भक्तपुर नगरपालिका क्षेत्रमा बढीमा २० मिनेटको हिडाइमै गुणस्तरीय स्वास्थ्य सेवा रहेको जनाइएको छ । भक्तपुर नगरपालिका क्षेत्रभित्रका जुनसुकै ठाउँका नगरबासीहरुले पनि बढीमा २० मिनेटको हिडाई अर्थात् एक किलोमिटरको दुरीमा गुणस्तरीय विशेषज्ञसहितको स्वास्थ्य सुविधा पाइने जनाइएको छ ।
भक्तपुर नगरपालिकाको बिहीबार भक्तपुरमा भएको १९ औ नगरसभा उदघाटन समारोहमा सभा अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसका लागि वडावडामा स्वास्थ्य केन्द्रबाट ती सुविधाको व्यवस्था रहेको जनाए । यी स्वास्थ्य सेवाहरुमध्ये नगरपालिकाले सबैभन्दा ठूलो भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा ख्वप अस्पताल सञ्चालनमा छ ।
यतिमात्रै होइन, भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवाको सञ्चालन पनि गर्दै आएका छौं, नगरसभा उदघाटनमा उनले भने, सवैभन्दा ठूलो रुपमा १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दै आएका छौं । ख्वप अस्पतालको स्वास्थ्य सेवा र सुविधाको गुणस्तर वृद्धिको लागि आधुनिक स्वास्थ्य उपकरणहरु थप्ने क्रम जारी रहेको उनले जनाए । ख्वप अस्पताल वर्षको ३६५ नै दिन सेवा दिने नेपालकै पहिलो अस्पताल भएको स्मरण पनि उनले गरे । साथै ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउन प्रयत्नशील रहेको पनि उनले जानकारी गराए ।
चालू वर्षको ५ महिनाको अवधिमा अस्पतालले १ लाख ३३ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको जानकारी पनि उनले दिए । गत आ.ब.२०८१/८२ मा ७० भन्दा बढी जिल्लाका २ लाख ८९ हजारभन्दा बढी बिरामीहरुको सेवा गरेको थियो, उनले भने, अस्पतालले गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएकोमा आगामी माघ महिनाबाट सीटी स्क्यान सेवा सञ्चालनमा ल्याउने तथा थप एउटा अत्याधुनिक ल्याप्रोस्कोपिक मेसिनबाट सर्जरी सेवालाई अझ विस्तार गर्ने तयारी भइरहेको छ । अस्पतालले सेवाग्राहीहरुको सहजताको लागि क्यु.आर. प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण प्रणालीको सुरुवात गरेको पनि उनले जानकारी गराए ।
नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालका निमित मेडिकल डाइरेक्टर डा मजेशप्रताप मल्लले ख्वप अस्पतालबाटै सिको गरेर अहिले केही अस्पतालहरुले वर्षमा ३६५ दिन नै सेवा दिन थालेको जानकारी दिए । उनले देशकै सानो जिल्लाको पनि सानो नगरपालिकाले सञ्चालन गर्दै आएको ख्वप अस्पताललाई देशकै नमूना अस्पतालको रुपमा विकास गर्न पाएको चर्चा गर्दै यसलाई अझ थप शशक्त बनाउने योजना रहेको सुनाए ।
नगरपालिकाले चालु आवमा नगरपालिकाको व्यवस्थापनमा सञ्चालित आर्युवेद उपचार केन्द्रबाट २ हजार २५८ जनालाई र घरदैलो नर्सिड्ड सेवा २४ हजार ११७ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको जनाएको छ । यस अवधिमा ख्वप तीलगंगा आँखा अस्पतालबाट ११ हजार ४९१ जनालाई आँखाको उपचार तथा ३३८ जनाको आँखाको शल्यक्रिया सेवा गरिसकेको पनि जनाइयो । त्यसैगरी श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट १ हजार ८८० जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको अभिलेख छ । नगरपालिकाले नगरबासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको छ र हाल वडावडामा भी.आई.ए. टेस्टमार्फत महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्तन क्यान्सर, हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन भइरहेको जनाइयो । नगरपालिका क्षेत्रका नगरवासीहरुलाई निःशुल्क रगत र निःशुल्क अक्सिजन वितरण व्यवस्थालाई निरन्तरता दिंदै आएकोमा चालु आ.व.मा ६५५ जनालाई रु. १२ लाख १० हजार रकम बराबरको निःशुल्क रगत र ७ हजार १३७ वटा ठूलो र सानो अक्सिजन सिलिन्डर निःशुल्क उपलब्ध गराइएको नगर सभामा जानकारी गराइयो । कडा रोग लागेका ९६ जना नगरवासी विरामीहरुलाई आर्थिक सहयोगवापत यस अवधिमा रु. १४ लाख ४० हजार रुपैयाँ प्रदान गरिएको पनि जानकारी गराइयो ।
२०८२ पुस ८ देखि ११ गतेसम्म भक्तपुर नगरक्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरुका शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुको मुटुरोग परीक्षण सम्पन्न गरिएको र उक्त शिविरमा ३० हजार ६८३ जना विद्यार्थीहरुको मुटुको परीक्षण गरेकोमा १४२ जनामा जन्मजात मुटुको समस्या पहिचान भएको पनि जानकारी गराइयो । ती विद्यार्थीहरुको निःशुल्क उपचार भइरहेको र छोटो अवधिमा यति धेरैको संख्यामा स्वास्थ्य परीक्षण गरेको यो पहिलो पटक भएको दावी पनि गरियो ।
प्रकाशित: २४ पुस २०८२ १९:१३ बिहीबार





