१८ असार २०७७ बिहीबार
कला

अचार र मासुका सौखिन स्वरसम्राट्

काशीराम भलजु

काठमाडौं - गत मंसिर १९ मा महाराजगञ्जस्थित स्वरसम्राट नारायणगोपाल निवासमा संगीतकर्मी, साहित्यकार र कला अनुरागीले उनको २८ औं स्मृति दिवस मनाइरहँदा त्यही भीडमा ढाका टोपी लगाएका एक अधवैशे व्यक्ति सामान यताउता सारिरहेका थिए। नारायणगोपाल संगीतकोषले आयोजना गरेको सम्मान कार्यक्रममा आएका निम्तालुको स्वागत सत्कारदेखी कार्यक्रम सकिएपछिको सामान मिलाउन तिनै व्यक्ति सक्रिय थिए।

झण्डै एघार वर्षको उमेरमा आफ्ना ठुलोबुवामार्फत स्वरसम्राटको घरमा काम गर्न पुर्‍याइएका उनै काशीराम भलजु स्वरसम्राटलाई सम्झँदै निम्तालुलाई स्वागत गर्नदेखि कार्यक्रममा पुग अपुग कुरा बुझ्न व्यस्त थिए। काशीरामका अनुसार उनलाई पहिलोपटक देख्दा गायक नारायण गोपाल र उनकी पत्नी पेमला मख्ख परेका थिए। ‘मलाई उहाँहरूले पढाइदिने गरि ल्याउनु भएको थियो। तर म आफै बिरामी परेर पढ्न सकिनँ’, उनले नागरिकसँग भने, ‘घरकै आमाबुवाले गरे जस्तै माया गर्नुहुन्थ्यो। घरको रेखदेख गर्ने, पेमलालाई खाना पकाउन सघाउने अनि नारायणगोपालको अनेक सौखको साक्षी म नै थिएँ।’

भलजु जाडोको लामो रातमा नारायणगोपाल आधा रातमै हार्मोनियम समातेर रियाज गरेको देख्थे। हार्मोनियम बज्न थालेपछि पेमला र भलजुलाई निन्द्रा लाग्दैन थियो। बिहान ६ बजेसम्म चल्ने उनको रियाजका बेला चिया पुर्‍याउने जिम्मा भलजुकै हुन्थ्यो। ‘गर्मीको समयमा उहाँ रातीदेखि नै गीत संगीतका अनेक पुस्तक अध्ययन गर्नुहुन्थ्यो। रियाज र अध्ययनमा बस्दा उहाँलाई धेरै पानी पिउनुपथ्र्यो’, भलजुले सम्झे, ‘जतिखेर पनि उहाँको अगाडि गिलासमा पानी हुन्थ्यो। तर त्यही पानीलाई देख्नेहरूले रक्सी पिएको ठान्थे। यतिसम्म कि एकल साँझमा उहाँले पटक–पटक पिएको पानीलाई समेत रक्सी नपिइ नारायण गोपाल गाउन सक्दैन भन्दै आलोचना गर्थे।’

रियाज र अध्ययनमा बस्दा उहाँलाई धेरै पानी पिउनुपथ्र्यो। जतिखेर पनि उहाँको अगाडि गिलासमा पानी हुन्थ्यो। तर त्यही पानीलाई देख्नेहरूले रक्सी पिएको ठान्थे।

नारायणगोपालको निधनपछि बजारबाट घर फिर्दै गर्दा उनकी पेमलालाई पनि उनलाई चिन्नेले ‘नारायणगोपाल रक्सी पिएरै मरेको’ भन्ने गरेको अनुभव भलजुसँग छ। ‘यस्तो हैन भनेर प्रतिवाद गर्न पनि कुनै प्रमाण मसँग थिएन भन्दै मसँग रुनु हुन्थ्यो,’ उनले सम्झे।

नारायणगोपालको साथीभाइसँग रमाइलो गरेर पिउने बानी थियो। तर उनमा बाहिर भनिएजस्तो अत्याधिक पिउने बानी थिएन। भलजुका अनुसार स्वरसम्राट घरमै माछा, मासुका विभिन्न परिकार बनाउने अनि साथीभाइको जमघटमा गीतसंगीत र शब्द फुराउदै रमाइलो गर्थे। गाउँदाको समयमा उनलाई मनतातो पानी अनिवार्य थियो।

‘मासुको त यति सौखिन कि हरेकदिन भान्छामा मासु पाक्थ्यो। उहाँ मेरै सहयोगमा छोयला, कचेला, कवाफ, भुटनलगायतका राँगाका मासुका थरीथरीका परिकार बनाउनु हुन्थ्यो। कागती निचोरेर मासुमा मला मोलेर पकाउन तयार पार्न निकै हौसिनुहुन्थ्यो’, भलजु विगत फर्किए, ‘म चाहिँ भुसे चुल्होको आगो र दम दिने मट्टितेलको स्टोभमा पकाउन चाहिने सामग्री व्यवस्थापन गर्थें। पकाएपछि मासुको टुक्रा पहिला मलाई नै चाख्न दिनुहुन्थ्यो। त्यसपछि मिठो भयो भनेपछि मात्र पेमला भाउजु चाख्नुहुन्थ्यो।’

स्वरसम्राट निवासमा शनिबार प्रायः खसीको मासु कहिल्यै टुट्दैन थियो। नारायण गोपाल र पेमला छुट्टाछुट्टै बजार पुगेर मासु ल्याउँथे। कहिलेकाहि उसले ल्याउला भनेर दुबै खाली हात आइपुग्थे। नारायणगोपाल ट्वाक्क जिब्रो पड्कने अचारको पनि पारखी थिए। ‘एकदिन उहाँलाई निबुवाको अचार बनाउने रहर जाग्यो। हामी दुबै मिलेर २५ वटाजति निबुवा केलायौं। मेथी, मसला, मुंग्रेलो, खुर्सानी, तोरी भुटेर पिध्यौं’, भलजुले भने, ‘उहाँले यसो गर उसो गर भन्नुहुन्थ्यो। म त्यसै गर्थे। नुन पुग्यो कि पुगेन चाख चाख भन्दै अचार मेरो मुखमा राखिदिनुहुन्थ्यो। मुला, काउली, करेला मिश्रित अचार बनाएर बट्टामा राखी घाममा लहरै सुकाउनुहुन्थ्यो। ती अचार पाहुनालाई कोशेली पठाइन्थ्यो।’

खाना पकाउन नजान्ने भलजुकै कारण पेमला र नारायणगोपाल दुबै बाहिर जाँदा छिट्टै फर्कन्थे। भलजु पेमलाले भनेको ‘यसले कहिले भात पकाउन जान्दछ र मलाई पनि खुवाउला अनि आफु नि खाला खै’ भनेको अझै सम्झन्छन्। तेह« चौध वर्षको भएपछि भलजुलाई नारायणगोपालले आफैंले तरकारी पकाउन सिकाए। पेमला बजार गएपछि दुबैजना भान्छामा पसे। हरियो बकुला, गोलभेडा र मटरकोसाको तरकारी केलाएर भलजुलाई पकाउन अह«ाए। उनलाई नुन, मसला अड्कल्न सिकाए। पाकेपछि नारायणगोपालले आफै चाखे। ‘मिठो भयो मिठो भयो,’ पेमला आउनासाथै सुनाए, ‘भलजुले भात, तरकारी पकाउन जान्यो हेर त पेमला।’ पेमलाले पनि भलजुले बनाएको तरकारीको स्वाद पहिलो पल्ट चाखिन्। ‘म निकै खुशी भए त्यो दिन भात पकाउन जाने’, भलजु भन्छन, ‘त्यसपछि भात खान घरमा उहाँहरूलाई कुर्न परेन।’ नारायणगोपालले नीर शाह, शम्भुजीत बासकोटा, कालीप्रसाद रिजाललगायतसँग तास खेल्दा भलजु हेरेर रमाइलो लिन्थे।

नारायणगोपाल र पेमला दुबैको निधन भएपछि भलजु एक्लो झैं भए। ‘पछाडिको टहरो तिम्रै नाममा गरिदिउँला। सँधै सँगै बस्नुपर्छ भन्नुहुन्थ्यो’, भलजु न्यास्रो पोख्छन्, ‘तर उहाँहरू नभएपछि सबै अलपत्र भयो।’ भलजुले स्वरसम्राटको घरपरिसर अब गीतगंगा संगीत संग्रहालय बन्ने भएपछि नारायणगोपालले देखेको एउटा सपना पुरा हुन लागेको बताए।

प्रकाशित: १५ पुस २०७५ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App