१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

पाँच वर्षको संघर्षपछि बल्ल नागरिकता

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङबाट नागरिक लिँदै मोहन गोडिया ।

बुधबार बिहान कोहलपुर नगरपालिका–११ का मोहन गोडियाको अनुहारमा अचम्मको चमक थियो । हातमा समातेको सानो कागजले उनको जीवनको दिशा नै बदलिदिएको थियो । त्यो कागज कुनै सामान्य कागज थिएन, ‘पाँच वर्षको पीडा, निराशा र अथक संघर्षपछि प्राप्त भएको नेपाली नागरिकताको प्रमाणपत्र थियो ।’

करिब पाँच वर्षअघि नागरिकता लिन सुरु भएको मोहनको यात्रा सहज थिएन । कहिले जिल्ला प्रशासन कार्यालयका ढोका ढक्ढक्याए, कहिले अदालतका गल्छीमा भौतारिए । गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाए । हरेक ठाउँबाट आश्वासन त पाए, तर नागरिकता भने हात लागेन । कतिपय दिन उनी निराश भएर घर फर्किन्थे, तर भोलिपल्ट फेरि त्यही आशा बोकेर कार्यालयका सिँढी उक्लिन्थे ।

‘आज मेरो खुसीको कुनै सीमा छैन,’ नागरिकता पाएपछि भावुक हुँदै मोहनले भने, ‘पाँच वर्षदेखि चलिरहेको मेरो लडाइँ आज पूरा भयो ।’ मोहन केवल नागरिकताविहीन युवक मात्र थिएनन्, उनी राष्ट्रिय स्तरका खेलाडी हुन् । खेल मैदानमा देशका लागि पसिना बगाउने सपना बोकेका मोहनलाई नागरिकता नहुँदा प्रतियोगितामा सहभागी हुनसमेत रोक लगाइयो । खेलकुद करिअर मात्र होइन, पढाइसमेत प्रभावित भयो । उनीसँग प्रतिभा थियो, मेहनत थियो, तर पहिचान थिएन ।

उनको समस्याको जरो कानुनमै थियो । नेपाल नागरिकता ऐन, २०६३ अनुसार जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानले बाबु र आमा दुवैको नागरिकता पेश गरेपछि मात्र नागरिकता पाउने व्यवस्था थियो । बाबु बेपत्ता, मृत वा सम्पर्कविहीन भएका सन्तानका लागि यो प्रावधान अभिशापजस्तै बनेको थियो । मोहनका बाबु लामो समयदेखि सम्पर्कविहीन छन् । आमाको काखमा हुर्किएका उनले सबै प्रमाण हुँदाहुँदै पनि वर्षौँसम्म नागरिकताविहीन जीवन बिताउनुप¥यो । हरेक सरकारी कार्यालयमा उनको कथा उस्तै थियो, ‘कागज पूरा छैन ।’

तर समय बदलियो । नेपाल नागरिकता ऐनको दोस्रो संशोधन नियमावली चौथोपटक संशोधन भई राजपत्रमा प्रकाशित भएपछि मोहनका लागि बन्द ढोका खुले । नयाँ संशोधनले जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था ग¥यो । नेपाली वंशकी महिलाबाट जन्मिएका, बाबुको पहिचान नखुलेका कारण नागरिकता नपाएका नागरिकका लागि यो संशोधन आशाको किरण बन्यो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङकै हातबाट बुधबार मोहनले नागरिकता प्राप्त गरे । कागज हातमा पर्दा उनको आँखामा आँसु झल्किन्थ्यो ।

छोराले नागरिकता पाएपछि उनकी आमा माया कुमारी गोडिया झनै भावुक भइन् । ‘मेरो छोराले आज न्याय पायो,’ उनले भनिन्, ‘अब उसले पनि अरूजस्तै जीवन जिउन पाउनेछ ।’

नागरिकता पाएसँगै मोहनको जीवनमा नयाँ अध्याय सुरु भएको छ । अब उनी खेल मैदानमा निर्धक्क दौडिन पाउनेछन्, पढाइ अघि बढाउनेछन् र भविष्यका सपना खुला आँखाले देख्न सक्नेछन् । मोहन गोडियाको कथा केवल एक व्यक्तिको जित होइन, वर्षौँदेखि कानुनी जटिलतामा अल्झिएका हजारौँ युवाको आशा र सम्भावनाको कथा पनि हो ।

प्रकाशित: २४ पुस २०८२ १९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App