आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराउन मन्त्रीहरूले धमाधम राजीनामा बुझाएपछि प्रधानमन्त्री सुशीला कार्की एक्लैको काँधमा थप चार मन्त्रालय परेका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार कार्कीसँग अब रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी छ ।
मन्त्रिपरिषदमा अब प्रधानमन्त्रीबाहेक १० मन्त्री छन् । अर्थमन्त्री रामेश्वर खनालको काँघमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थपिएको छ ।
ओमप्रकाश अर्याल गृहमन्त्रीका रुपमा छन् भने अनिलकुमार सिन्हासँग उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी छ ।
मदनप्रसाद परियारले कृषि तथा पशुपक्षी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने कुमार इङनामको काँधमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, सहरी विकास मन्त्रालयको जिम्मेवारी छ ।
राजेन्द्रसिंह भण्डारीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेका छन् ।
माधव चौलागाईको काँधमा वन तथा वातावरणसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी छ । श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बालानन्द शर्मासँग परराष्ट्र मन्त्रालय छ ।
मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन, बब्लु गुप्ताले पदबाट राजीनामा दिँदै आगामी फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवारी दिएका छन्।

प्रकाशित: ६ माघ २०८२ १५:२४ मंगलबार





