२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

बहिनी भेट्न आएका युवकलाई भाइले खेतमा लगेर हत्या गरे

प्रेमिकालाई भेट्न उनको घर पुगेका एक युवकको हत्या गरिएको छ। धनुषाको हंसपुर नगरपालिका–९ रुदौलीका १९ वर्षीय सुमित मण्डलको हत्या भएको छ। उनको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले शुक्रबार तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मृतक सुमितका प्रेमिका भनिएकी सोही नगरपालिका–६ सोनिगमाकी १७ वर्षीया काजल कुमारी मण्डल, उनका दाजु २० वर्षीय दिपेश कुमार मण्डल र २९ वर्षीय काका परमेश्वर मण्डल रहेको धनुषा प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले बताए।

उनका अनुसार काजलको घरमा कोही नभएको मौका पारेर सुमित बिहीबार उनलाई भेट्न उनको घर पुगेका थिए। काजलका काका परमेश्वरले सुमित घरमा आएको थाहा पाएपछि भतिजो दिपेशलाई जानकारी गराएका थिए। त्यसपछि दुवैजना मिलेर सुमितको हात डोरीले बाँधी मोटरसाइकलमा राखी घर भन्दा डेढ किलोमिटर पर खेतमा घाँटी रेटी हत्या गरेका थिए।

स ८ प १४८४ नम्बरको मोटरसाइकल लिएर मृतक सुमित काजलको घरमा पुगेका थिए। काजलका काका र दाजुले सुमित आएको थाहा पाएपछि उनको हात बाँधेर सोही मोटरसाइकलमा राखी खेतमा लगेर हत्या गरेका थिए। हत्यापछि उनीहरूले उक्त मोटरसाइकल धनौजी गाउँपालिकास्थित साथीको घरमा राखेको अवस्थामा प्रहरीले फेला पारेको छ।

मृतक सुमित र काजलबिच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए।

प्रकाशित: १५ फाल्गुन २०८२ २२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App