पोखराको एक रेष्टुरेन्टमा आफूलाई प्रहरी उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको अभियोगमा एक युवक पक्राउ परेका छन्।
आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरेन्ट एण्ड बारमा खाना खाएर पैसा नतिरी आफू प्रहरीको डीएसपी भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीसँग अभद्र व्यवहार गरेका उनलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन्। घटना सम्बन्धी जानकारी प्रहरी कन्ट्रोलमा प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पौडेलले आफू प्रहरी भएको भन्दै बारमा धाकधम्की दिएको मात्र नभई, मागअनुसारको खानेकुरा खाइसकेपछि पैसा नतिर्ने प्रयास गरेका थिए।
घटनालगत्तै पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए।
प्रकाशित: ८ वैशाख २०८२ २२:०० सोमबार