८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

वास सम्मेलनमा खानेपानी मन्त्रीको आश्वासन: ‘बजेट अभाव हुन दिने छैनौं’

बृहत वास सम्मेलनको तस्बिर – गोल्डेन बुढा / नागरिक

जुम्लाको हिमा गाउँपालिका–१, देवारगाउँमा सोमबार सम्पन्न बृहत वास सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा ठोस प्रतिबद्धता जनाएको छ।

‘सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता’ अभियान अन्तर्गत हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको हो।

संघीय खानेपानी मन्त्री प्रदीप यादवको सहभागिता रहेको सम्मेलनमा खानेपानी तथा सरसफाइका विषयमा स्थानीय तहबीच समन्वय र दीर्घकालीन योजना निर्माण गर्न जोड दिइएको थियो।

सम्मेलनमा मन्त्री यादवले जुम्लाको खानेपानी पूर्वाधारमा बजेट अभाव हुन नदिने स्पष्ट पारे।

उनले भने, ‘‘चालु आर्थिक वर्षभित्रै जुम्लाको खानेपानी विकासमा करोडौं रुपैयाँ बजेट पठाउने छौं। खानेपानीका कुनै पनि आयोजना बजेटकै कारण अलपत्र पर्न दिन्नौं। डिपिआर बनाएर पठाइदिनुस्, हामी स्रोत सुनिश्चित गरेर पठाइदिन्छौं।’’

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार सम्मेलनले सिंजा क्षेत्रका तीन गाउँपालिकाको खानेपानी तथा सरसफाइको वर्तमान अवस्था र चुनौतीहरू उजागर गरेको छ।

सम्मेलनले जारी गरेको ११ बुँदे घोषणापत्रमा सबै पालिकामा खानेपानी योजना सहायता केन्द्र स्थापनासहित मर्मतसम्भार कोषको व्यवस्था गर्ने, ‘एक घर, एक धारा’ र ‘एक घर, एक सुधारिएको शौचालय’ निर्माण अभियान तीव्र बनाउने, हरेक घरमा साबुनपानीले हात धुने बानीको विकास गराउने, सरसफाइ उन्मुख पालिका निर्माणका लागि समन्वय समिति, कार्यदल, आमा समूह र सरोकारवालाबीच सहकार्य मजबुत बनाउने, सार्वजनिक स्थल र संस्थामा लैंगिकमैत्री सुरक्षित खानेपानी तथा सरसफाइ सुविधा सुनिश्चित गर्ने लगायतका विषय समेटिएका छन्।

साथै, सामाजिक रुपमा देखिएका हानिकारक कुप्रथाको अन्त्य गर्न सचेतनामूलक अभियान सञ्चालन गर्ने, पानीको बहुपयोग प्रणालीलाई प्राथमिकतामा राखी योजना निर्माण गर्ने, करेसाबारी तथा तरल फोहोरको व्यवस्थापन गर्दै वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने, पालिकाको वार्षिक विकास बजेटको कम्तीमा १० प्रतिशत खानेपानी तथा सरसफाइ क्षेत्रमा विनियोजन गर्ने र सरसफाइ इकाइलाई स्थायी शाखाको रुपमा स्थापना गर्ने निर्णय पनि घोषणापत्रमा समावेश गरिएको छ।

सम्मेलनपछि मन्त्री यादवले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ बृहत खानेपानी आयोजना र कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरेका थिए।

१ अर्ब २६ करोड ८ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको धौलीगाढ आयोजना एक वर्षभित्र सम्पन्न हुने बताइएको छ। आयोजनाबाट चन्दननाथ नगरपालिका (१–१० वडा), गुठीचौर गाउँपालिका (३–५ वडा) र तातोपानी गाउँपालिका (१–६ वडा) गरी ९ हजार १ सय ८ घरधुरीका ४४ हजार १ सय ६३ जनसंख्या लाभान्वित हुनेछन्।

आयोजनाको मुहान खलंगाबाट १५ किलोमिटर दूरीमा रहेको छ। मन्त्री यादवसहित मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ लगायतको टोली शनिबार नै जुम्ला आइपुगेको थियो।

प्रकाशित: ८ वैशाख २०८२ २३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App