नेकपा एमालेका सांसद ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा पाएको उच्चस्तरीय स्वागतलाई लिएर व्यङ्ग्य गरेका छन्।
मंगलबार सिंहदरबारस्थित संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद महरले लामिछानेलाई भारतमा बिछ्याइएको रातो कार्पेटलाई ‘दसैंको खसी’ सँग तुलना गरे।
‘भारतमा रवि लामिछानेलाई रेड कार्पेटले स्वागत गरेको समाचार सुनेपछि मलाई दसैंको खसीको सम्झना आएको छ,’ महरले भने, ‘दसैंमा खसीलाई ल्याइन्छ र काट्नुअघि दुई–तीन दिन मज्जाले घाँस खुवाइन्छ, कतै त्यसो गर्न खोजिएको त होइन ? मलाई त त्यस्तै लागेको छ।’
सांसद महरले छिमेकी मुलुकले कुनै पनि राजनीतिक नेतालाई दिने अतिरञ्जित सम्मानको पछाडि विशेष स्वार्थ वा रणनीति लुकेको हुन सक्ने बताए।
उनले लामिछानेलाई भारतले दिएको सम्मान स्वाभाविक नभएको आशङ्का व्यक्त गर्दै अगाडि थपे, ‘यो दृश्य देख्दा मलाई निकै चिन्ता लागेको छ, खसीलाई झैं मज्जाले खुवाएर कतै अर्कै प्रयोजनका लागि त प्रयोग गर्न लागिएको होइन भन्ने प्रश्न उब्जिएको छ।’
रास्वपा सभापति लामिछाने यतिबेला प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा छन्। भ्रमणका क्रममा उनले आजै भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
उक्त भेटमा नेपाल–भारत सम्बन्ध, सुरक्षा सहकार्य, लोकतान्त्रिक अभ्यास र दुई देशका राजनीतिक दलहरूबीचको संवादका विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: १९ जेष्ठ २०८३ १६:०४ मंगलबार





