८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

शिक्षामा चरम विभेदको विरोधमा अखिल क्रान्तिकारीको ‘अनुगमन समिति’ गठन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले बागमती प्रदेश संयोजक तथा केन्द्रीय सदस्य मिमबहादुर ऐडीको नेतृत्वमा २१ सदस्यीय ‘अनुगमन समिति’ गठन गरेको छ।

उक्त समितिको उद्देश्य संविधानमा उल्लिखित शिक्षा नियमावलीका प्रावधानहरूलाई अक्षरशः कार्यान्वयन गराउने र गत चैत २६ गते केन्द्रीय समितिले सरकारसमक्ष बुझाएको ३९ बुँदे मागपत्रको प्रभावकारी कार्यान्वयनमा दबाब सिर्जना गर्नु रहेको छ।

संगठनले यसअघि नै बागमती प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालय र जिल्लास्तरीय स्थानीय तहहरूमा ३९ बुँदे मागपत्र बुझाइसकेको छ।

विज्ञप्तिमार्फत संगठनले शैक्षिक सुधारको अभियानमा सरोकारवाला निकाय, सुरक्षा निकाय र पत्रकारहरूलाई सहयोगको अपिल गर्दै, वैज्ञानिक समाजवादी शिक्षाका लागि स्पष्ट कार्यदिशा, नीति र कार्यक्रमसहित संघर्ष जारी राख्ने जनाएको छ।

संगठनले राज्यको शिक्षा नीति प्रति गम्भीर आपत्ति जनाउँदै पैसा हुने र नहुनेबीच शिक्षामा भइरहेको चरम विभेद, निजीकरण र व्यापारीकरणका कारण सर्वसाधारण नागरिकको पहुँच शिक्षा प्रणालीबाट टाढिँदै गएको यथार्थ प्रस्तुत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘‘राज्य शिक्षाका व्यापारीहरूप्रति उदारमात्र छैन, बरु शिक्षालाई मुनाफा कमाउने माध्यम र विद्यार्थीलाई विदेशीको आधुनिक दास बनाउने नीति लिइरहेको छ।’’

अखिल क्रान्तिकारीले पूर्ण निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणालीको स्थापना गर्दै वर्तमान राष्ट्रिय आवश्यकता अनुसार वैज्ञानिक समाजवादी शिक्षानीति लागू गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

त्यसका लागि तत्कालीन शैक्षिक सुधार कार्यक्रमहरूलाई देशभर दृढतापूर्वक कार्यान्वयन गरिने उल्लेख गरिएको छ।

प्रकाशित: ८ वैशाख २०८२ २३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App