद्यपि राज्यको तर्फबाट भएका प्रतिबद्धताहरू पूरा नहुँदा परिवारका सदस्यको राज्यप्रतिको विश्वास पनि बिस्तारै धमिलो हुँदै गएको आभास भइरहेको छ। म आशावादी छु, उक्त दुर्घटनामा परेको व्यक्तिको परिवारका सदस्यले राज्यको तर्फबाट प्राप्त गर्ने राहत प्राप्त गर्न अब लामो समयसम्म कुर्नुपर्ने छैन।  

मैले बारम्बार नजान भनेको र म सहभागी नभएको सो उडान दुर्घटनामा परेपछि बारम्बार एउटा प्रश्न मेरोअगाडि आइरहन्छ। म उक्त उडानमा संलग्न भएको भए सो दुर्घटना टथ्र्यो, या म पनि सो दुर्घटनाको एकजना पात्रको रूपमा रहन्थे, प्रश्न अनुत्तरित छ, जसरी मन्त्रीज्यूले सो दिन उडान गर्नुपर्ने बाध्यता के थियो, सो दुर्घटनासँगै विलीन भयो र सधैँभरिका लागि अनुत्तरित रह्यो। अन्त्यमा उक्त दुर्घटनामा दिवंगत हुनुभएका मेरा प्रिय मित्रहरू, अन्य यात्रुहरू एवं चालकको आत्माको चीरशान्तिको कामना गर्दछु।

प्रकाशित: २२ फाल्गुन २०७७ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App