६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

लकडाउनको बाटो

दिप्सन नेपाल

कक्षा –६,  

वाल्मीकि शिक्षा सदन, भरतपुर, चितवन ।

 

हामीले पढ्ने समाजिक विषयमा समाजका बारेमा पढ्छौं । समाजमा छिमेकीहरू आपसमा मिलेर बस्छन् । समाजका सबै विषमा छिमेकीहरू मिलेर काम गर्छन् । एउटाको समस्या समाधानमा अर्काले सहयोग गर्नु असल छिमेकीको कर्तव्य हो । हामीले सामाजिक विषयमा समाजका यस्तै राम्रा गुणहरूको बारेमा पढेका छौं । यति मात्र होइन, समाजमा नराम्रा मान्छेहरू पनि छन् । समाजका नराम्रा क्रियाकलाप र खराब स्वभावका मान्छेहरू पनि हुन्छन् । तर, राम्रा मान्छेहरूले समाजको नेतृत्व गरेका हुन्छन् ।

हाम्रो टोलको नाम रमाइलो टोल विकास संस्था हो । यो भरतपुर महानगरपालिकाको वडा नम्बर १० को उत्तरी क्षेत्रमा पर्छ । यहाँ बस्ने सबैले आआफ्नै पेसा, व्यवसाय, जागिर गरेर आफ्नो दैनिकी चलाउनुभएको छ । यहाँ सरकारी जागिरे, शिक्षक, पत्रकार, व्यापारी, राजनीतिज्ञ, कृषक सबैखाले पेसाका मानिसहरू बस्नुहुन्छ । यहाँका मानिसहरूमा एकता छ ।

म बसेको समाजमा सबै राम्रा मान्छेहरू छन् । मैले यसपटक आफ्नो टोलमा बस्ने छिमेकीहरूमा राम्रो गुण भएको थाहा पाएँ । यसपालि सबैले मिलेर सँगै काम गर्दा हाम्रो टोलमा रहेको दुईवटा बाटो पिच भयो । सरकारले लकडाउन घोषणा गरेको थियो । हाम्रो टोलमा भने यही लकडाउनमा सम्झनलायक काम भयो । महानगरपालिका भए पनि हामी बस्ने टोलको बाटो पिच भएको थिएन । टोलका ठूला मान्छेहरू चैत्र महिनाको अन्तिमतिर हाम्रो घरकै अगाडि भेला भएको देखेको थिएँ । त्यो भेलाले हाम्रो टोलका दुईवटा बाटामा पिच गर्ने निर्णय गरेको रहेछ । टोलमा बस्ने अभिभावकहरूले एउटा बाटाको नाम आदर्श पथ र अर्को बाटाको नाम सिर्जनशील पथ भनेर नाम राख्नुभएको थियो । मेरो घरचाहिँ सिर्जनशील पथमा पर्छ । पिच हुने कुरा सुनेपछि हामीलाई पनि खुसी लाग्यो । बाटो पिच भएपछि घरअगाडि सफा हुन्छ । गाडी नचलेको बेला खेल्न पनि हुन्छ । आवतजावतमा सजिलो हुन्छ । मलाई थाहा छ, बाटोमा खेल्नुहुन्न । तर हाम्रो घरअगाडि त्यति धेरै गाडी हिँड्दैन । यो भित्री बाटो हो ।

बाटो पिच भएको मैले पहिलोपटक नजिकबाट देखें । बाटो पिच गर्दा थरीथरीका गाडी आएका थिए । पहिला बाटो सम्म बनाउने काम भयो । यसपछि गिट्टी हालेर बाटालाई केही अग्लो बनाए । बाटालाई बलियो बनाउन रोलर ल्याएर थिचे । पछि अलकत्रा हालेर कालो बनाए । सबैभन्दा पछि कालो गिट्टी ल्याएर पिच बनाए । पिच बनाउने दिन एकैपटक तीनवटा गाडी आएको थियो । मलाई यो सबै कुरा नौलो लागेको थियो र रमाइलो पनि लागेको थियो । आफ्नै आँखाअगाडि बाटो पिच भएको देख्दा म खुसी भएँ । ठूला मान्छेहरू पनि खुसी भएको देखें ।

हाम्रो घरसँगैको घरेडीमा ब्याडमिन्टन कोर्ट पनि बनाएको छ । यहाँ म पनि खेल्न जाने गरेको छु । पहिला मैले ब्याडमिन्टन खेल्न जानेको थिइनँ । लकडाउनको बेलामा दिदीसँग र टोलका साथीहरूसँग खेल्दाखेल्दै मैले पनि खेल्न सिकेँ । लगातार लागिरहेपछि नजानेको काम पनि सिकिँदो रहेछ । लकडाउनमा स्कुल जान त पाएका छैनौं । तर आफ्नै घरअगाडि बाटो बनेको र ब्याडमिन्टन खेल्न जानेको हुँदा खुसी लागेको छ । सबै जनाको मेलमिलाप भयो भने हरेक काम सजिलो हुँदो रहेछ । हामीले सामाजिक शिक्षामा पढेजस्तै टोलका सबै मान्छेमा यसैगरी मेलमिलाप भयो भने सबैतिर राम्रो काम हुन्थ्यो कि !  

प्रकाशित: १५ श्रावण २०७७ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App