पोखरामा गण्डकी लोकतारा–२०८२ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा लोक संस्कृतिको संरक्षण गर्दै नयाँ लोक दोहोरी कलाकार खोजी गर्नका लागि गण्डकी लोकतारा हुन लागेको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगितालाई आरके हस्पिटालिटीले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाका १८ प्रतियोगीले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश अध्यक्ष राजन कार्कीले जानकारी दिए। गण्डकीका मनाङ र मुस्ताङ बाहेकका जिल्लाबाट २/२ जना सहभागी हुने गरी प्रतियोगी छनौट गरिएको उनले बताए ।
उनका अनुसार प्रतियोगितामा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा, स्याङ्जाबाट दीलिपकुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन विक र शोभा परियार तथा बागलुङबाट प्रेम विक र ललिता घर्ती सहभागी हुँदै छन् । त्यस्तै, म्याग्दीबाट बिजय परियार र गरिमा परियार, तनहुँबाट अञ्जना गुरुङ र कमल आले, लमजुङबाट मनबहादुर गुरुङ (रञ्जित) र युगेश परियार, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ तथा नवलपुरबाट एजिकल परियार र कोपिला गुरुङ सहभागी हुने उनले जानकारी दिए ।
प्रतियोगिताले लोक संस्कृति संरक्षण, सम्वद्र्दन र प्रवर्द्धन गर्दै युवा पिँढीमा नेपाल लोक संस्कृतिप्रति चासो बढाउने, लोक गीतमा नयाँ पुस्तालाई आकर्षित गर्ने, लोक गीतलाई जीविकोपार्जनको साधन बनाउन प्रेरित गर्ने तथा लोक गीतमार्फत पर्यटन प्रवर्द्धन गर्न सघाउने आयोजकको विश्वास छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले विश्व सङ्गीत दिवसको दिन यही असार ७ गते हुने कार्यक्रम संयोजक कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । प्रतियोगितामा सेमिफाइनल राउन्डबाट उत्कृष्ट १० छनौट गरेर फाइनल प्रतिस्पर्धामार्फत विजेताहरू छनौट गरिने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११, द्वितीय हुनेले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय हुनेले २१ हजार १ सय ११ रुपैयाँसहित एक÷एक वटा अडियो गीत निःशुल्क रेकर्ड गर्न पाउने जनाइएको छ । त्यसबाहेक सान्त्वना स्थान प्राप्त गर्नेले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने संयोजक सुवेदीले जानकारी दिए ।
प्रकाशित: २ असार २०८२ १७:०८ सोमबार





