६ वैशाख २०८१ बिहीबार
कला

मुन्दुम के हो ?

‘मुन्दुम’ किरातीहरूको मौखिक वाङ्मय हो। हालसम्म मौखिक परम्परामै जीवित रहेको र  किरातीको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–संगीत, धर्म–दर्शन आदिको समग्र विवरण पाइने हुनाले ‘मुन्दुम’लाई मौखिक वाङ्मय भनिएको हो।  

‘किरात’ अत्यन्त प्राचीन शब्द हो। यसले उद्बोधन वा द्योतन गराउने जाति, समुदाय वा सभ्यता स्वतः प्राचीन हुने भयो। संसारकै प्रथम लिखित ग्रन्थ मानिएको ऋग्वेददेखि नै किरातबारे चर्चा हुँदै आएको पाइन्छ। परन्तु किरातभित्र कुन कुन जाति र समुदाय पर्छन् भन्नेमा मतैक्यता पाइँदैन। खास गरेर राई, लिम्बु, सुनुवार, याक्खा आदि जातिले आफूलाई किरात भनी स्वीकार गरेको हुँदा हाल यिनै जातिलाई किराती भनेर चिनिन्छ। यद्यपि अन्य थुप्रै जाति र सम्प्रदाय किरातभित्र पर्छन्।  

सम्पूर्ण किरातीको प्राचीन सांस्कृतिक इतिहास र साझा पहिचान नै मुन्दुम हो। त्यसैले मुन्दुम समग्र किरातीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि हो। किराती जातिमा बहुभाषिक प्रचलन पाइन्छ। किरातीभित्र पर्ने राई जातिमा मात्रै २०औँ भाषिक समुदाय पाइन्छन्। उनीहरूले आ–आफ्नो भाषा अनुसार मुन्दुमलाई सम्बोधन गर्छन्। ‘मुन्दुम’लाई लिम्बुले मुन्धुम भन्छन् भने याक्खाले मुक्तुम। त्यस्तै, सुनुवारले मुन्दम÷मुग्दुम, साम्पाङले मुद्दुम, कुलुङले रिद्दुम, चाम्लिङले मुदुम÷मुन्दम, मेवाहाङ÷नेवाहाङले मुद्दुम, बान्तवाले मुन्दुम, लोहोरुङले पेल्लाम÷मुन्दुम, वाम्बुलेले मुक्तुम/मुक्दुम र याम्फूहरूले मिन्दुम भन्छन्। यसरी ‘मुन्दुम’लाई किरातीभित्रका विभिन्न भाषिक समुदायले आ–आफ्नो भाषामा विभिन्न शब्दले सम्बोधन गर्छन्। विभिन्न जातिले आ–आफ्नो भाषामा सम्बोधन गरिने भए पनि वास्तवमा ‘मुन्दुम’को सारभूत अर्थमा ठूलो भेद भेटिँदैन। वैरागी काइँलाका अनुसार लिम्बू जातिमा ‘मुन’को अर्थ गति वा गतिमय स्थिति र ‘धुम’को अर्थ कठिन शक्ति वा बल हुन्छ। यसरी नै पुमा भाषामा ‘मुन’को अर्थ झारफुक वा उपचार गर्नु र ‘दुम’को अर्थ बोली, कथन वा शास्त्र हुन्छ। बान्तवामा ‘मुन’ वा मिनको अर्थ मान्छे र ‘दुम’को अर्थ बोली वा कथन अर्थात् मान्छेको बोली वा कथन भन्ने हुन्छ। चाम्लिङमा ‘मुन’को अर्थ सिर्जना गर्नु, उत्पन्न वा जन्म हुनु र ‘दुम’को अर्थ ‘बोली’ हुन्छ। यसरी ‘मुन’ अथवा ‘मिन’को अर्थ मानिस र ‘दुम÷धुम÷तुम’को अर्थ भनाइ, बोली वा अभिव्यक्ति बुझिन्छ।  

यसले मुन्दुम (यहाँ अध्ययनको सजिलोका लागि ‘मुन्दुम’ शब्द नै प्रयोग गरिएको छ)को अर्थ मान्छेको अभिव्यक्ति वा कथन हो। यहाँ यो विचारणीय छ– मुन्दुम भनेको कथन, भनाइ वा अभिव्यक्त हो भने कस्तो, कसको अभिव्यक्ति वा भनाइचाहिँ मुन्दुम हो ? अझ प्रस्ट भनौँ, वस्तुतः मुन्दुम के हो ? यही समस्या र अन्योलता नै मुन्दुमसम्बन्धी चुनौती हो।

मुन्दुमभित्र भाषा, साहित्य, संस्कृति, दर्शन, ज्ञान, विज्ञान समाजशास्त्र, भूगोल, कला, गीत–संगीत आदि प्राप्त गर्न सकिन्छ। त्यसैले मुन्दुम मौखिक परम्परामा एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको मौखिक वाङ्मय हो। यसमा संगीत पाइन्छ, तर यो आफैँमा गीत–संगीत होइन। यसमा इतिहास पाइन्छ, तर यो स्वयंमा इतिहास मात्र होइन। यसमा दर्शन पाइन्छ। मुन्दुम दर्शनसँगै किरातीहरूको समग्र जीवनपद्धति हो।

मुन्दुमका प्रयोक्ता, भोक्ता वा अध्येताले आ–आफ्ना ढंगले मुन्दुमलाई चिनाउने, व्याख्या विश्लेषण गर्ने गरेको पाइन्छ। वास्तवमा मुन्दुमलाई बुझाउन सर्वप्रथम यसको समग्र आयामलाई बुझ्न जरुरी हुन्छ। तब मात्र मुन्दुमी आलोकमा यसलाई व्याख्या–विश्लेषण गर्न सकिन्छ। कतिपयले मुन्दुमलाई किराती जीवन दर्शन हो भन्ने गरेको पाइन्छ, तर त्यो गलत हो। किनभने मुन्दुममा दर्शन पाइन्छ तर मुन्दुम स्वयं दर्शन होइन। यसरी नै कतिपय अन्वेषकले यसलाई धामीझाँक्री वा माङ्पा, फेदाङ्माको मन्त्र, संस्कार, अनुष्ठान विधि हो भन्छन्, जसमा पूर्णता छैन। किनभने, मुन्दुम यो विषयमा मात्र सीमित छैन। यसैगरी कसैले मुन्दुमलाई प्रदर्शनमूलक प्रस्तुतिका रूपमा औँल्याएको देखिन्छ, कसैले यसलाई किराती पुर्खाको ऐतिहासिक विवरण भन्ने गरेको पाइन्छ। तर, यी विचार र परिभाषाले पनि मुन्दुमको बहुआयामलाई समेट्न वा सम्बोधन गर्न सकेको देखिँदैन। त्यसो भए मुन्दुम के हो त ? यही जिज्ञासा र कुतूहलतालाई समाधान गर्ने उद्देश्यमा प्रस्तुत लेख केन्द्रित छ। यहाँ सरल तरिकाले मुन्दुमको निरुपण गर्ने प्रयास गरिएको छ।  

मुन्दुम के हो भनी बुझ्नका लागि सर्वप्रथम यसका विशेषता चिन्न जरुरी हुन्छ। यसको प्रमुख विशेषता देहाय छन्: 

श्रुति/मौखिक परम्परा
मुन्दुम मौखिक परम्परामै हालसम्म जीवित रहेको पाइन्छ। यसको ज्ञाता, प्रयोक्ता र वक्ता सर्वसाधारण नभई विशेष प्रतिभाशाली एवं शक्तिप्राप्त, सिद्धिप्राप्त व्यक्तिहरू हुन्छन्, जसलाई किरातीले आ–आफ्नो भाषा अनुसार कुबी, माङ्पा, बिजुवा, नाक्छोङ, फेदाङ्मा आदि भन्ने गर्छन्। यिनै विशेष व्यक्तिले नै यसलाई बचाएका र हस्तान्तरण गरेका हुन्छन्। उनीहरूका मुन्दुमी ज्ञान लिखित रूपमा नभई मौखिक रूपमा रहेको पाइन्छ। भर्खर–भर्खर किरातीले मुन्दुमलाई लिखित रूपमा निर्माण गर्न थालेका छन्। मुन्दुम निरन्तर मौखिक तथा श्रुति परम्परामा एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म अनवरत हस्तान्तरण हुँदै आएको मौखिक वाङ्मय हो। त्यसैले यसको प्रमुख विशेषता मौखिक तथा श्रुति परम्परा हो।  

गेयात्मकता  
मुन्दुमको अर्को विशेषता गेयात्मकता हो। हुन त संसारका प्रायः धार्मिक, दार्शनिक विचार र चिन्तन मौखिक परम्परामै हजारौँ वर्षसम्म बाँचेको पाइन्छ। वेद पनि हजारौँ वर्षसम्म श्रुति परम्परामै जीवित थियो। श्रुति, स्मृति परम्परामै रहेको वेदलाई विभिन्न ऋषिले संकलन गरेर वेदको निर्माण गरे जस्तै मौखिक परम्परामा रहेको मुन्दुमलाई पनि किरातीले भर्खर–भर्खर संकलन कार्य थालनी गरेका छन्। मुन्दुमका सम्पूर्ण कथन गेयात्मक छन्। वेदका ऋचा भनेको लयात्मक रूपमा प्रस्तुत भएका मन्त्रको संग्रह हो भने मुन्दुमी कथ्यहरू पनि वेदका ऋचाझैँ लयात्मक अर्थात् गेयात्मक नै हुन्छन्। वेदका ऋचा भएझैँ मुन्दुमका रिसिया हुन्छन्। मुन्दुम अध्येता पृथ्वीराज मुकारुङका अनुसार, ‘रि’को अर्थ मिलाएर, लयात्मक रूपमा र सियाको अर्थ गाउनु हो। यसरी वेदका ऋचा वाचकलाई वा ऋचा सर्जकलाई ऋषि भनिन्छ भने मुन्दुमका रिसिया वाचक वा सर्जकलाई, कुबी, नाक्छो, फेदाङ्मा भनिन्छ। समग्रमा भन्दा सम्पूर्ण मुन्दुमी अभिव्यक्ति गेयात्मक रूपमा प्रस्तुत गरिन्छ। वेदको मन्त्र वाचन गर्दा स्वरहरूको मात्रालाई उदात्त, अनुदात्त र स्वरित भने जस्तै मुन्दुम गाउँदा पनि अत्यन्तै उच्च रागात्मक आरोह–अवरोहको सांगीतिक नाद र आन्दोलन उच्चारित हुने गर्छ। यसरी हेर्दा के के देखिन्छ भने मुन्दुम गेयात्मक प्रस्तुति हो, लय वा राग मुन्दुमको प्राणभूत तत्व हो।

धार्मिकता  
मुन्दुम किरातीको धार्मिक तथा दार्शनिक आधार वा स्रोत हो। किरातीको सांस्कृतिक, धार्मिक एवं सम्पूर्ण जीवन पद्धति नै मुन्दुमद्वारा निर्देशित हुने हुनाले मुन्दुम किरातीको धर्म–संस्कृतिको आधारस्तम्भ पनि हो। मुन्दुम पुर्खाबाट प्राप्त अनुभवजन्य ज्ञान भएको हुँदा के गर्न हुन्छ, के गर्न हुँदैन, किन गर्ने किन नगर्ने, किन खाने, किन नखाने, कहाँ गर्ने, कसरी गर्ने, कोद्वारा गर्ने, कहिले गर्ने– जस्ता अनुभवजन्य ज्ञानभण्डार पनि भएको हुँदा मुन्दुम किरातीको धर्मदर्शनको आधार र स्रोत हो।  

प्राचीनता
मुन्दुमको महत्वपूर्ण विशेषता प्राचीनता हो। मुन्दुमी ज्ञान र परम्परा कुन समयदेखि विकसित हुँदै आएको हो भनेर ठ्याक्कै भन्न सकिने कुनै ठोस आधार त पाइँदैन। यद्यपि यसको भाषिक स्वरूप, विषय वर्णन र वर्णित परिवेश र पर्यावरणलाई हेर्दा मुन्दुमी ज्ञान र परम्परा किरातीको पाषाण युगदेखि नै प्रारम्भ भएको देखिन्छ। मुन्दुममा प्राचीन किराती पुर्खाले जीवन भोगाइका क्रममा खाएका, हिँडेका, घुमेका, बाँचेका, संघर्ष गरेका समग्र विवरण पाइन्छन्, जुन अत्यन्त प्राचीन देखिन्छ। त्यसैले मुन्दुम प्राचीन सम्पदा हुन्।  

भाषिक विविधता  
किरातीले बोल्ने भाषालाई भाषाविद्हरूले भोट बर्मेली भाषा परिवार अन्तर्गत राखेर अध्ययन अनुसन्धान गरेको पाइन्छ। मुन्दुमलाई किरातभित्र पर्ने विभिन्न भाषिक समुदायले वर्तमान समयमा बोल्ने भाषाअनुसार फरक–फरक रूपमा सम्बोधन गर्ने गर्छन् परन्तु मुन्दुमी भाषा वर्तमान समयमा बोल्ने भाषाभन्दा फरक हुने गर्छ। यो कथ्य परम्परामा भन्दा क्लिष्ट र फरक हुने हुँदा मुन्दुमी भाषा सर्वसाधारणले बुझ्न सक्दैनन्, किनभने मुन्दुमी भाषा मूल भाषा भएकाले यो केही कठिन र फरक भएको हो। वर्तमान समयमा बोलिने किरातीहरूको मूल भाषा भएकाले माउ भाषा हो, मुन्दुमी भाषा। वर्तमान समयमा भने जुन–जुन भाषिक समुदायको नाक्छो, माङ्पा, फेदाङवा छ, सोही भाषामा पनि मुन्दुम वाचन गर्ने गरिन्छ। त्यसैले यसको विशेषता भाषिक विविधता पनि हो।  

‘मुन्दुम’लाई लिम्बुले मुन्धुम भन्छन् भने याक्खाले मुक्तुम। त्यस्तै, सुनुवारले मुन्दम/मुग्दुम, साम्पाङले मुद्दुम, कुलुङले रिद्दुम, चाम्लिङले मुदुम/मुन्दम, मेवाहाङ/नेवाहाङले मुद्दुम, बान्तवाले मुन्दुम, लोहोरुङले पेल्लाम/मुन्दुम, वाम्बुलेले मुक्तुम/मुक्दुम र याम्फूहरूले मिन्दुम भन्छन्।

आख्यान विविधता  
मुन्दुममा विभिन्न विषय र क्षेत्रको आख्यानात्मक वर्णन पाइन्छ। विभिन्न मिथकीय घटना, पात्र र संवादका अतिरिक्त पुर्खाका वीरता, यात्रा, विवाह, युद्ध, दैवी तथा प्राकृतिक शक्ति, सृष्टि, विनाश आदिको वर्णन मुन्दुमभित्र प्राप्त गर्न सकिन्छ। यी विभिन्न क्षेत्र र विषयका वर्णनको सार एउटै भए पनि मौखिक परम्परा तथा श्रुति परम्पराबाट आएकाले भिन्न–भिन्न ठाउँमा भिन्न–भिन्न वर्णन पाइन्छ। सृष्टिको उत्पत्ति कथा, मानिसको उत्पत्तिको कथा, जीवजन्तुको उत्पत्ति कथा तथा अन्य मिथकीय विवरणमा विविधता भेटिनु मुन्दुमको अर्काे विशेषता हो।  

सीमितता  
मुन्दुमी ज्ञान जुनसुकै व्यक्तिमा हुँदैन। यसको वक्ता, भोक्ता र सर्जक विशेष ज्ञानप्राप्त, शक्तिप्राप्त वा सिद्धप्राप्त व्यक्तिका रूपमा स्थापित कुबी, धामी, माङ्पा, नाक्छोङ, फेदाङ्मा आदिमा मात्र यसको ज्ञान वा बोध हुन्छ। मुन्दुमको महत्वपूर्ण विशेषता भनेकै यसको सीमितता हो। हुन त मुन्दुम किराती समाजमा व्यापक तथा प्रगाढ रूपमा छरिएको हुन्छ। लौकिक समाजमा यत्रतत्र मुन्दुमी परम्पराले प्रभाव जमाएको हुन्छ। तर, मुन्दुमको स्रोत तिनै विशेष जानकार सीमित व्यक्ति नै हुन्। मुन्दुमी ज्ञान मूलतः वंश परम्परामा रहेको पाइन्छ। कुनै पुस्तामा नाक्छोङ वा फेदाङ्मा छ भने उसको सेखपछि कुनै न कुनै पुस्तामा उक्त मुन्दुमी ज्ञान, सिद्ध ज्ञान, तान्त्रिक ज्ञान सरेर जान्छ र ती व्यक्ति नयाँ नाक्छोङ वा फेदाङमाका रूपमा स्थापित हुन पुग्छन्।  

भनिन्छ, मुन्दुमी ज्ञान कसैसँग सिकेर, पढेर, घोकेर, कण्ठ पारेर, हेरेर जान्न सकिँदैन। यद्यपि जानकार मुन्दुमविद्बाट मुन्दुमसम्बन्धी धेरै जानकारी लिन भने अवश्य सकिन्छ। समग्रमा मुन्दुमी ज्ञान सीमित व्यक्तिहरूमा मात्र पाइन्छ।  

हस्तान्तरित  
मुन्दुमको अर्को महत्वपूर्ण विशेषता हो, हस्तान्तरण। मुन्दुमी ज्ञान दुई तरिकाले हस्तान्तरण हुने गर्छ। पहिलो, वंशानुगत रूपमा मुन्दुमी ज्ञान र परम्परा हस्तान्तरण हुन्छ। जुन घरमा विधिवत रूपमा स्वस्फूर्त उत्रेको वा गुरुद्वारा उतारिएको धामी, नाक्छोङ, फेदाङमा छ, उसको छोरा, नाति–नातिनी वा कुनै पनि पुस्तामा त्यो ज्ञान वा शक्ति सर्छ। यसरी वंश परम्पराबाट पनि मुन्दुमी ज्ञान हस्तान्तरण हुँदै आएका छन्।  

दोस्रो, मुन्दुमविद्द्वारा सिकेर, हेरेर, सुनेर पनि मुन्दुमी ज्ञान हस्तान्तरण हुँदै आएका छन्। जस्तै ः उत्पत्ति कथाहरू, यात्रा विवरणहरू, पूजा–अनुष्ठान विधिहरू, उपचार पद्धतिहरू, प्रदर्शनात्मक कलाहरू, धार्मिक, सांस्कृतिक क्रियाकलापहरू तथा अन्य मौखिक अभिव्यक्तिहरू एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै वर्तमानसम्म जीवित हुनु मुन्दुमको महत्वपूर्ण विशेषता हो। यसरी हेर्दा के देखिन्छ भने आध्यात्मिक शक्तिका रूपमा प्राप्त सिद्ध ज्ञान र शक्तिका रूपमा प्राप्त तान्त्रिक ज्ञान विशेषतः वंशानुगत रूपमा हस्तान्तरण हुँदै आएका छन्। ती सिद्ध प्राप्त तथा शक्ति प्राप्त व्यक्ति माङ्पा, फेदाङ्बाट सुनेर, सिकेर, देखेर पनि मुन्दुमी ज्ञान एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको देखिन्छ। यीबाहेक मुन्दुमभित्र परिवर्तनशीलता, ज्ञानमय, मनोरञ्जनात्मक, दुरुहता आदि विशेषता पनि भेटिन्छ।  

यसरी मुन्दुमको आफ्नै प्रकारका विशेषता छन्, जसले मुन्दुमलाई अन्य विधाभन्दा फरक ढंगमा उपस्थित गराएको छ। मुन्दुम बुझ्नका लागि मुन्दुमका प्रमुख विशेषता जस्तै यसभित्र प्राप्त गर्न सकिने विषय वा क्षेत्र के–के छन् ? त्यो बुझ्न जरुरी हुन्छ। मैले सुरुमै उल्लेख गरिसकेको छु, मुन्दुम किराती जातिको मौखिक वाङ्मय अर्थात् समग्र विषयको वर्णन हो। मुन्दुमभित्र प्राप्त गर्न सकिने प्रमुख विषय निम्न छन्।  

संस्कृति  
मानिसले परम्परागत रूपबाट सिक्दै र भोग्दै आएको जीवन पद्धतिको समग्रता नै संस्कृति हो। किराती संस्कृति मुन्दुममा आधारित छन्। मुन्दुमद्वारा निसृत परम्परागत संस्कृति नै किरातीको मौलिक संस्कृति हो। किरातीका खानपान, वेशभूषा, चाडपर्व, गीतसंगीत, धर्म, आस्था–अनुष्ठान, ज्ञान–विज्ञान, चिन्तनमनन आदि सम्पूर्ण सांस्कृतिक क्रियाकलाप मुन्दुममा आधारित छन्।  

इतिहास  
किरात जातिको उत्पत्ति, विकास र पैmलावट कहाँबाट कसरी हुन पुग्यो, यसको सिलसिलाबद्ध इतिहास मुन्दुममा प्राप्त गर्न सकिन्छ। यसका अतिरिक्त जीवजन्तुको उत्पत्ति, बोटबिरुवाको उत्पत्ति, ढुंगामाटाको उत्पत्ति, मानिसको उत्पत्ति वा चराचर जगत्को उत्पत्तिका इतिहास मुन्दुममा पाइन्छ। हुन त वैज्ञानिक रूपले ती मुन्दुमी कथा, विवरण वा इतिहास पुष्टि हुन सक्ला वा नसक्ला ! त्यसैले ती ऐतिहासिक विवरणलाई आधुनिक इतिहासको कसीमा हेर्न मिल्दैन। यद्यपि ती मुन्दुमी विवरणलाई व्यापक अनुसन्धान गर्ने हो भने निकै तथ्यको नजिक पुग्न सकिन्छ। किनभने यसमा प्रत्येक इतिहासको कालखण्ड अनुसारको विवरण प्राप्त गर्न सकिन्छ। यसमा किरातीहरू कहाँबाट, कसरी पैmलिए के खाँदै, के लाउँदै कसरी जीवन निर्वाह गरे– आदि ऐतिहासिक विवरण पाइन्छ। त्यसैले मुन्दुमभित्र किराती जातिको इतिहास पनि प्राप्त गर्न सकिन्छ।  

भूगोल  
मुन्दुमभित्र प्राचीन किरातकालीन भौगोलिक विवरण पनि प्राप्त गर्न सकिन्छ। किराती पुर्खाहरू कुन कुन क्षेत्रमा बसाइँ सर्दै गए, कस्ता कस्ता भौगोलिक क्षेत्रमा पुगे– आदिको वर्णन मुन्दुममा पाइन्छ। प्राचीन किरातीले हिँडेका, डुलेका, पुगेका खोलानाला, नदीनाला वनजंगल, भीरपाखा, हिमाल, पहाड, समुद्र, ताल आदिको भौगोलिक विवरण र वर्णन मुन्दुममा पाइन्छ।  

प्रदर्शनात्मक कला  
मुन्दुम कलात्मक विधा हो। मुन्दुम सर्वसाधारण जोसुकैले प्रस्तुत गर्न सक्दैन। विशेष दक्ष तथा जानकार व्यक्तिले मात्र प्रस्तुत गर्ने विधा भएकाले मुन्दुमको प्रस्तुति विशेष प्रकारको हुन्छ। लयात्मक, गेयात्मक, हाउभाउ कटाक्षसहित प्रस्तुत वा वाचन गरिने हुँदा मुन्दुम सशक्त प्रदर्शनयुक्त कला पनि हो। नाक्छोङ कुबी, माङपा, फेदाङवाले विभिन्न विषयबारे वर्णन गर्दा बाजागाजा र पहिरनसहित तत्तत् विषय वा वस्तुको अभिनयात्मक शैलीमा प्रस्तुत गर्ने गर्छन्। त्यसैले मुन्दुम प्रदर्शनात्मक कला पनि हो।  

गीत–संगीत  
गेयात्मक रूपमा प्रस्तुत गरिने हुँदा मुन्दुमको प्रस्तुति अत्यन्तै रागात्मक, आल्हादित एवं विरेचित खालको हुन्छ। प्रस्तोताले यसलाई विभिन्न आरोह–अवरोहको लय–ढाँचामा रिसिया गाउँदै प्रस्तुत गर्छन्। धर्म–अनुष्ठान, संस्कार (जन्मदेखि मृत्युपर्यन्त) सम्पन्न गर्दा ढ्यांग्रो, गजा थाली, झ्याली, खुर्मी, पुङ (जनावरको सिङ), सेउली, घण्टी, माला आदि बाजागाजाको उपयोग गरिन्छ, जसकारण मुन्दुममा अत्यन्त उच्चस्तरको सांगीतिक गुम्फन प्राप्त गर्न सकिन्छ। अनेकौँ प्रकारको लय–ढाँचा, सुर, ताल र रागमा मुन्दुम गाइन्छ भने गीतसँगै अनेकौँ प्रकारको नृत्यको समेत प्रस्तुति रहन्छ। किराती जातिमा मुन्दुममा आधारित अनेकौँ प्रकारका गीत पाइन्छ। त्यसैले मुन्दुम गीत–संगीतको पनि स्रोत हो।  

दर्शन  
‘मुन्दुम’ किराती पुर्खाले अनुभव र अनुभूतिको आधारमा निर्माण गरेको ज्ञान भण्डार हो। उनीहरूले बाँच्ने क्रममा अर्थात् जीवन भोगाइका क्रममा प्राप्त गरेको ज्ञान र सूचना नै उनीहरूले पछिल्ला पुस्तालाई मुन्दुममार्पmत सिकाउँदै आएको देखिन्छ। त्यसैले के खान हुन्छ, के खान हुँदैन, के गर्न हुन्छ, के गर्न हुँदैन, के गर्ने, कहाँ गर्ने, कहिले गर्ने, कसरी गर्ने, कोद्वारा गर्ने जस्ता ज्ञान र सूचना मुन्दुममा पाइन्छ। यसका अतिरिक्त मुन्दुमभित्र दार्शनिक चिन्तन पनि पाइन्छ। यो भनेको जीवन र जगत्लाई हेर्ने र फेर्ने मानिसको आन्तरिक दृष्टिकोण हो। मानिस के हो ? जीवजन्तु, प्रकृति, ज्ञान, सुख–दुःख, यो चराचर जगत के हो ? मानिस किन जन्मन्छ ? किन मर्छ ? मरेर कहाँ जान्छ ? यो सृष्टि कसले निर्माण ग-यो ? किन ग-यो ? यसको अन्त्य हुन्छ कि हुँदैन ? यो संसारको विनाश हुन्छ कि हुँदैन ? हुन्छ भने कहिले हुन्छ ? कसरी हुन्छ ? भगवान् हुन्छ कि हुँदैन ? हुन्छ भने कहाँ छ ? अर्थात् भगवान् के हो ? को हो ? जस्ता अनेकौं जिज्ञासा र सवाल मानिसमा देखा पर्न थाले। यसैको निराकरण र समाधान स्वरूप जन्मिएको चिन्तनमय विधा नै दर्शन हो। मुन्दुममा पनि यस प्रकारको दार्शनिक चिन्तन पाइन्छ। यो चराचर जगत्को उत्पत्ति, निर्माण, विनाश र यसको निर्माण तत्व वा पदार्थबारे व्याख्या विश्लेषण गर्ने पद्धतिलाई दर्शनशास्त्रमा तत्वमीमांसा भनिन्छ। मुन्दुमले पनि यो चराचर जगत्को उत्पत्ति र पदार्थ चिन्तनबारे बोलेको छ। यसै गरी ज्ञानको विषय के हो ? ज्ञान के हो ? ज्ञानको आधार र सीमा के हो ? आदि विषयलाई ज्ञान मीमांसा भनिन्छ। जसको बारेमा पनि मुन्दुमले आफ्नो दार्शनिक चिन्तन खडा गरेको छ। यस्तै आचार मीमांसा (जीवनपद्धति), प्रमाण मीमांसा र सौन्दर्य मीमांसाबारे पनि मुन्दुमले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको छ। यस लेखमा मुन्दुम सम्बन्धीका ती सबै मीमांसीय समीक्षा अटाउन नसकिने भएकाले केवल सूचित मात्र गरिएको छ।

समग्रमा भन्दा मुन्दुममा प्रशस्त मात्रामा दार्शनिक चिन्तन प्राप्त गर्न सकिन्छ। दार्शनिक रूपले हेर्दा मुन्दुमको तत्वमीमांसा, ज्ञानमीमांसा र सौन्दर्य मीमांसा भौतिकवादी दर्शनमा आधारित छन् भने आचार मीमांसा र प्रमाण मीमांसा भने अध्यात्मवादी दर्शनमा आधारित छन्।  

साहित्य
मुन्दुममा साहित्यिक लालित्यता पनि प्राप्त गर्न सकिन्छ। मुन्दुमभित्र अनेकौँ आख्यान, मिथक, संवाद, गीत आदि प्राप्त गर्न सकिन्छ। ती आख्यान, मिथक, संवाद, गीत, कथाभित्र अत्यन्त मिठो साहित्यिक फाँकीहरू प्राप्त गर्न सकिन्छ। लोक साहित्यका दृष्टिले त मुन्दुम आफैँमा ठूलो भण्डार हो। मुन्दुमभित्रका कथा, संवाद, वर्णन ढाँचा, पात्रगत द्वन्द्व आदि साहित्यका अनुपम स्रोत हुन्, त्यसैले मुन्दुमभित्र साहित्य समेत प्राप्त गर्न सकिन्छ।  

समाजशास्त्र  
मुन्दुम प्राचीन किराती समाजले निर्माण गरेको अनुभवजन्य व्यावहारिक ज्ञान हो, त्यसैले यो महत्वपूर्ण अमूर्त सम्पदा हो। मुन्दुमभित्र किराती समाजको जीवनभोगाइ, विचार, चिन्तन–मनन, मूल्य–मान्यता आदि मुखरित भएको हुन्छ। किराती समाजको प्राचीन अवशेष र इतिहास प्रतिविम्बित हुने भएकाले मुन्दुमबाट तत्कालीन प्राचीन किराती समाजको अवलोकन गर्न सकिन्छ। यसरी हेर्दा के देखिन्छ भने मुन्दुमभित्र सम्पूर्ण सामाजिक गतिविधि र तिनीहरूको मूल्य–मान्यता समेत प्राप्त गर्न सकिन्छ। प्राचीन समयका किरातीको सामाजिक गतिविधिको व्यावहारिक अनुभवजन्य ज्ञान नै वास्तवमा मुन्दुम हो।  

यसरी हेर्दा के देखिन्छ भने मुन्दुमभित्र भाषा, साहित्य, संस्कृति, दर्शन, ज्ञान, विज्ञान समाजशास्त्र, भूगोल, कला, गीत–संगीत आदि प्राप्त गर्न सकिन्छ। त्यसैले मुन्दुम मौखिक परम्परामा एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको मौखिक वाङ्मय हो। यसमा संगीत पाइन्छ, तर यो आफैँमा गीत–संगीत होइन। यसमा इतिहास पाइन्छ, स्वयंमा इतिहास मात्र होइन। यसमा दर्शन पाइन्छ। मुन्दुम दर्शनसँगै किरातीहरूको समग्र जीवनपद्धति हो। मुन्दुमको शाब्दिक अर्थ मानिसको कथन वा भनाइ हो तर यसलाई जुनसुकै व्यक्तिको भनाइका रूपमा लिइँदैन। विशेष शक्ति प्राप्त, सिद्धप्राप्त वा वंशानुगत ज्ञानप्राप्त व्यक्तिबाट स्वेच्छिक र स्वविवेकले नभई तान्त्रिक शक्ति र चिन्तन–मननबाट प्राप्त ज्ञान र सूचना नै वास्तवमा मुन्दुम हो, जसलाई विशेष अवसरमा, विशेष तरिकाले प्रस्तुत गरिन्छ।  

ज्ञान–विज्ञान  
प्राचीन मानिसले जीविकोपार्जनका क्रममा प्रकृतिसँग सहकार्य र साहचर्य गर्दै अनेकौँ प्रकारको अनुभव र अनुभूति बटुले। तिनै अनुभवजन्य ज्ञान नै मुन्दुम हो। त्यसैले मुन्दुमी ज्ञानलाई शास्वत ज्ञानका रूपमा लिइन्छ। आफ्ना अनुभवबाट प्राप्त ज्ञानलाई मुन्दुममार्पmत् पछिल्ला पिँढीमा हस्तान्तरण गर्दै आएका किरातीले मुन्दुमलाई ज्ञानको संवाहकका रूपमा लिँदै आएका छन्। मुन्दुमले किराती जीवन पद्धति, सभ्यता, संस्कृतिबारे बोलेको छ। यसरी मुन्दुमी ज्ञान र सूचना विज्ञानका हिसाबले पनि निकै वैज्ञानिक देखिन्छ। घर निर्माण कहाँ, कसरी र कहिले गर्ने भन्ने वास्तुविज्ञान पनि मुन्दुमले प्रस्ट बताएको छ। त्यसरी नै रोग लाग्दा कुन जडिबुटी कसरी खाने भन्ने पनि मुन्दुमले बताएको छ। विभिन्न प्रकारका मदिरा, औषधि र खानपान बनाउने रसायन विज्ञान तथा खाद्य विज्ञानसम्बन्धी ज्ञान पनि मुन्दुमममा पाइन्छ। शारीरिक सुरक्षा र स्वास्थ्यका लागि अनेकौँ प्रकारका उपायबारे मुन्दुममा उल्लेख छ। यसरी शरीर विज्ञान, वास्तु विज्ञान, रसायन विज्ञान, खाद्य विज्ञान, औषधि विज्ञानजस्ता भौतिक तथा आद्यात्मिक विज्ञानका बारेमा मुन्दुमले बताएको छ। गहिरो अध्ययन गरेर खोतल्ने हो भने मुन्दुमभित्र अत्यन्तै उपयोगी विज्ञानका तथ्य र ज्ञान प्राप्त गर्न सकिन्छ।  

निष्कर्ष  
पाषण युगदेखि नै विकसित भएर वंशानुगत रूपमा वा बाह्य गुरु परम्पराद्वारा नै होस्, एक पुस्ताबाट अर्कोे पुस्तासम्म हस्तान्तरण हुँदै आएको मुन्दुम विश्वमै एक अत्यन्त महत्वपूर्ण प्राचीन अमूर्त सम्पदा हो। मौखिक तथा श्रुति परम्परामा हालसम्म जीवित मुन्दुमभित्र भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, भूगोल, गीत–संगीत, ज्ञान विज्ञानजस्ता महत्वपूर्ण ज्ञानका क्षेत्र प्राप्त गर्न सकिन्छ। मानिस प्रकृतिमै जन्मन्छ, मर्छ र विलीन हुन पुग्छ, त्यसैले मानिसका लागि प्रकृति नै सबैभन्दा महत्वपूर्ण छ। यस प्रकारको प्रकृतिवादी दार्शनिक चिन्तन राख्ने मुन्दुमले यो संसारमा कुनै पनि प्रकारको काल्पनिक ईश्वर वा भगवान्, गड वा अन्य अलौकिक शक्ति छैन भन्ने मान्यता राख्छ। त्यसैले मुन्दुमले प्रकृति पितृलाई नै सर्वाधिक महत्व प्रदान गर्छ। संसारको सृष्टि, निर्माण, संहार सबै प्रकृतिको नियम र गतिमा चल्छ भन्ने मान्यता मुन्दुमले राख्छ। पूर्वीय संस्कृति र सभ्यताको एउटा महत्वपूर्ण अमूर्त मौखिक सम्पदा मुन्दुमलाई संरक्षण, संवद्र्धन गरेर यसको गम्भीरतापूर्वक अनुसन्धान गर्न सके किराती समुदायका लागि मात्र होइन, समग्र विश्वमै नवीन ज्ञान–विज्ञान र अन्य ज्ञानका क्षेत्रको समेत ढोका खोलिन सक्ने सम्भावना देखिन्छ।  
(नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्ष डा. राई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति विज्ञको रूपमा कार्यरत छन्।)  

प्रकाशित: ३ आश्विन २०७७ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App