प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
बिहीबार मध्याह्नदेखि अपराह्नसम्म करिब तीन घण्टा भेटवार्ता भएको थियो । भेटमा निर्वाचन केन्द्रित कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।
उनले भने, ‘उहाँहरूबीच निर्वाचन केन्द्रित कुराकानी भयो ।’
एमालेका एक नेताले पनि भेटवार्ताको पुष्टि गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई एमाले निर्वाचनमा जान तयार रहेको जानकारी दिएको बताए। उनका अनुसार भेटमा सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने विषयमा ओलीले जोड दिएका थिए।
उनले भने, ‘प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकै विषयमा कुराकानी भयो। सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्षको जोड थियो।’
भेटको सुरुवातमा प्रधानमन्त्री कार्कीले एमालेले निर्वाचनको वातावरण बनाउन सहयोग गरेको भन्दै धन्यवाद दिएकी थिइन्। उनले आगामी प्रक्रियामा पनि एमालेको सहयोग रहने विश्वास व्यक्त गरेकी थिइन्।
जवाफमा अध्यक्ष ओलीले एमाले ध्वंश र विनाश गर्ने पार्टी नभएको उल्लेख गर्दै निर्वाचन हुन नदिने, बाधा वा व्यवधान सिर्जना गर्ने गतिविधिमा संलग्न नहुने स्पष्ट पारेका थिए।
साथै, सरकारले चुनावको वातावरण बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्ने, शान्ति सुरक्षा र सुव्यवस्थामा थप ध्यान दिनुपर्ने धारणा राखेका थिए।
प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच यसरी एक्ला एक्लै भएको यो पहिलो भेट हो। यसअघि राष्ट्रपति भवन शीतल निवास र प्रधानमन्त्री निवासमै दुवैबीच सामूहिक भेट र छलफल भएको थियो।
प्रकाशित: २४ पुस २०८२ १९:१७ बिहीबार





