१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

ललितपुर–२ : पुराना दलको ‘पकड’ मा नयाँ अनुहारको परीक्षा

प्रतिनिधिसभा निर्वाचनको चहलपहल बढे पनि मतदाताका ढोकामा भने अझै मौनता छ। मतदान मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा सक्रिय देखिए पनि अधिकांश बस्तीमा अझै पुगेका छैनन्।

कतिपय स्थानीय भन्छन्, ‘चुनाव आउनै लागिसक्यो तर हाम्रो घरमा अहिलेसम्म कोही पनि भोट माग्न आएका छैनन्।’

ललितपुर–२ मा यस पटकको निर्वाचन पुराना पार्टी र नयाँ उम्मेदवारहरूबिचको कडा परीक्षा हुने देखिएको छ। जनतामा पुराना दलप्रति असन्तुष्टि स्पष्ट देखिए पनि नयाँ उम्मेदवारप्रति पनि पूर्ण विश्वस्त बन्न सकेको स्थिति छैन।

यही अन्योलबिच ललितपुर–२ को चुनावी माहोल रोचक बन्दै गएको छ।

‘यसपालि घर-घरमा भोट माग्न उम्मेदवारहरू पुगेकै छैनन्। अब चुनाव आउन ६ दिन मात्रै बाँकी छ। अहिलेसम्म मत माग्न कोही आएका छैनन्,’ ललितपुर–२ टंगलका स्थानीय रोजन बज्राचार्यले भने, ‘अब यो पाटन क्षेत्रमा सबै नेवार समुदायका मानिसहरूमा अधिकांश वृद्धवृद्धा छन्। जताततै नयाँनयाँ भनिरहँदा यो क्षेत्रमा भने त्यस्तो उत्साह छाएको छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अन्तरिम सरकारका मन्त्री जगदीश खरेल उठेका छन्। उनले यसपटक आफ्नो लोकप्रियताको जाँच यहाँ गर्नेछन्। सो क्षेत्रमा विगतमा पत्रकारितासमेत गरेका खरेल राजनीतिमा आएकोसम्म उनीहरूले उल्लेख गरेका छन्।

‘पत्रकार नेता बनेपछि काम गर्लान् जस्तो लाग्दैन। उनीहरू भ्युजको पछाडि दौडने मान्छे हुन्, राजनीति गर्न छुट्टै दिमाग चाहिन्छ,’ टंगलका स्थानीय बज्राचार्यले भने, ‘पत्रकारबाट उम्मेदवार बनेका जगदीश खरेलप्रति स्थानीय अझै विश्वस्त देखिन्नन्।’

ललितपुर–२ पाटनतिर पुराना दलको गहिरो पकड रहेको उनले जानकारी गराए। ‘अझै पनि नेकपा एमाले र नेपाली कांग्रेसकै बलियो प्रभाव छ। वृद्धवृद्धा मतदाताहरू अहिले पनि सूर्य र रूख चुनाव चिह्नमै सीमित सोच राख्ने गरेका छन्,’ सुन व्यापारी बज्राचार्यले नागरिकसँग भने, ‘यहाँका धेरैलाई रुख र सूर्यबाहेक अरू चिह्न नै थाहा छैन। स्वतन्त्र वा नयाँ पार्टीका उम्मेदवार घरदैलोमै आएका पनि छैनन्। त्यसैले भोट हाल्ने विकल्प नै सीमित छ।’

अहिलेका युवा वर्ग नयाँ र स्वतन्त्र उम्मेदवारका पछि लागे पनि उमेर ढल्केका मतदाताहरूमा भने पुरानै उम्मेदवारप्रति चासो बढी रहेको उनले बताए।

त्यसैगरी ललितपुर–२ मै पर्ने पाटनढोकाका स्थानीय रवीन्द्र नापितले पार्टीभन्दा पनि व्यक्तिको क्षमता हेनुपर्नेमा जोड दिएका छन्। ‘पार्टी होइन, काम गर्ने मान्छे चाहियो। एक जनाका लागि मात्र राम्रो गर्ने होइन, सबैका लागि राम्रो गर्ने र सुशासन ल्याउने व्यक्ति आउनुपर्छ,’ उनले भने, ‘तर म अझै कसलाई भोट दिने भन्नेमा पुगिसकेको छैन। त्यतिबेलासम्म आफूलाई राम्रो लागेको व्यक्ति हेरेर भोट दिन्छु।’

सबै मतदाताको सबैभन्दा ठुलो चाहना भनेकै सुशासन र भ्रष्टाचार नियन्त्रण भएको उनले नागरिकलाई सुनाए।

ललितपुर–२ का केही स्थानीयले यसो भन्दै गर्दा टंगलका ओमप्रकाश डंगोलले राम्रो भिजन भएको र काम गरेर देखाउनेलाई नै जिताउनुपर्नेमा जोड दिए। यसअघि निर्वाचित प्रतिनिधिहरूप्रति जनताको सन्तुष्टि छैन।

विशेष गरी जितेर गएकाहरूले अनुहारै नदेखाएको र जनताको गुनासो नसुनेको उनको आरोप छ। त्यसैले यस निर्वाचनमा भने उज्यालो नेपाल पार्टीको ‘चिम’ लाई भोट दिने उनले बताए।

यस क्षेत्रका चर्चित उम्मेदवारमध्ये चिम चुनाव चिह्न लिएर मैदानमा उत्रिएका उज्यालो नेपालका उम्मेदवार राजाराम तण्डुकारको चर्चा भने सकारात्मक देखिन्छ।

ओमप्रकाशका अनुसार तण्डुकारले खोलाको मापदण्ड कायम गराउने, बाटो विस्तार गर्नेजस्ता विकास निर्माणका काममा सक्रिय भूमिका खेलेका छन्।

‘चिमले राम्रो काम गरेको छ, त्यसैले जनतामा उनको चर्चा सकारात्मक छ,’ उनले भने, ‘यस पटकको निर्वाचन पुराना दलप्रतिको वितृष्णा र नयाँ विकल्पप्रतिको जिज्ञासाबिचको संघर्ष बनेको छ। एमाले, कांग्रेसजस्ता परम्परागत दलको पकड अझै बलियो देखिए पनि स्थानीय मतदाताको मनमा भने परिवर्तनको चाहना बढ्दै गएको छ। विशेष गरी रास्वपाप्रति आकर्षण बढे पनि अन्तिमसम्म मतदाताहरू कता ढल्किन्छन्, भन्न सकिन्न।’

ललितपुर–२ कै पुल्चोकका स्थानीय किरण महर्जनका अनुसार यस पटक धेरै मतदाताको सोच बदलिएको छ। ‘पहिले जितेर गएकाहरूले खासै काम गरेनन्। चुनाव जितेपछि आफ्नो क्षेत्रमा फर्केर पनि आएनन्,’ उनले भने, ‘यसपालि घण्टीलाई एक पटक मौका दिनुपर्छ भन्ने मेरो धारणा हो। २०३६ सालदेखि राजनीति हेरेको छु, पुराना दलले दिक्क बनाएका छन्।’

उनका अनुसार कांग्रेस, एमाले र नेकपाजस्ता पुराना दलप्रति जनतामा असन्तुष्टि छ। ठुला नेताहरूले कमाएको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्ने उनी बताउँछन्। नयाँ पार्टीहरूले केही गर्लान् कि भन्ने आशा जागेको उनले बताए। ‘माहोल त घण्टीको छ तर भोट हाल्ने बेलामा मान्छेको मन फेरिन पनि सक्छ,’ उनले भने।

समग्रमा हेर्दा ललितपुर–२ का मतदातामा पुराना राजनीतिक दलप्रति असन्तुष्टि भए पनि नयाँ विकल्पप्रति पनि सतर्क देखिन्छन्। मतदाताहरूको साझा अपेक्षा भनेको सुशासन, भ्रष्टाचार नियन्त्रण र सबैलाई समेट्ने विकास हो।

यसपटक ललितपुर–२ का मतदाताहरू ‘पार्टी होइन, काम गर्ने मान्छे चाहियो’ भन्ने स्पष्ट सन्देशसहित चुनावी मैदानलाई नियालिरहेका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरमा पुरुष ४३ हजार २९८ र महिला ४५ हजार ८७४ गरी कुल मतदाता ८९ हजार ८२ मतदाता छन्। यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट सात गरी कुल २३ उम्मेदवार छन्।

तीमध्ये कांग्रेसका प्रेमकृष्ण महर्जन, एमालेका प्रेमबहादुर महर्जन, रास्वपाका जगदीश खरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राजेन्द्र अमात्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रघुवरराज थापा, उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अष्टराज बज्राचार्यलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

२०७९ सालमा भएके निर्वाचनमा ललितपुर–२ मा एमालेका प्रेम महर्जन विजयी भएका थिए। समानुपातिकमा भने रास्वपाले पहिलो स्थान हासिल गरेको थियो।

प्रकाशित: १५ फाल्गुन २०८२ २१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App