कीट भन्छन् नयाँ आविष्कारसँग जोडिएको
र प्रकृतिसँग नै विचरण गरिरहेको
के आयो यो ध्वंश ?
कसैले अपभ्रंश भने
कसैले तत्सम तद्भव भने
कसैले शुक्रकीट भने
कसैको गर्भबाट त्यागित
तिमीले के सोचिरहेछौ ?
फरक महादेश त हो
विश्व एउटै हो भन्छन्
हो, के कारण लकडाउन भो ?
नेपाल प्रज्ञा प्रतिष्ठानकी पहिलो महिला प्राज्ञ तथा कवि तोया गुरुङले भर्खरै लेखेको कविता हो ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले देश नै बन्दाबन्दी (लकडाउन) गरेको अवस्थामा साहित्यकार के गर्दै होलान् ? तोया गुरुङले फोनमा भनिन्, ‘मैले त भर्खरै कविता लेखेँ नि । यसको शीर्षक हो, अर्थात् तिमीलाई ।’
त्यसपछि उनले उपरोक्त अंश सुनाइन् । सेल्फ क्वारेन्टाइनमा घरमै बसेका बेला कोरोना भाइरसबारे चिन्तन गर्दै जाँदा उनलाई कविता फुर्यो । अहिले घरमा बसिरहन अलि सकस भएको उनको अनुभव छ । उनी भन्छिन्, ‘म पहिले पनि त्यति बाहिरफेर जान्नथेँ । अहिले भने घरमै बसिरहनुपर्छ भन्ने मानसिकता भएर हो कि अलि सकस महसुस भएको छ । बाहिर गएर किनमेल गर्न पाएकी छैन ।’
उनी यतिबेला पढ्ने र लेख्ने काममा लागेकी छन् । सँगसँगै कोरोनाबारे जानकारी लिइरहेकी उनी भन्छिन्, ‘यस्तो महामारी भइरहन्छ । खासै डर लागेको छैन ।’
पछिल्लो समय घरबाटै कार्यालयको काम गर्ने प्रवृत्ति बढ्दै गएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा नेपाली गद्य साहित्य विभाग प्रमुख माया ठकुरी घरबाटै कार्यालयको काम गर्छिन् । उनी यतिबेला ‘समकालीन साहित्य’ (त्रैमासिक) पत्रिका प्रकाशनको तयारीमा जुटेकी छन् । उनी यसका लागि सामग्री संकलन गरेर कार्यकारी सम्पादक डा. सुदन पौडेललाई पठाउँछिन् ।
त्यस्तै, उनले अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छन् । माया भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ ।’
उनले ‘घाट’ शीर्षकको कथा लेखिसेकेकी छन्, जुन प्रकाशनका लागि पठाइसकेकी छन् । उनको बानी छ– धेरै कृतिहरू पढ्ने र थोरै लेख्ने । उनी आफूले लेख्न लागेको विषयबारे श्रीमान् र छोरीसँग छलफलसमेत गर्छिन् ।
लकडाउनमा उनको घरमा नयाँ परिकार पाक्ने गरेको छ । ‘लकडाउनले त नयाँ–नयाँ परिकार बनाउने अवसर जुटाइदिएको छ,’ उनी भन्छिन्, ‘सबै मिलेर कहिलेकाहीँ नयाँ परिकार बनाएर खान्छौँ ।’
त्यस्तै, उनी यतिबेला घरमा रहेका तर आफूलाई नचाहिने सामग्री संकलनमा जुटेकी छन् । उनलाई उपहारका रूपमा धेरै सामग्री दिइन्छ, जसलाई उनी बडो जतनसाथ राख्छिन् । अनि, एक–दुई वर्षको अन्तरालमा यस्ता सामग्री लिएर आश्रमहरुमा पुग्छिन् । उनले पछिल्ला केही वर्षदेखि आश्रममा यस्ता सामग्री बाँड्दै आएकी छन् । ‘आफूलाई नचाहिने सामग्री संकलन गरेर राखेकी छु, जसलाई अनाथालय, वृद्धाश्रममा लगेर बाँड्नेछु ।’
पछिल्लो समय लकडाउनका कारण पत्रपत्रिका पढ्न नपाएकामा सकस भएको उनको भनाइ छ । उनी हिजोआज अनलाइनबाटै देश–विदेशको अवस्थाबारे जानकारी लिन्छिन् ।
उनले आफ्ना पुराना गीत संकलनमा समेत समय खर्चेकी छन् । अहिले उनका गीतहरू फेसबुकमार्फत सेयर हुन थालेका छन् । ‘अल इन्डिया र रेडियो नेपालमा रेकर्ड भएका मेरा गीत संकलन गरेकी छु । ती गीत सेयर गर्छु,’ उनी भन्छिन् ।
उनलाई कोरोनाका कारण विदेशमा रहेका नेपाली दाजुभाइले दुःख पाएको सुन्दा दुःख लाग्छ । उनी भन्छिन्, ‘कमाउन बिदेसिएका धेरै दाजुभाइ तथा दिदीबहिनी घरका धुरी हुन् । धुरी नै ढल्यो भने यहाँ परिवारको हालत के होला, यसबारे सोच्छु ।’
उनका दुई नाति छन् । उनीहरू घर सरसफाइमा खटिन्छन् । उनी नातिलाई स्वावलम्बी बन्न प्रेरणा दिन्छिन्– लुगा, सरसफाइ र खाना पकाउन सिक्नुपर्छ ।
उनी घरमै क्वारेन्टाइनमा बसेर सतर्कता अपनाउँदै छिन् । उनको बुझाइ छ– आफ्नो तर्फबाट सतर्कता अपनाउनु हरेक नागरिकको कर्तव्य हो । उनको आग्रह छ– यो आपतको घडीमा सक्दो धैर्य धारण गरौँ । घरदेखि बाहिर ननिस्कौँ ।
उनले यतिबेला क्वारेन्टाइन र ऋषिमुनिहरूको एकान्तवासलाई दाँज्ने गरेकी छन् । उनी भन्छिन्, ‘ऋषिमुनिहरू जंगलमा गएर एकान्तवास बस्थे । उनीहरूले जंगली जनावरको त्रास, रोगव्याधि जितेर दिव्य ज्ञान प्राप्त गरे । त्यस्तै एकान्तबास बसेरै कोरोनाबाट बच्न सकिन्छ । यो फैलिन पाउँदैन ।’
कथाकार अनिता तुलाधर त्रिपुरेश्वरस्थित निवासमै क्वारेन्टाइनमा बसेकी छन् । यतिबेला सबै परिवार घरमै बस्न पाएकामा उनलाई खुसी लागेको छ । उनीसँग यतिबेला लेखनका लागि कम समय छ, सबैजना घरमा भएकाले लेख्ने–पढ्ने समय कम भएको हो ।
उनी बिहानै उठेर पूजापाठ गर्छिन् । केही समय व्यायाम गर्छिन् । उनको घरनजिकै चौर छ तर उनी चौरसम्म जाँदिनन् । उनी भन्छिन्, ‘यस्तो बेलाा बाहिर जाने कुरा भएन ।’
उनको कौसीमा ५–६ सय गमला छन्, जसमा प्रायः सबै थरीका फलफूल छन् । उनले गमलामै तरकारी लगाएकी छिन् । अहिले उनले गमलामै उत्पादित तरकारीबाट गुजारा चलाउँदै आएकी छन् ।
उनको घरमै साँझपख आफन्तको जमघट भइरहन्थ्यो । पछिल्लो समय कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आउजाउ बन्द गरिएको छ उनको घरमा ।
उनले पहिले–पहिले घरमा धेरै जनावर पाल्थिन् । अहिले उनीसँग ५–६ वटा कुकुर छन् । परिवार, गमला र कुकुरको हेरचाहमै उनको दैनिकी बित्ने गरेको छ ।
लकडाउनको ४–५ दिन त घरमा निकै रमाइलो माहोल सिर्जना भएको थियो । अहिले भने थपिएको उनको भनाइ छ । उनी भन्छिन्, ‘उही कामको चिन्ता छ, नातिनातिनाको पढाइको चिन्ता । हुन त हामी जस्तालाई खासै गाह्रो छैन । एउटा कोठामा बस्नेलाई धेरै गाह्रो छ ।’
उनी कारोनाको प्रभावका विषयमा केही लेख्ने सोचमा छिन् ।
कथाकार पद्मावती सिंह घरमै क्वारेन्टाइनमा छिन् । उनी बिहानै पूजाआजा गर्छिन् । उनको घरअघि एउटा बगैँचा छ, जहाँ उनले बिहानी समय बिताउने गरेकी छन् । उनी आफ्नो दैनिकी सुनाउँछिन्, ‘फूलमा पानी हाल्छु । सरसफाइ गर्छु । यत्तिकैमा बिहान बित्छ । बाहिर कतै निस्किएकी छैन ।’
उनी दिउँसोतिर फुर्सदिली हुन्छिन् । यतिबेला उनलाई पत्रपत्रिका तथा पुस्तक पढ्ने रहर जाग्छ । तर पत्रपत्रिका र पुस्तक किन्न नपाएकामा उनी दुःखित छिन् । ‘आफूसँग भएका किताब पढिसकेँ । बजारमा गएर नयाँ पुस्तक ल्याउने अवस्था छैन । त्यसैले दिउँसो चाहिँ अलि खल्लो लाग्छ,’ उनी भन्छिन् ।
उनी साँझपख बगैँचामै जान्छिन्, घुमफिर गर्छिन् । बगैँचामा झरेका रूखका पात पतिङ्गर सफा गर्छिन् ।
उनी प्रायःटिभी हेर्छिन्, गीत सुन्छिन् । तर केही लेख्न सकिरहेकी छैनन् । लेख्न नसकेको कारण सुनाउँछिन्, ‘जताततै कोरोनाकै चर्चाले दिमाग शून्य बनाएको छ । धेरै कुराले मन छोए पनि लेख्न भने सकेकी छैन । कोरोनाको विषयवस्तुमा लेख्ने योजना बनाएकी छु । कोरोनाका कारण धेरैको मृत्यु भएको र यो रोग फैलिँदै गएको समाचार सुन्दा नमीठो लाग्छ ।’
उनको बुझाइ छ– लकडाउन अवसर हो, लेखकलाई लेख्ने अवसर छ, परिवारसँग रमाउने अवसर छ । साथीभाइसँग फोन, फेसबुकमार्फत गफिने अवसर छ ।
कवि तथा समालोचक डा. गीता त्रिपाठी अन्य परिस्थितिमा भन्दा यो स्थितिमा घर बस्नु फरक भएको सुनाउँछिन् । उनी भन्छिन्, ‘यो समय सिर्जनात्मकताका निम्ति मानसिक स्वतन्त्रताको समय हुन सकिरहेको छैन । अधिकांश समय सामाजिक सञ्जालमा बितेको छ, संशययुक्त छ, विश्वको स्थिति ।’
उनले बाँकी अनुसन्धानका काम गर्ने र संकलित किताबहरू पढ्ने योजना बनाएकी छन् ।
यो पनि पढ्नुहोस्
‘झलनाथ खनालले मसँग पुस्तक किन्नुभयो’
यो पनि पढ्नुहोस्
अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’यो पनि पढ्नुहोस
प्रकाशित: २ जेष्ठ २०७७ १०:१९ शुक्रबार