१) अँधेरो रात
अँधेरो रात भएँ उज्यालो बिहानी भइनँ
हरपल-हरक्षण जलेँ तर खरानी भइनँ।
नधुवाँई आँखाभित्र हरसपना जल्यो
प्रेम भूकम्पले पिरती-धरहरा ढल्यो
आफैँलाई भुलेँ तिम्रो मुहार भुलिएन
बिग्रेको भाग्य-कर्म, सुधारी सुध्रिएन।
हाँसीखुशी रमाइलो त्यो जवानी भइनँ
हरपल-हरक्षण जलेँ तर खरानी भइनँ
खडेरीले कुट्यो मलाई झरीले नि कुट्यो
पतझरको के कुरा मलाई बहारैले लुट्यो
ढाँट्यो-छल्यो हिउँदे त्यो घामले पनि पोल्यो
मतलबी यो दुनियाँ रुँदै दुःखी आत्मा बोल्यो।
वियोगी म सुखद मिलन कहानी भइनँ
हरपल-हरक्षण जलेँ तर खरानी भइनँ।
२) लेकबेँसी गाउँ
लेकबेंसी गाउँशहर डुलेँ पाखाभीर
एउटा-एउटा सबैलाई हुँदो रै’छ पीर।
धनीलाई धनको चिन्ता गरीबलाई मनको
आफ्नो-आफ्नो कथाव्यथा हरेक जीवनको
लुकाउने कि बगाउने नयनको नीर?
एउटा-एउटा सबैलाई हुँदो रै’छ पीर।
जन्मिएर मर्नुपर्ने विधाताको यो के रीत?
अजर-अमर भन्नु उही चोखो मायाप्रीत
चरीसरि उडन्ते मन गर्छ घुमफिर
एउटा-एउटा सबैलाई हुँदो रै’छ पीर।
जिते यहाँ हाँस्नेहरू हारे भने रुन्छन्
मान्छेहरू अचम्म के अनौठा हुन्छन्
कोख उही सन्तान कायर कोही वीर
एउटा-एउटा सबैलाई हुँदो रै’छ पीर।
३) शुरू-अन्त्य
शुरू-अन्त्य वास्तवमा के छ र जिन्दगी
दन्त्यकथा वास्तवमा के छ र जिन्दगी!
अनौठो के अचम्म यो जीवनयात्रा
मानिस विवश लाचार निरीह पात्र।
लोभलालच स्वार्थी आपसी झमेला
सुखदुःख आँसुहाँसो जादुमय खेला।
पर्यटक मान्छे यहाँ कठै घुमन्तेफिरन्ते
कोही धनी सम्पन्न कोही कङ्गाल मगन्ते।
निष्पक्षता समानता मिल्छ किताबमा
मान्छे-मान्छेमा भेद विधिकै निसाफमा।
४) हेरूँहेरूँ लाग्ने कति मन मोहक गुलाबी
हेरूँहेरूँ लाग्ने कति मन मोहक गुलाबी
पढूँपढूँ लाग्ने तिम्रो त्यो मुहार किताबी।
सपना या विपना हो मीठो मायाजाल
समुद्री छाल चुल्ठी नयन गहिरो ताल
चञ्चले हाउभाउ क्या रकमी हिसाबी
पढूँपढूँ लाग्ने तिम्रो त्यो मुहार किताबी
फूलै फक्रे जस्तो लाग्छ तिमी मुस्कुराउँदा
बहार आए जस्तो लाग्छ तिमी छेउ आउँदा
गुनै गुन छ तिमीमा छैन केही खराबी
पढूँपढूँ लाग्ने तिम्रो त्यो मुहार किताबी।
५) रात गयो
रात गयो बात गयो भन्न सकिएन
कोमल मन बोकी ढुङ्गा बन्न सकिएन।
चन्द्र सूर्य जून हैन म उदाउने-अस्ताउने
आफू हाँसी अरूलाई यहाँ गरिएन रुवाउने
स्वर्गतुल्य बन्छ चोखो प्यारले यो संसार
उदारता त्याग-समर्पण हो प्रेम उपकार।
मौसम ऋतु हैन माया बारम्बार बदलिने
न हिमाली हिउँ हो माया बरफ भई पग्लिने
छलछाम धोका-घात यो मान्छे किन गर्छ
आफूले जे रोप्यो त्यही फल स्वीकार्नुपर्छ।
६) परदेशमा साथीसँगी
परदेशमा साथीसँगी सम्झिएँ दौँतरी
कुवा पानी पँधेरो त्यो पिपले चौतारी।
छङछङे झरना त्यो कलकल बग्ने खोला
कतिञ्जेल सात समुद्रपारि बस्नुपर्ने होला
बेरोजगारी अभावले त्यहाँ बस्ने ठाउँ दिएन
बाध्यताले छाडेँ गाउँघर कुनै रहर त थिएन।
मनका कुरा हाँसीहाँसी जिस्किँदै बोलिन्थ्यो
गुठाचौरमा डण्डिबियो कपर्दी खेलिन्थ्यो
विपना त्यो सपना भयो एकादेशको कथा
बुझिदिने कोही छैन यहाँ मेरो वह-व्यथा।
मेरो बाटो हेर्दा हुन् सधैँ वृद्ध बाबा-आमा
कहिलेकाहीँ देशको खबर पढ्छु पत्रिकामा
कहिले आउला यस्तो दिन हे दैव राम!
स्वदेश नै फिर्थेंम त पाए काम-माम।
(‘फैलियो माया दुबोसरि’ लोकप्रिय गीतका गीतकार त्रिविक्रम पाण्डेका ‘अंशियार’ नयाँ गीतिसंग्रहमा सङ्गृहीत।)
प्रकाशित: १ जेष्ठ २०८२ १३:३८ बिहीबार





