१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राष्ट्रका गहना होइन, नेपालका सद्भावनादूत

अमेरिकामा रहेका नेपाली कलाकार

कुनै कालखण्डमा नेपाली कलाकर्ममा स्थापित थुप्रै कलाकार यतिबेला अमेरिकामा छन्। सुरूमा मेरिल्यान्डको बाल्टिमोर आसपासमै उनीहरूको बसाइ हुन्थ्यो, अहिले बढ्दो संख्यासँगै बसाइ पनि अमेरिकाका दूरदराजका भिलसम्म विस्तारित छ। हातको औँलामा गन्न सकिने संख्या हजारौँको संख्यामा उक्लिएको छ। नाम लिएरै गन्न सकिने अवस्था परिवर्तन भएर अब नेपालमा कोही कलाकार लामो समयसम्म नभेटिए त्यो अमेरिकातिरै भेटिने अवस्था सिर्जना भएको छ।

कलाकारलाई अमेरिका आउन र बसोबासको कागजी प्रपञ्च मिलाउन तुलनात्मक रूपमा सजिलो छ। अमेरिकामा कुनै कार्यक्रम बनाएर अमेरिका छि-यो अनि ३ वा ६ महिनाको भिसा सकिने बेला ‘इबी–वन’ भनिने एक्स्टा अर्डिनरी एबिलिटी क्याटगरीको ग्रिन कार्डका लागि आवेदन दियो। मल्टी रिइन्ट्री भिसा लागेको भए एकपटक नेपाल फक्र्यो, सबै कागजी बन्दोबस्त मिलायो। त्यसपछि अमेरिका आयो, जब ३ वा ६ महिनाको भिसा सकिने बेला हुन्छ अनि ‘इबी–वन’ का लागि आवेदन दियो। यसरी आवेदन दिने कलाकारले कथाले मागेजस्तै कागजात र पटकथा मिलाएमा सामान्यतः एक वर्षभित्र ग्रिनकार्ड हात पार्छन्।

यही प्रक्रियाबाट धेरै नेपाली कलाकारले अमेरिका बसाइको खाता खोलेका छन्। पछिल्लो समय अमेरिकामा नेपाली मूलका कानुन व्यवसायीको संख्या बढेसँगै केहीले नेपालबाटै आवेदनको चाँजापाँजो मिलाइदिँदा नेपालमै ग्रिनकार्डको प्रपञ्च मिलाएर आउने पनि छन्। केही अमेरिकी नागरिकसँग विवाह गरेर आएका छन्, केहीले अमेरिकी नागरिक भइसकेका नेपालीसँग विवाह गरेर आफ्नो स्टाटस एडजस्ट गरेका छन्। केही स्टारकिड्स आमाबाबुको कागजात बनेपछि त्यही आधारमा आएका छन्। सानै होस् तर डिभी लट्री परेर आउने कलाकारको संख्या पनि अमेरिकामा भेटिन्छ।

सुरुसुरुमा नेपाल छाडेर अमेरिका आउने कलाकारलाई पलायनवादी भनिन्थ्यो र अराष्ट्रिय तत्वकै रूपमा चित्रण गर्ने गरिन्थ्यो। पछिल्लो समयमा त्यो तहको गाली गर्न भने छाडिएको छ।

यसरी अमेरिका बस्ने कागजपत्रको प्रपञ्च मिलाएकामध्ये अधिकांश कलाकार यही बसेका छन्, केहीको कागजी प्रपञ्च नमिलेर फर्किएका छन्, केही मिले पनि फर्किएका छन्। केही ग्रिनकार्डकै हैसियतमा फर्किएका छन्, केही अमेरिकी नागरिक भएर पनि फर्किएका छन्। यही क्रममा केहीले नागरिकता नै त्याग्नुपर्ने भयो भने केहीले नेपालमै भिसा शुल्क तिरेर अमेरिकी नागरिकता जोगाइरहेकै छन्।  

अमेरिकामा स्थायी बसोबासको कार्ड हरियो हुने भएकाले यसलाई ग्रिनकार्ड भन्ने आमचलन छ। अमेरिकी ग्रिनकार्ड १० वर्षको हुन्छ। ग्रिनकार्ड लिएको पाँच वर्ष पूरा गरेपछि अमेरिकी नागरिकका लागि आवेदन दिन योग्य हुन्छ। अमेरिकी नागरिकसँग विवाह गरेका हकमा भने तीन वर्ष पूरा गरेपछि नै अमेरिकी नागरिकका लागि आवेदन दिन पाइन्छ। त्यसपछि केही प्रक्रिया पूरा गरेर अमेरिकी नागरिक हुन पाइन्छ। सामान्यतः ९० प्रतिशत आवेदकले यो प्रक्रिया छिचोलेर नागरिक भएको तथ्यांक छ।  

अमेरिकी ग्रिनकार्डधारी नेपाली कलाकार कतिले पाँच–तीनवर्षे अवधि पूरा गरेर अमेरिकी नागरिकता लिए ? कतिले त्यो अवधि पूरा नभएकाले पर्खिरहेका छन् ? कतिले त्यो अवधि पूरा गरेर पनि अमेरिकी नागरिकता लिएका छैनन् ? यसको यकिन तथ्यांक पाइँदैन।

अमेरिकामा रहेका अधिकांश नेपाली कलाकार आफ्नो नागरिक अवस्था सार्वजनिक गर्न चाहँदैनन्। यसका अनेक कारण छन्, त्यसमध्ये पहिलो कारण अझै पनि नेपालमा अमेरिकी नागरिक हुनेभन्दा पनि नेपाली नागरिकता त्याग्ने कलाकारलाई सम्मानका दृष्टिले नहेरिनु नै हो। अर्को कारण पनि छ, त्यो हो यसको पृष्ठभूमि। नेपालमा हरेक कलाकारलाई राष्ट्रका गहना भनेर पाठ पढाइएको हुन्छ। त्यो पाठ हरेक नेपाली कलाकारको दिमागमा गहिरोसँग गडेको हुन्छ। त्यसैले उनीहरू राष्ट्रिय गहनाको त्यो पगरी फुकालिसके पनि त्यो बिनाको रित्तो टाउको देखाउन चाहँदैनन्।

कलाकारिता सधैंभरि चलिरहने काम पनि होइन, कुनै बिन्दुमा कलाकारहरू अवकाश हुनुपर्ने हुन्छ। त्यसपछि के गर्ने ? यसको उत्तर सहज नहुने भएकाले धेरै कलाकार आफ्नो कलाकारिताको आयु घटाएरै पनि अमेरिका बसाइ सर्न बाध्य भएका हुन्। यसलाई नियति, नियत, परिस्थिति जे भने पनि नाजायज भनिहाल्न चाहिँ मिल्दैन।

राष्ट्रका गहना भनिएका नेपाली कलाकार अमेरिका बसाइ सर्नु ठीक कि बेठीक ? नेपाली कलाकार अमेरिका बसाइ सरे जत्तिकै जेठो छ यो प्रश्न। तर, यो वस्तुगत प्रश्नको उत्तर विषयगत मात्रै पाइन्छ, त्यो पनि विभाजित रूपमा। अमेरिका आउने कलाकार, उनीहरूका परिवार र समर्थक ठीक भन्छन्। अमेरिकामै रहेका अन्य नेपाली पनि बेठीक भन्न सक्दैनन्। यसका अतिरक्त आजको भूमण्डलीकरणको युगमा जन्मेको देश र नागरिक भएको देशको व्यावहारिक परिभाषा बुझ्नेले पनि यसलाई अस्वाभाविक रूपमा लिँदैनन्। यी कोटिबाहेकका अन्य नेपालीले भने अझै पनि यसलाई निको मान्न सकेका छैनन्।

सुरुसुरुमा नेपाल छाडेर अमेरिका आउने कलाकारलाई पलायनवादी भनिन्थ्यो र अराष्ट्रिय तŒवकै रूपमा चित्रण गर्ने गरिन्थ्यो। पछिल्लो समयमा त्यो तहको गाली गर्न भने छाडिएको छ। परिणामतः उनीहरूले त्यो तीतो गालीबाट भने लगभग मुक्ति पाएका छन्।  

यो अक्षरकर्मी पनि यतिबेला अमेरिकामा छ। हिजो नेपाल रहँदा होस् या आज अमेरिका रहँदा, मेरो समान धारणा छ। आजको विश्व भूमण्डलीकरण युगमा कोही पनि मानिसको जन्मेको देश र नागरिकता भएको देश फरक हुन सक्छ। जन्मेको देश र नागरिकताको देश एउटै बनाउन सक्नु गौरवको विषय हो र त्यस्ता व्यक्तिलाई एक किसिमले भाग्यमानी र अर्को किसिमले सम्मान गर्नुपर्ने भन्न सकिएला। तर, कसैले जन्मेको देश र नागरिकताको देश फरक बनायो भन्दैमा त्यसलाई अपराधकर्म भन्नु पनि ठीक होइन। कुनै पनि व्यक्तिका लागि जन्मेको देश उसको चाहनाले हुने होइन तर नागरिकताको देश भने उसको चाहेको देश पनि हुन सक्छ। हामी जो–कोहीले उसको छनोट गर्ने नैसर्गिक अधिकारको सम्मान गर्नुपर्छ। नेपाली कलाकारलाई पनि त्यो छुट छ र हामीले उनीहरूको छनोटलाई अपमान गर्नु हुँदैन।

नेपाली कलाकारको हकमा के पनि हो भने कलाकारिता उनीहरूको पेसा हो। आज त सबैका लागि यो व्यावसायिक हुन सकेको छैन भने नेपाली कलाकार अमेरिका आउन थालेको तीन दशकअघि त त्यस्तो कुराको कल्पना पनि गर्न सकिँदैनथ्यो। फेरि कलाकारिता सधैंभरि चलिरहने काम पनि होइन, कुनै बिन्दुमा कलाकारहरू अवकाश हुनुपर्ने हुन्छ। त्यसपछि के गर्ने ? यसको उत्तर सहज नहुने भएकाले धेरै कलाकार आफ्नो कलाकारिताको आयु घटाएरै पनि अमेरिका बसाइ सर्न बाध्य भएका हुन्। यसलाई नियति, नियत, परिस्थिति जे भने पनि नाजायज भनिहाल्न चाहिँ मिल्दैन।

अमेरिकामा अझै पनि सामान्यतः दुई खालका नेपाली कलाकार भेटिन्छन्। एक खालकाले अमेरिकी नागरिकता लिइसके। अमेरिकी नागरिकता लिइसक्नु भनेको नेपाललाई जन्मेको देशमा खुम्च्याउनु हो। अर्को थरी अझै पनि अमेरिकी ग्रिनकार्डकै अवस्थामा छन्, उनीहरू नेपालकै हरियो राहदानी चलाइरहेका छन्। अझ यसमा पनि दुई थरीका छन्, पहिलो थरी नेपाली नागरिक नै रहन चाहने जसले ग्रिनकार्ड पाएको पाँच वर्ष भइसकेर पनि अमेरिकी नागरिकता लिएका छैनन्। दोस्रो थरी जसको अमेरिकी नागरिक हुने समय नै पुगेको छैन र उनीहरू नेपाली नागरिक रहेका छन्।

यी सबैखाले नेपाली कलाकारको सम्मान गर्नुपर्छ। तर, जसले अमेरिकी नागरिक हुने समय पुगेर पनि नेपाली नागरिकता नै कायम राखिरहेका छन्, उनीहरूलाई उपल्लो किसिमको सम्मान गर्नुपर्छ। अमेरिकामा केही नेपाली कलाकार यस्ता पनि छन्, जसले अमेरिकी नागरिकता लिइसके पनि त्यो लुकाएर अझै नेपाली नागरिक नै रहिरहेको भ्रम दिइरहेका छन्, उनीहरू भने ढोंगी र पाखण्डी हुन्। यो कुनै लुकाउनुपर्ने विषय होइन।  

एउटा प्रख्यात भनाइ छ, ‘नसोध देशले तिमीलाई के दियो, सोध देशलाई तिमीले के दियौ ?’ यो कसको भनाइ हो, यकिन भन्न नसकिए पनि विभिन्न भर्सनमा समान आसय भएका भनाइ सुन्न र पढ्न पाइन्छ। यही आसय अग्रज नेपाली चलचित्रकर्मी तुलसी घिमिरेले चलचित्र दक्षिणाको पे–अफ लाइन बनाउनुभएको छ। यहाँ यो भनाइ यस सन्दर्भमा उल्लेख गरिएको छ कि आज पनि अमेरिकामा रहेका कतिपय कलाकार नेपालले आफूलाई के दियो भनेर पनि प्रश्न गरिरहेका छन् ? यो प्रश्नको मुखमा बुजो लाग्ने ओठे जवाफ पनि हुन सक्छ। केही कलाकारको त्यस्तो प्रश्नका लागि त्यस्तो जवाफ दिनु बाँकी धेरैका लागि अन्याय हुन सक्छ, त्यसैले अहिले नै त्यस्तो जवाफ दिने बेला भइसकेको छैन।  

अहिलेका लागि यति भन्न सकिन्छ, उनीहरूलाई अमेरिकाले कागजी रूपमा पत्याउने गरी एक्स्ट्रा अर्डिनरी कलाकार बनायो। अमेरिकामा रहेर त्यही क्षेत्रको र त्यही हैसियतको काम गर्न नपाएला, पाइएको छैन नै। तर, अमेरिकाको जुनसुकै कुनामा रहेर जे काम गरे पनि एक नेपालीका रूपमा सभ्य व्यवहार गरेर नेपाल र नेपालीको उच्च छवि बनाउन सकिन्छ। कथाले मागेअनुसार एउटा नायक–नायिकाले गर्ने काम पनि त्यही नै हो। तर, यो रिलमा होइन, रियलमा गर्नुपर्छ। हामीले त्यसो गर्न सक्यौँ भने रियल जीवनमा नायक–नायिका त होइन्छ नै, आफ्नो जन्मभूमिप्रति सच्चा प्रेम र भक्तिभाव पनि समर्पण गरेको ठहरिन्छ।

नेपाली चलचित्रका लागि करोडौँ अक्षर कोरेर पनि यो अक्षरकर्मीले देशसँग कहिलै केही माग्ने हिम्मत गरेन। आज अमेरिकामा छु, नागरिकताले पनि नेपाली नै छु, जहाँ छु सभ्य व्यवहार गरेर मेरो जन्मभूमिको छवि उच्च बनाउने प्रयत्न गरिरहेको छु। मेरो विचारमा, विदेशमा रहेका सबै नेपाली नेपालका सद्भावना दूत हुन्। उनीहरूले गर्ने व्यवहारले नै नेपाल र नेपालीको छवि बन्ने हो।  

अमेरिकामा रहेका नेपाली कलाकारमा मेरो यही सादर अनुरोध छ। तपाईंहरू कुनै बेला आफूलाई नेपाल राष्ट्रका गहना ठान्नुहुन्थ्यो होला, तर अब त्यो भूमिका परिवर्तन भएको छ। अब अमेरिकामा तपाईं हुने भनेको नेपालको सद्भावनादूत हो, ब्रान्ड एम्बेसडर हो। जहाँ रहेर जे गरे पनि सभ्य व्यवहार गरेर नेपाल र नेपालीको उच्च छवि बनाउनुहोस्। त्यसो गर्नुभयो भने तपाईंलाई नेपालको राष्ट्रिय गहना हुनबाट पनि कसैले वञ्चित गर्न सक्दैन।

प्रकाशित: २७ मंसिर २०७७ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App