महोतरीको इटाटारमा बुवा पूर्णबहादुर श्रेष्ठ र आमा तेजमाया श्रेष्ठका माहिला सुपुत्रका रूपमा २०२८ साल भदौ १४ गते राजबाबु श्रेष्ठ सागरको जन्म भएको हो। उनका साउदी अरबिया अल्हस्साबाट २०५७ सालमा बन्द फ्रेमभित्रको चिट्ठी पहिलो उपन्यास, हराएका छोराहरू कवितासङ्ग्रह २०७७, देशको चिना मुक्तकसङ्ग्रह २०७७ र यादका बस्तीहरू गीतिसङ्ग्रह २०७८ सालमा प्रकाशित छन्।
‘फिर्दोसको साँचो’ कथासङ्ग्रह २०८२ रहेको छ। दस लामा कथाहरू पढ्दा पटक्कै झिजो लाग्दैन। कथाक्रममा अलिखित कथा, निर्जला, तिर्खा, हिजकिल, हिदायत, खामभित्रको चिट्ठी, किसोनिया, दागबत्ती, हर्षवर्धन र महर्षि र ओभर स्पिड अन्तिम कथा रहेको छ।
चुम्बकीय आकर्षक भएका कथाले पाठकलाई तानिरहन्छ। अब के हुन्छ भन्ने लागिरहन्छ। अलिखित कथा शीर्षकमा लेखिएको कथा पहिलो कथा रहेको छ। समय बिहानको ७ बजे र स्थान कुशमाढी रहेको छ।
एकाबिहानै जेठा नेवारको घरमा वीरे कुनै काम विशेषले आउँदा माथि टाँडबाट रगत बगेर पनि तल भुइँमा सुकेर पाप्रा बनेको उसले एक्कासि देख्यो।
हत्या हो कि आत्महत्या उसले केही ठम्याउन सकेन। कथा यसरी सुरु गरिएको छ। कौतुहलता छ। अब के हुन्छ भनेर पढ्दापढ्दै कथा सकिन्छ।
निर्जला शीर्षकको कथामा बेलुका निर्जला घर आइन्। साँझले दिनलाई कप्लक्कै निलिसकेको थियो तर घरै अँध्यारो देखेपछि उनी पनि अँध्यारो भइन्। सरल रूपमा बगेको कथाले मन पनि सँगसँगै बगाएको छ। कथा पढ्दा चुम्बकीय आकर्षण छ।
किसोनिया शीर्षकको कथामा धनराजले कविता वाचन गरेको छ।
कविताको शीर्षक छ जिन्दगी एक धुवाँ
सृष्टिभन्दा जेठो कोही छैन
तर ऊभन्दा पनि जेठो रहेछ उसको जन्म
यसो सोचेँ,
ऊभन्दा पनि जेठो रहेछ उसलाई जन्माउने
जसलाई क्यानभासमा कहिल्यै उतार्न सकिएन
केवल
अनुभूति गरिरहेछु अनुभूतिको ढोका खोलेर
कवि मनले कथामा पनि कविता लेखेको छ। पात्रका माँझमा कवि छ कविता छ। मनका भावनालाई पात्रहरू द्वारा द्वन्द्व गराइएको छ। कसैलाई हराएर कसैलाई जिताइएको छ।
अन्तिम कथा ओभर स्पिड शीर्षकको रहेको छ। सातदोबाटो दुर्घटना शीर्षकमा दुर्घटनाको समाचार राष्ट्रिय पत्रिकाको फ्रन्ट पेजमा छ्यापछ्याप्ती छापिएको छ। अस्पतालमा बितेका घटनाका आफन्त अनि आत्मालाई सुन्दर रूपमा चित्रण गरिएको छ।
मान्छेको आत्माको कथामा सुन्दर रूपमा लेखिएको छ। एकाएक उनीहरूले सहर व्यवस्थित र सभ्य भएको पाए।
आत्माहरूले एकाएक खुसी हुँदै हर्षोत्सव मनाए। उनीहरू यसरी खुसीले झुमे जसरी पार्टी प्यालेसमा मदिरा पिऐर गेस्टहरू मदालस भई नाच्छन्।
भाषाशैली सरल छ नेपाली भाषामा लेखिएको भए पनि अंग्रेजी, हिन्दी र उर्दू भाषाको प्रयोग पनि गरिएको छ।
इमामले दरुद सलामको दुवा पढेँ। अल्लाहुम सल्लि अला मुहमद्दिन व अला अलि मुहम्मदिन कमा सल्लैत अला इब्राहिम व अला अलि इब्राहिम इन्नक हमिदुम्मजीद, अल्लाहुम्म बारिक अला मुहम्मदिन्न अला अलि मुहम्मदिन्न कमा बारक्त अला इब्राहिम व अला अलि इब्राहिम इन्नक हमिदुम्मजीद्। कथाकारले उर्दु भाषामा पनि चासो राखेका छन्। नमाजबारे लेखिएको छ। नमाजका लागि बोलाइएको छ। धर्मबारे लेखिएको छ। संस्कारका कुरा छन्।
श्रीमद्भागवत पुराण पनि पढिएको छ।
भाषाको प्रयोगमा सरल छ। कथामा तरलता पाइन्छ। पात्रहरूले आफ्नो काम सफलतापूर्वक पूरा गरेका छन्। बिम्बको प्रयोगले कथालाई रोचक बनाउने काम गरेको छ।
कथाका विषय देखेका सुनेका कुरा भए पनि प्रस्तुत गर्ने शैली सुन्दर रहेको छ। राजबाबुको कथा पढ्दा जीवनका धेरै पक्ष समेटिएको पाइन्छ। फरिस्ता हारुतले भनेअनुसार नै सायराले नौ महिनामा साँपलाई जन्म दिइन्।
आमाको माया, नारीको व्यथा, डाक्टर र बिरामीको प्रसंग अनि जीवन र मृत्युको अनुभूति छ। कतै समस्याको पेटारो पनि छ। खुसी खोसेर रमाउने पनि छन्। आत्मा घुम्दै आएका छन्। अपराध पनि छ चासो पनि, प्रेम नभएको पनि होइन। वियोग पनि छ।
साँच्चै भनूँ
जिन्दगी एक धुवाँ पो रहेछ।
पाठकको मनभित्र पसेर निस्कने यी कथामा पाइने फरक विषयलाई केलाउन खोज्दै जाँदा सम्झेँ अहो सबै कुरा मैले लेखेको पढ्ने पाठका लागि पनि छोड्नुपर्छ भन्दै कथाकार राजबाबु श्रेष्ठको फिर्दोसको साँचो कथासङ्ग्रह सफलताको कामना गर्दै आजलाई बिदा माग्छु, हार्दिक धन्यवाद!
प्रकाशित: ६ वैशाख २०८२ ११:०३ शनिबार





