प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले पार्टीकी स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई बोलाएरै भेटे। पाण्डे तिनै नेता हुन्, जसलाई चार महिनाअघि पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो।
तर, नयाँ वर्षको शुभकामना दिन फोन गरेका ओलीले पाण्डेलाई शुभकामनासँगै भेटका लागि निम्तोसमेत दिए। त्यसअनुरूप पाण्डे मङ्गलबार (आज) ओली भेट्न प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगिन्। उनले त्यहाँ झन्डै ४५ मिनेत बिताइन्। उलने आफ्नो 'भुइँमान्छे' पुस्तक ओलीलाई दिइन्।
यसपछि उनीहरूबीच पार्टी राजनीतिबारेको कुरा थालनी भयो। त्यसमा निलम्बनको विषय नआउने कुरै भएन। ओलीले पाण्डेलाई 'चित्त नबुझेको भए पनि आफूभित्रै राख्नुपर्थ्यो' भनेर भने। जवाफमा पाण्डेले आफूलाई लागेको कुरा आफूले बोल्ने गरेको बताइन्।
तर, रोचकचाहिँ के भने आजका दिनसम्म पाण्डेलाई पार्टीको निलम्बनको पत्र नै प्राप्त भएको छैन। उनले त्यही कुरा ओलीलाई सुनाइन्। ओलीले अचम्मित मान्दै सोधे, 'ए! आजसम्म पत्र नै प्राप्त भएको छैन ?'
पाण्डेले थपिन्, 'न कारबाहीको पत्र हात पर्यो,न फुकुवाकै पत्र प्राप्त भयो।'यसपछि ओली लचक सुनिए, उनले भने, 'कारबाहीको पत्र नै हात परेको छैन भने अब केको कारबाही।'
स्मरणीय छ-पाण्डे गत पुस १० गते ६ महिनाका लागि निलम्बित भएकी हुन्। त्यसबेला भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टीले लिएको १० रोपनी १४ आना जग्गा लिन नहुने विचार व्यक्त गर्दा पाण्डे निलम्बनमा परेकी थिइन्।
तर, अहिले भने उनका प्रति ओली नरम देखिएका छन्। नागरिकसँग पाण्डेले भनिन्, 'उहाँले भेट्न बोलाउनुभयो। म गएँ र मेरो पुस्तक पनि उहाँलाई दिएँ। शुभकामना आदानप्रदान भयो। र, कारबाहीको विषय आयो। मैले पत्र नै प्राप्त भएको छैन भन्दा उहाँले अब भनेपछि त त्यो कारबाही नै भएन भन्नुभयो।'
भनेपछि अब कारबाही फुकुवा भयो ? भन्ने थप जिज्ञासामा उनले भनिन्, 'त्यो मलाई थाहा हुँदैन। अबको सचिवालयले केही गर्ला कि।'
त्यसो त ओलीलाई अहिले त्यति सजिलो छैन। बाहिर प्रधानमन्त्रीका रूपमा र पार्टीभित्र अध्यक्षका रूपमा जवाफदेही बन्नुपर्ने चुनौती उनमा छ। प्रधानमन्त्रीका रूपमा उनको आलोचना भइरहेको छ भने पार्टीभित्र पनि सहज छैन।
आन्दोलन र अराजक गतिविधि झन् चर्को हुँदै गएको छ, अर्थतन्त्र चलायमान छैन, युवा पलायन बढेको-बढ्यै छ। यसले प्रधानमन्त्रीका रूपमा ओलीको आलोचना बढिरहेको छ। अवस्था यस्तो बनेको छ कि उनी जहाँ जान्छन्, त्यहीँ 'मुर्दावाद'को नाराबाजी सुनिन्छ।
अर्कोतिर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरू उनका प्रति आक्रामक सुनिन्छन्। डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउदलगायतका नेताहरूले ओलीको आलोचना गरिरहेका हुन्छन्। ओलीले कांग्रेसबाट जुन रूपमा सहयोग हुनुपर्ने थियो, त्यो तहमा नपाइरहेको महसुस गरिरहेका छन्।
अर्कोतिर पार्टीभित्र उनलाई सहज छैन। पार्टीकी पूर्वउपाध्यक्ष पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएर ११औं महाधिवेशनबाट पार्टी नेतृत्व गर्ने मनसायमा पुगेकी छन्। उनले आफ्ना वक्तव्यहरूमा त्यही आशयका बोल्नी बोल्ने गर्छिन्। पार्टीभित्रको एउटा पङ्क्तिले भण्डारीलाई उचाल्ने काम गरिरहेको छ। यसले पनि ओलीलाई सहजता घटाइदिएको छ।
प्रधानमन्त्री र पार्टी अध्यक्षको तहमा देखिएका यस्ता अनेकन् चुनौती र अप्ठ्याराका बीचमा ओलीले पाण्डेजस्ता नेताहरूको साथ अपरिहार्य ठान्न थालेका छन्। उसो त पाण्डे पार्टीकी एक इन्मान्दार र प्रभावशाली क्याडर हुन्। मुख्यत: सङ्गठन र वैचारिकीमा काम गर्ने पाण्डेजस्ता क्याडरले नै आफूलाई बचाउन सक्ने बुझाइमा ओली पुगेको एमालेकै कतिपय नेताहरू बताउँछन्।
'उहाँले अलिक हतारमा निर्णय लिनुभयो त्यसबेला। हामीले सम्झाएका पनि थियौँ,' एक नेता नागरिकसँग भने, 'जे होस् यहाँसम्म आउँदा उहाँले पनि हतार नै भयो कि कसो भन्ने महसुस गर्नुभयो होला। मलाई के लाग्छ भने उहाँलाई मलाई विन्दा पाण्डेहरू जस्तै नेताहरूले सहयोग गर्न सक्छन् भन्ने लाग्यो होला। त्यही भएर आफैँले बोलाएर भेट्नुभयो।'
यो पनि पढ्नुहोस्
पार्टीबाट निलम्बित पाण्डेलाई ओलीले नै बोलाएर भेटेप्रकाशित: २ वैशाख २०८२ २०:५८ मंगलबार