१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

मैले मेरो जन्मथलो विकास गर्न उम्मेदवारी दिएँ: महाविर पुन

अहिलेसम्म निर्वाचन योजना छैन, जितेपछि जनताको काम गर्छु

म्याग्दी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि शिक्षा मन्त्री महावीर पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। मन्त्री पदबाट राजीनामा दिएपछि उनले मंगलबार म्याग्दी पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन आचारसंहिता लागू भएसँगै आफूले अन्तिम चरणमा पुर्‍याएको शिक्षा नियमावलीको दशौँ संशोधन अघि बढाउन नसकिएको र निर्वाचनमा सहभागी हुन मन्त्री पदबाट राजीनामा दिनुपर्ने बाध्यताका कारण सोमबार राति अचानक निर्णय गरेर राजीनामा दिएको पुनले बताएका छन्।

नागरिकसँगको कुराकानीमा उनले भने, ‘जनता र देशका लागि केही गर्न पहिले आफू सही ठाउँमा पुग्नुपर्ने रहेछ। मन्त्री पदमा रहेर निर्वाचनमा जान नमिल्ने भएकाले राजीनामा दिएँ र काठमाडौंबाट सिधै म्याग्दी आएर उम्मेदवारी दर्ता गराएँ।’

उनका अनुसार मंगलबार बिहान १०:४५ बजे नै स्वतन्त्र उम्मेदवारका रूपमा नाम दर्ता गराउँदै ७७ जिल्लामध्ये पहिलो उम्मेदवारी दर्ता गर्ने व्यक्ति आफू बनेका छन्।

मन्त्री पुनलाई विभिन्न राजनीतिक दलले पार्टीमा आवद्ध हुन प्रस्ताव गरे पनि उनले स्वतन्त्र रूपमा निर्वाचन लड्ने निर्णय गरेको स्पष्ट पारे। ‘अहिलेसम्म कुनै ठोस निर्वाचन योजना छैन,’ उनले भने, ‘निर्वाचन जितेपछि जनताको चाहना अनुसार योजना बनाएर म्याग्दीका विभिन्न क्षेत्रको विकासमा अघि बढ्नेछु।’

हाल आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएको उल्लेख गर्दै उनले स्वतन्त्र रूपमै चुनाव लड्ने बताए। ‘म कुनै दलको निकट छैन,’ पुनले भने, ‘यदि सबै युवाहरू मिलेर एउटा साझा दल बनाएर अघि बढे भने त्यसमा सहभागिता जनाउन सक्छु, नत्र म एक्लै स्वतन्त्र रूपमा चुनाव लड्छु र जित्छु।’

प्रकाशित: ६ माघ २०८२ १६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App