६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ।

कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन्।

बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन्। गायनमा पछिल्लो समयकी लाेकप्रिय गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन्। प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेकाे छ। सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने विश्वास निर्माण टिमलाई छ।

राजबहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमाको गीत रिलिज कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले सिनेमाको गीत जस्तै सिनेमा पनि उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिए।

सिनेमाको गीत रिलिज कार्यक्रममा निर्देशक सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गरेका छन्। उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको सिनेमा हो। म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ले मेरो करिअर बदल्नेछ। मैले बनाएको अहिलेसम्मकै राम्रो सिनेमा समेत सिटामोल हो।’

यो सिनेमाले नेपाली समाजको यथार्थ कथा प्रस्तुत गरेको निर्देशक सानेको दाबी छ।

सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोलकुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्मातामा छन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।

प्रकाशित: ४ असार २०८२ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App