१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

जितिया पावैन (पर्व)

जितिया पावैन थारु महिलाको विशेष पर्व हो। यो पर्व तराईका आदिवासी जनजाति थारु र मधेसी महिलाहरुले मनाउने गर्छन्। दिनरात मुखमा पानी समेत नहालिइकन निबाला ब्रत बस्छन्। जितियाको व्रत विशेषगरी विवाहित  महिला बस्ने गर्छन्, आफ्ना श्रीमान् र छोराछोरीको सुस्वास्थ्य र दीर्घायुका लागि। जितिया मनाउन खासगरी  महिलाहरु माइती आउने गर्छन्। माइतीहरु चेलीलाई लिन जितियाभन्दा एक साता, महिना वा एक दिन अगाडि नै पुग्छन्।  

म सानैदेखि जितिया पर्व मनाएको देख्थेँ। सानोमा जितिया गर्न मामाघर जान्थेँ। जसलाई आफ्नो घरको कामबाट फुर्सद हुँदैन, ती महिला जितिया मनाउन माइती जाँदैनन्, बरु लिन आउने माइतीसँग आफ्नी छोरीलाई पठाउँछन्। म धेरैपटक मामासँग मामाघर जितिया गर्न गएकी छु। जितिया मनाउन आएकी चेलीलाई माइतीले नयाँ सारी, कुर्ता, सलवार र चुरा दिने चलन छ। जितिया मनाउन जाँदा मामा–माइजूले मलाई पनि धेरैपटक नयाँ लुगा र चुरा दिनुभएको छ।  

मेरो बिहे हुनुअगाडि मामाघर जितिया गर्न जान्थेँ। बिहेपछि भने म माइतीमा जितिया गर्न आउँछु। म जितिया गर्न मामाघर नगए पनि मामा प्रत्येक जितियामा आमालाई लिन आउनुहुन्छ। तर, आमालाई घरबाट फुर्सद नहुने भएकाले आमा जितिया गर्न जानुहुन्न। मामा रित्तै हात फर्किनुहुन्छ।

बिहेपछि सुइध लागेपछि म बल्ल जितियाको व्रत बस्न सुरु गरेँ। पहिलोपटक जितियाको व्रत बस्नुलाई जितिया उठाउनु वा जितिया पाथ्नु भनिन्छ। आइतबार निराहार व्रत बसेर सोमबार व्रत तोड्ने तिथि मिलेको जितिया पावैनको तिथिलाई सुइध लाग्नु भनिन्छ। जुठो परेर व्रत टुटेका र नवविवाहित महिला सुइध लागेको वर्षबाट जितियाको व्रत बस्न सुरु गर्छन्। यो व्रत महिला आजीवन वा आफूले सकुन्जेलसम्म व्रत बस्छन्। ५, ७, १२, १४ वर्षमा एकपटक मात्र सुइध लाग्छ। यस्तो तिथि मिलेपछि वा सुइध लागेपछि विवाहित महिला व्रत बस्न सुरु गर्छन्।

सुइध लागेकाले मैले पोहोर सालबाट जितियाको व्रत बस्न थालेकी छु। माइतीबाट दाजु लिन आएकाले भोलिपल्टै म दाजुसँग माइती गएँ। माइती लैजानका लागि मलाई सासुले कोसेली दही, चिउरा, तेलपौर रोटी बनाएर दिनुभयो। माइती पुग्दा बिहे भएका सबै दिदीबहिनी माइती आउने क्रम जारी थियो। कोही आइसकेका थिए, कोही आउँदै थिए। मेरा तीन दिदीहरू पनि आए। हामी सबै दिदीबहिनी एकअर्कालाई भेटेर खुसीले फुरुंग भयौँ।

दिदीहरूसँग कुरा गर्दै बेलुकीको खाना खाएर हामी सुत्यौँ। बिहानै उठेर हामी पोखरीमा नुहाउन गयौँ। दतुवाइनले दाँत माझ्यौँ। नुहाउने बेला साबुन र स्याम्पुले कपाल धुनु हुँदैन भनेर दिदीहरूले मलाई सिकाएका थिए। भिजेको माटो र पिनाले कपाल नुहायौँ। नुहाइसकेपछि सुकिलो लुगा लगाएर पोखरीकै छेउमा दुई–दुईवटा घिरौँलाको पात आफ्नो अगाडि राख्यौँ। घिरौँलाको पातमा माटो, खैर (पिना) र घिरौँलाको फूल चढाउँदै धुप बाल्दै सूर्यलाई ढोग्दै पूजा ग-यौँ। दर खाने दिन बिहानै भोकै पेट नुहाएर पूजा गर्नुपर्छ। यो दिनलाई नुहाएर खाने दिन पनि भनिन्छ। पूजा गरिसकेपछि हामी घर फर्कियौँ।

आइतबार निराहार व्रत बसेर सोमबार व्रत तोड्ने तिथि मिलेको जितिया पावैनको तिथिलाई सुइध लाग्नु भनिन्छ। जुठो परेर व्रत टुटेका र नवविवाहित महिला सुइध लागेको वर्षबाट जितियाको व्रत बस्न सुरु गर्छन्। यो व्रत महिला आजीवन वा आफूले सकुन्जेलसम्म व्रत बस्छन्।

घर फर्केर खाना खायौँ र आराम ग¥यौँ। ओटघन (दर) खाने दिन थियो। दिउँसो हामी आमासँग बजार गयौँ। बजारमा आमाले तरकारी, फलफूल र माछा किन्नुभयो। बेलुकी खाना खाएर सुत्यौँ। दिदीहरूका साना छोराछोरी पनि जितिया गर्न आएका थिए। मध्यरातमा कतैबाट खाना र तरकारी पकाएको आवाज आइरहेको थियो। भाँडाकँुडा टनटन बजेको आवाज आइरहेको थियो। ती आवाजले हाम्रो निद्रा खुल्यो। भित्ते घडीतिर हेरेँ, रातको १ बजेको थियो। ब्युँझेपछि थाहा पाएँ, हामीलाई ओटघन खुवाउनका लागि आमाले ओटघन (दर) पकाउँदै हुनुहुन्थ्यो। ओटघन खान मध्यरातबाट सुरु गर्ने चलन छ।  

छिमेकीहरू पनि ओटघन पकाउन व्यस्त थिए, मध्य रातमा परिकारका बास्ना आइरहेका थिए। उठेर हामी मुख धोयौँ, दाँत माझ्यौँ। ओटघन पकाउन आमालाई हामी सबै दिदीबहिनीले सघाउन थाल्यौँ। पकाउँदै रातिको ३ बज्यो। दाल, भात, माछा, परवल, आलु, भिन्डी, लौकाको तरुवा, ओलको (एक प्रकारको तरकारी) लदबद र कोदोको रोटी पकायौँ। ओटघनमा मासु खानु हुँदैन, तर माछा अनिवार्य खानैपर्छ।

ओटघन पाकिसकेपछि हामी सबै दिदीबहिनी लहरै खान बस्यौँ। आमा पनि व्रत बस्ने भएकाले हामीसँगै ओटघन खान बस्नुभयो। भोलि चाँडै भोक नलागोस् भनेर अन्तिममा दही, चिउरा खायौँ। दिदीका साना छोराछोरी ब्युँझेका थिएनन्। छोराछोरीलाई सुताएर दर खाँदा आमाले एउटा भनाइ दोहो¥याउनुभयो, जुन जितिया पावैनका लागि चर्चित छ, ‘जितिया पावैन बर भारी, धियापुता के ठोइक सुतेली अपना लेली भोइर थारी।’ अर्थात् छोराछोरीले दर खाने बेला हैरान नपारुन् भनी आमाहरूले छोराछोरीलाई सुताउँछन् र आफूले थालभरि ओटघन खान्छन्।’ यो सुनेर हामी मरीमरी हाँस्यौँ। सुतिरहेका बच्चा उठ्ने त होइनन् भनेर हाँस्दै सचेत पनि भयौँ। ओटघन खाइसकेर बाँकी ओटघन बच्चाका लागि आमाले जतन गरेर राखिदिनुभयो। घडी हेर्दा ४ बजिसकेको थियो। दर खाएर एक निद्रा सुत्यौँ।  

बिहान उठ्दा ८ बजिसकेको थियो। आमा र दिदीहरूले सम्झाउनुभयो, ‘नुहाउँदा र मुख धुँदा मुखमा पानी समेत नहाल्।’ मुखमा पानी नहालीकन नुहायौँ। त्यसपछि रातो सारी लगायौँ। थरीथरीको गहना, चुरा, सिन्दुर, पोते लगाएर शृंगार ग¥यौँ।  

जितिया कथा सुन्न र पूजा गर्न जानु थियो। पूजा गर्न आमाले पाँचवटा केरा, जितियाको फूल, पान, सुपारी, अक्षता, तुलसी र कपडाको कन्या (पुतली) लगायत सामग्री डालोमा तयार पारिसक्नुभएको थियो। बुवाले केराको थम्बाको घोडा र कुसको तीर, धनुस बनाइदिनुभएको थियो। बजारमा जितमहान् भगवान्को मूर्ति बनाइएको थियो। पूजा सामग्री केराको थम्बाको घोडा र सिकको धनुष र तीर बोकेर हामी सबै दिदीबहिनी कथा सुन्न र पूजा गर्न जितमहान् भगवान्को मूर्ति बनाइएको ठाउँमा गयौँ। गाउँका काका जितमहान्को कथा सुनाउन पहिले नै उपस्थित भइसक्नुभएको थियो।  

त्यहाँ पुग्दा गाउँभरिका व्रतालु दिदीबहिनी आउने क्रम जारी थियो। सबै व्रतालु दिदीबहिनी एक ठाउँमा जम्मा भएर खुसी हुँदै एक–अर्कासँग कुरा गर्न व्यस्त भए। सबै रातो सारी र थरीथरीका गहना लगाएर साह्रै सुन्दर देखिएका थिए। कथा सुनाउने ठाउँमा विधि गर्नका लागि सानो पोखरी बनाइएको थियो। पोखरीमा थोरै पानी हालिएको थियो। पोखरीमा केराको थम्बाको डुंगा र जाइठ (मियो) राखिएको थियो। हामी सबै व्रतालु पोखरी वरपर पूजा सामग्री राखेर बस्यौँ। पूजा सामग्रीको डालोबाट कपडाको पुतली आफ्नो अगाडि उभ्यायौँ। कथा सुनाउने काका पोखरीको पर सतरंगीमा बसिरहनुभएको थियो। काकाले जितमहान्को कथा भन्न सुरु गर्नुभयो। हामी व्रतालु पोखरीको डिलमा लहरै बसेर कथा सुनिरहेका थियौँ। कथा जतिपटक टुंगिन्थ्यो त्यतिपटक पान, सुपारी, अक्षता र फूल चढाएर पोखरीको डिलमा पूजा गथ्र्यौं र ढोग्थ्यौँ।

कथा सुन्दै पूजा गर्दै बसिरहेका थियौँ। काकाले जितमहान् र चुल्ही (चिल), सियारी (स्याल) को कथा सुनाउनुभयो। सियारी व्रत बसेका बेला भोक लागेर मासु खाएको र भविष्यमा नराम्रो घटनाको सिकार भएको कथा छ। सियारीको चरित्र देखेर उपस्थित दिदीबहिनीले आश्चर्य प्रकट गरे। कथाहरू धेरै लामा थिए। करिब ४ घन्टा कथा सुन्दै, पूजा गर्दै बित्यो।  

कथा सकिएपछि केराको थम्बाको घोडा पोखरीको डिलमा सबैले राखे। सबैका दाजुभाइलाई बोलाइयो। मेरो पनि दाजु आउनुभयो। दाजुभाइले केराको थम्बाको घोडामा चढेर आफ्ना दिदीबहिनीलाई धनुसले हान्नुपर्ने विधि गर्नुपर्ने थियो। सबैका दाजुभाइका काँधमा सिकको (कुस) तीर र धनुस काँधमा लिए। मेरो दाजुले पनि मलाई सिकको धनुस र तीरले हान्नुभयो।

यो विधि सम्पन्न भइसकेपछि जिब्रो कोट्ट्याउने विधि बाँकी थियो। अखर कोइख (छोराछोरी नमरेका वा गर्भ खेर नगएका दिदीबहिनी) भएका दिदीले हाम्रो जिब्रो कोट्ट्याउनुपर्ने विधि बाँकी थियो। मैले मुख खोलेँ र जिब्रो उल्टोपट्टि फर्काएर दाँतले च्यापेँ। मेरी ठूलीदिदी काँधमा सिकको धनुष र तीर बोक्नुभयो। उल्टोपट्टि फर्काएको मेरो जिब्रोमा ठूलीदिदीले पानको पात राख्नुभयो। पानको पातमा प्वाँल हुने गरी कुशको तीरले दिदीले जिब्रोमा हान्दै कोट्ट्याइदिनुभयो। मेरो जिब्रोमा सिकको सिन्काले थोरै घोँच्यो। यो विधि सम्पन्न भइसकेपछि चढाइएका पूजा सामग्री कथा सुनाउने काका र जिब्रो कोट्ट्याउने दिदीलाई दिनुपर्छ। हामीले त्यस्तै ग-यौँ। सुइध लागेका बेला मात्र कथा सुन्दै पोखरीको डिलमा बसेर पूजा गर्ने, दाजुभाइले दिदीबहिनीलाई सिकको धनुषले हान्ने र अखर कोइख भएका दिदीले बहिनीको जिब्रो कोट्याउने गर्छन्। सुइध नलागेका बेला यो तीनवटै विधिबाहेक सबै गरिन्छ।  

पूजा सकेपछि नाचगानको आयोजना गरिएको थियो। गाउँका सबै दिदीबहिनी मिलेर नाचगान सुरु ग-यौँ। र, बेलुकी ९ बजे घर फर्कियौँ। भोक र तिर्खाले घाँटी प्याकप्याक भइरहेको थियो। तैपनि भोकलाई बेवास्ता गर्दै निदायौँ।  

आमा व्रत बसेर पनि हामीभन्दा फूर्तिलो हुनुहुन्थ्यो। बिहान उठ्दा आमाले पूजा गर्ने सामग्री तयार पारेर हाम्रा लागि खाना पकाइरहनुभएको थियो। हामी उठेर नुहायौँ। भोक र तिर्खाले मेरो पेट भित्र धसिएको थियो। हामी सबै दिदीबहिनीका अनुहार सुक्खा देखिएको थियोे। आमाले बिहानै गोबरले आँगन लिपिसक्नुभएको रहेछ। हामीले बिहानै नुहायौँ। पूजा गर्नका लागि माइलीदिदीले केही भाग आँगन लिप्नुभयो। हामी सबै दिदीबहिनी र आमा पूजा गर्न लहरै बस्यौँ। धूप बाल्यौँ। माटोले लिपिएको ठाउँमा सबैजनाले तोरीको तेलले दुईवटा रेखा को¥यौँ। त्यो रेखामा सिन्दुर लगायौँ। सिन्दुर र तेल लगाइएका रेखामा दुई–दुईवटा घिरौँलाको पात राख्यौँ। घिरौँलाको पात अगाडि थोरै चामल राख्यौँ। चामल मुठी बाँधेर राख्नुपर्छ। यसलाई ‘पूजा ढार्नु’ भनिन्छ। पूजा ढारेको चामलमाथि तुलसीको मुरी (पात भएको तुलसीको टाउको) र तुलसीको मुरीमाथि सुपारी राख्यौँ। घिरौँलाको पातमा दही, चिउरा, केरा र गुड मुसेर थोरै चढायौँ। त्यसपछि सुपारी, घिरौँलाको फूल र जितियाको फूल पातमा चढायौँ। घिरौलाको पातको चारैतिर पानी छर्किंदै सूर्यलाई ढोग्दै पूजा ग¥यौँ। पूजा गर्दै आफ्नो श्रीमान् र छोराछोरीको दीर्घायु र सुस्वास्थ्यको कामना ग¥यौँ।

पूजा गर्दै डाबही (एक प्रकारको घाँस) को पात बाँया हातको बूढी र कान्छी औँलाको सहायताले टुक्रा पार्दै पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा फाल्यौँ। यो विधि सकिसकेपछि पाँच दाना कालो केराउ र पाँच दाना अरवा चामल मुखमा हालेर पानी पिउँदै नचपाईकन निल्यौँ। चामल र केराउ नचपाईकन निल्नुलाई ‘औकरी चौर’ निल्नु भनिन्छ। औकरी चौर र पानी निलेर व्रत तोडिन्छ। त्यसपछि दही, चिउरा, केरा र गुड मुसेर खायौँ। यसलाई पारण गर्नु भनिन्छ। अनिवार्य रूपमा पारण गर्नैपर्छ।  

बिहानै आमाले पकाउनुभएको दालभात, ओल, परबल, आलुको तरुवा र झिम्नीको तरकारी खायौँ। गाउँको पोखरीमा माछा मारिएको थियो। गाउँमा चार, पाँचवटा खसी काटिएको थियो। जितियाको दिन अनिवार्य रूपमा खसीको मासु खानुपर्ने धारणा छ। बुवा र दाजुले खसीको मासु र माछा किनेर ल्याउनुभयो। दिउँसो थरीथरीको परिकार खसीको मासु, माछा र तरुवाहरू पाक्यो। सबैको घरबाट माछामासुको मिठो बास्ना आइरहेको थियो। हामी दिउँसो सबै दिदीबहिनी मिलेर खाना खायौँ। बुवाले हामी सबै दिदबहिनीका लागि नयाँ सारी, कुर्ता सलबार र चुरापोते ल्याइदिनुभएको थियो। हामी आ–आफ्नो भागको नयाँ लुगा हेर्दै खुसी भयौँ।

प्रकाशित: २० भाद्र २०७७ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App