नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्द्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले शुभकामना सन्देश पठाएको छ।
पाठ्यक्रम विकास केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले यो फिल्मको निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना सम्बन्धमा’ विषयको पत्र पठाउँदै सफलताको शुभकामना अर्पण गरेको हो।
पत्रमा भनिएको छ, ‘पद्मा ईश्वर ईन्टरनेट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित चलचित्र हो। यस्ता प्रकृतिका समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रहरूलाई राज्यका निकाय लगायत तथा सरोकारवाला समाजिक संघसंस्थाले संरक्षण सम्वर्द्धन गर्नु पर्ने देखिन्छ। भविष्यका कर्णधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकाले विशेषतः विद्यालयस्तरका बालबालिकालाई यो चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ। देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नुभएकोमा निर्माण टिमलाइ विशेष धन्यवाद दिन ज्ञापन गर्छु।’
आउँदाे असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी,भानुभक्त सिटौला लगायतको अभिनय छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ। सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन छ। चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ।
प्रकाशित: १९ असार २०८२ १२:२७ बिहीबार





