१९ पुस २०८२ शनिबार
image/svg+xml
कला/संस्कृति

चिन्तनको भावभूमिमा ‘सन्झ्याल’

पुस्तक

नवराज शर्माको २०८१ सालमा प्रकाशित लघुकथा कृति हो ‘सन्झ्याल’। उनन्सत्तरी लघुकथा समेटिएको यो कृतिको आवरणले नै चिन्तनको प्रक्रियालाई देखाउँछ। सन्झ्यालले भैँ बाहिरको जीवन जगत् चियाउने जमर्को नै चिन्तन हो। सन्झ्यालबाट देखिने बाहिरी संसार नै चिन्तनको प्रतिफल हो।

नवराज शर्मा पुराना र सुषुप्त स्रष्टा हुन्। अध्ययनशील र चिन्तनशील स्रष्टा हुन्। उनमा सिर्जना गर्ने हतारो छैन। कृति प्रकाशन गरिहाल्ने पनि हतारो छैन। उनलाई थाहा छ, साहित्य सिर्जनाको यात्रा अनिश्चित हो। साहित्य प्रकाशनको माखेसाङ्लोबारे पनि उनलाई थाहा छ। स्रष्टाका लागि साहित्य सिर्जना एउटा यस्तो संयत्र हो, जसमा पस्नुचाहिं पर्छ तर कहीं पुगिन्न। लेखनीले सधैं अधुरो, अपूर्ण तथा अपरिपक्व अवस्थामा नै विश्राम लिन्छ। पूर्णता, परिपक्वता तथा पर्याप्तता मानव जीवनका लागि भ्रम हुन्। तथापि मानिसको गन्तव्यचाहिँ यही पूर्णताको प्राप्ति, परिपक्वताको परिकार तथा पर्याप्तताको अर्थात् पउलताको खोजीमा नै रहन्छ। साहित्य सिर्जना पनि यही गोरेटोमा हिँड्ने एक कृत्य हो। प्रकाशन भनेको परिवेशको माखेसाङ्लो हो जसको आफ्नै कार्टेलिङ हुन्छ।

२०१० सालमा वीरगञ्जमा जन्मिएर बाललीला गुजारेका स्रष्टा नवराज शर्माले २०२८ सालमा नै गोरखापत्रमा कविता छपाएर साहित्य संसारमा सरिक भए। कथा लेखे। लघुकथा लेखे। कविता लेखे। लेखे अनि छोडे। छोडे अनि लेखे। अर्थात् उनको साहित्य सिर्जना लाग्छोडको मनोविज्ञानमा आधारित छ। त्यसैले उनको यो ‘सन्झ्याल’ मा २०३० सालदेखि २०८० सालसम्म लेखिएका लघुकथाहरू सँगेटिएका छन्।

उनका सिर्जनामा दायित्वबोध तथा चिन्तन पाइन्छन्। यो संक्षिप्त आलेखमा स्रष्टा नजराज शर्माले ‘सन्झ्याल’ भित्र दायित्व कसरी निर्वाह गरेका छन् र चिन्तनको चौतारी कसरी चिनेका छन् भन्ने चुरो केलाउनु हो।

दायित्व र चिन्तनमा धेरै फरक छ। भ्रष्टाचार भयो, भ्रष्टाचार छ भन्नु, लेख्नु तथा विद्रोह गर्नु हरेक नागरिकको सामाजिक दायित्व हो। समाजका अनेकन असङ्गतिको पहिचान र प्रहार मानिस हुनुको दायित्व हो। नागरिक हुनुको दायित्व हो। दायित्वले वर्तमानको विसङ्गतिबारे पहिचान गराउँछ।

त्यसैगरी समाजमा भ्रष्टाचार किन हुन्छ? सरकारले भ्रष्टाचार किन गर्छ? कर्मचारीले भ्रष्टाचार किन गर्छ? अर्थात् मान्छेले भ्ष्टाचार किन गर्छ? भनी त्यसको मूलभूत आधार पत्ता लगाउनु तथा त्यसको रोकथामको उपायको सुराकी पनि दिनु चिन्तन हो। अर्थात् समाजमा रहेका विविध असङ्गति र विसङ्गतिको सामाजिक, सांस्कृतिक, ऐतिहासिक कारण पत्ता लगाउनु चिन्तन हो। अझ भन्ने हो भने ती विषयका कारण पत्ता लगाएर जिम्मेवारीपूर्वक निराकरणको खोजी पनि चिन्तनभित्र पर्छ। बाटो देखाउनु चिन्तन हो भने चित्र प्रस्तुत गर्नु दायित्व हो।

अधिकांश स्रष्टा यही दायित्वको घेराबारभित्र प्रस्फुटन हुन्छन् तर नवराज शर्मा यो दायित्वको घेराबारबाट बाहिर निस्कने जमर्को गर्छन् र चिन्तन गर्न थाल्छन्, जिन्दगीको। जिन्दगीका आयामहरूको। परिवेशको  र समग्रताको।

यही आधारमा कृति ‘सन्झ्याल’ मा कृतिकार नवराज शर्माले दायित्वका रूपमा उठाएका विषय र वस्तु तथा तिनको कारण, परिणाम तथा निराकरणका लागि प्रदान गरेका चिन्तनको धरातलको चर्चा गर्ने जमर्को गरिएको छ।

‘सन्झ्याल’ का अधिकतर लघुकथाहरू राजनीति केन्द्रित छन्। राजनीति समग्र नीतिमध्ये प्रधान हो। अझ नेपाल जस्तो अल्पविकसित देशमा त सबै पक्षको जोडघटाउ राजनीतिसँग जोडिन्छ। कुनै न कुनै रूपमा राजनीतिसँग जोडिएन भने नेपाली समाज बाँच्न सक्दैन। त्यसैले नेपाली राजनीतिभित्र असङ्गतिको लर्को छ। विसङ्गतिको बिस्कुन छ। सोही लर्को र बिस्कुनका पिँधबाट सहीसत्य खोतल्ने दायित्व लघुकथाकार नवराज शर्माले निर्वाह गरेका छन्।

नेपालको राजनीतिमा गणतन्त्र किन यस्तो भएको भन्नेबारे चिन्तन गर्छन्। बनमा बनमारा मात्रको डर थियो भने बस्तीमा वनमारा र हिंस्रक ज्यानमारा दुवैको डर छ भन्ने चिन्तन अभिव्यक्त गर्छन्। गणतन्त्र सपार्न केके गर्नुपर्छ भन्ने चिन्तनयुक्त सूत्र पाइन्छ। राजनीतिक परिवर्तन तथा परिष्कारका लागि प्रलय भूलोकमा होइन, प्रलय त मान्छेका मथिङ्गलमा आउनपर्छ भनेर चिन्तन गर्छन्। जनावरमा हुने समानताको चेतका आधारमा मानिसको असमानता प्रतिको मोहमाथि व्यङ्ग्य प्रहार गर्छन्।

नक्कली बलिदान, सक्कली बलिदानमाथि विमर्श गरिएको छ। सही ‘एकताको अपरिहार्य बोलिएको छ। नेपाली राजनीतिको सन्दर्भमा लघुकथाकार चिन्तन गर्छन् ‘को चुक्यो नेता कि हामी जनता?’ 

‘घोषणापत्र भनेको लेख्ने हो गर्नपर्ने होइन, भाषण भनेको गर्ने हो पुर्‍याउनुपर्ने होइन’। लघुकथाकार नवराज शर्माले गरेको व्यङ्ग्य सहतको चिन्तन हो यो। राजनीतिक शुद्धता तथा परिष्कारका लागि बलिदानले मात्र नपुग्ने तथा आवश्यक परे महादान नै गर्न तयार हुनुपर्ने कुरा अभिव्यक्त गरिएको छ। चुन्ने अधिकार भएपछि खोस्ने अधिकार किन नभएको होला? भनेर चिन्तन गर्छन् लघुकथाकार।

कृतिकार नवराज शर्मा नेपाली परिवेशका रहेको आर्थिक विचलनमाथि पनि चिन्तन गर्छन्। नेपाली समाजमा रहेको भ्रष्टाचारको विषय उठाउँछन् र त्यसको कारणमाथि चिन्तन गर्छन्। घुस प्रथाको जरोसम्म पुग्छन्।

‘उँभो डोजर लाएर विकासको काम भइराख्या छ भनेर चिन्ता व्यक्त गर्छन्। नदी बस्तीतिर सोझियो। भोलिपल्ट उज्यालोमा कहीँ कतै केही देखिएन। कोही भेटिएन। मानव बस्तीमा न बस्ती थियो न मान्छे थिए। न विकास शेष थियो न समृद्धिको अवशेष थियो’ यी वाक्य आर्थिक दायित्व निर्बाह गर्न कृतिकारले बोलेका वाक्य हुन्।

नवराज शर्माले नेपाली समाजका विविध पक्षमा चिन्तन गरेका छन्। नेपाली समाजमा जस्ता उपदेश दिने मान्छे नै महिलामाथि दुर्व्यवहार गर्ने गरेको यथार्थतिर प्रवेश गर्छन्। भाग्य र कर्मबारे चिन्तन गर्छन्। पारिवारिक जीवनमा अर्धाङ्गअर्धङ्गिनीको अर्थ लगाउँदै सांस्कृतिक समानता अभिव्यक्त गर्छन्। वर्तमान कालमा उभिएर महिलाबारे चिन्तन गर्छन् उनी। उनकी आमा पात्र आफ्नी छोरीलाई अर्ती दिँदै भन्छिन्, ‘मैले जिन्दगीभरि आमाबुवा, सासूससुरा, लोग्ने तथा घरपरिवारको इज्जत राखेँ। मेरो आफ्नो इज्जत थियो कि थिएन, पत्तै पाइनँ। तैँलेचाहिँ आफ्नू इज्जत राखेस्।’

यसरी उनका लघुकथाले आफ्नो जीवन बाँच्नका लागि चिन्तन गर्छन्। समाज सुधारको दायित्व बोक्छन्। लघुकथाकारले सामाजिक दायित्व निर्वाह गरेका छन्।

‘अब बहुविवाह गरेकामा थुनामा बस्न तयार रहनू!’,  भनेर विद्रोह गर्छन्। विद्रोह गर्नु दायित्व हो। ‘सबै मजाले हाँसे। ‘के भन्नुभ’को बाबु! उहाँ आफ्नो जोइको जोइटिङ्गे नभएर तपाईँको जोइको हुने हो र...’ यो उनको भनाइ हो। यसले जोईपोइको एकाकार सम्बन्धबारे प्रष्ट पारेको छ।

पितृश्राद्धमा उनी निक्खर विचार प्रवाह गर्छन्। श्राद्धका बारेमा उनको भनाइ हेरौँ, उसले बुढीको मुखमा पुलुक्क हेर्‍यो। तृप्तिको भावमा भन्यो, ‘विधि पगेन त के भो, श्रद्धा पगे भइहाल्यो नि!’

यसैगरी बालमनोविज्ञानको चुरो पत्ता लगाउँछन्। सामाजिक दायित्वका रूपमा भर्खरै विदा भएको कोरोना महामारीकाे प्रति नागरिकको दायित्व अभिव्यक्त गर्छन्।

मूल कुरा त उनी जिन्दगीलाई गहिरिएर हेर्छन् र आफैँ सोच्छन् जिन्दगीको ‘मोहजालमा फसियो कि मोहभङ्ग भयो।’

यो भनेको चिन्तनको परम उत्कर्ष हो। जिन्दगीको मोहले नै मान्छेलाई हुनेनहुने गराउँछ। र, जब प्राप्तिमा शून्यता हात लाग्छ, मान्छेलाई जिन्दगीप्रतिको मोहभङ्ग हुन्छ। ज्ञानचक्षु खोल्छन् र जीवन जगत्लाई हेर्छन्। यो भनेको चिन्तनको उत्कर्ष अवस्था हो। जीवनका प्रति खास गरेर प्रौढ तथा परिपक्व चिन्तनलाई प्रस्तुत गर्छन्। जीवनलाई फूलका पत्रहरूसँग तुलना गर्छन्। वृद्धका दिनहरू जस्तै फूलका पहेँला पत्रहरू शनैशनै ओइलयाउँछन्। विलीन हुन्छन्।

जीवनमा ईश्वर तथा प्रभुको अवस्थाका बारेमा पनि दृष्टि पुर्‍याउँछन्। उनको एक हरफ ‘परेन त फसाद! निदाएकाहरू भित्र प्रभु नै निदाएपछि कसरी समाधान हुने होला!’ ले प्रचुर व्यङ्ग्य र चिन्तन गरेका छन्। मान्छेको चरित्रको विपर्यासलाई कृतिको सामल बनाएका छन्। ‘अन्त्यमा ऊ सरासर कोठाभित्र गयो। उसले थपिएको फोहरजति दैलो बाहिर फाल्यो। बाहिर निस्कँदा सडकभरि फोहर देखेर नाकमुख छोप्दै भन्यो, ‘यो सरकार काम नलाग्ने भयो। कस्तो फोहर सडक!’ ले मान्छेको मजाको चित्रण गरेको छ।

अब पुछारमा छु। कृतिले सामाजिक, आर्थिक, राजनीतिक दायित्व बोकेको छ। दायित्व मात्र होइन, त्यसभित्र पसेर कारण र परिणामका बारेमा चिन्तन पनि गरेको छ। समाजका प्रति कृतिकार नवराज शर्माको यो गुण महत्त्वपूर्ण छ।

यसो भए तापनि लघुकथाहरूलाई रूपविधानको आधारमा हेर्दा केही प्रसङ्ग उठाउन सकिन्छ। अधिकतर लघुकथाहरूको आयाम लामो छ। लघुकथामा सूक्ष्म आयामको पकिल्पना गरिएको छ। आयाम भन्नाले लघुकथाको आयतन अर्थात् कथानक, बुनौट तथा विशेषताका कुरा बुझिन्छ। कथानकको फैलावट यो कृतिका लघुकथाहरूको प्रधान दोष भएर देखिएको छ। यसबाहेक पनि झिनामसिना कथ्यगत, स्वरूपगत तथा उद्देश्यगत प्रष्टताको खाँचो छ।

यसो भए तापनि समसामयिक नेपाली लघुकथाको संसारमा कृतिभित्र सङ्गृहीत लघुकथाहरू उन्नत कोटीका छन्। अति उन्नत बनाउने जमर्कोका लागि अनुरोध गर्दै यो आलेख यहीँ तुर्छु।

प्रकाशित: ४ वैशाख २०८२ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App