आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले उपमहासचिव योगेशकुमार भट्टराईसहित पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोम (दीपेन) का अनुसार प्रत्यक्षतर्फ एक महिलासहित पाँच जनाको नाम सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।
सिफारिस हुनेमा एमाले उपमहासचिव योगेशकुमार भट्टराई, केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझा छन् । भट्टराई २०७९ सालको निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य रहनुभएको थियो भने मेन्याङ्बो हाल कोशी प्रदेशका प्रदेशसभा सदस्य हुन् ।
ओझा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख हुन् । यस्तै, आङ्बुहाङ पूर्व कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री हुन् भने थेबे राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष हुन् ।
यसअघि एमाले ताप्लेजुङले समानुपातिकतर्फ अनन्तबहादुर साँवा, लक्ष्मीबहादुर यक्सो लिम्बू र टीका खतिवडाको नाम सिफारिस गरेको थियो । उनीहरु तीन जनाको नाम सिफारिस गरेको भए पनि निर्वाचन आयोगमा एमालेले बुझाएको बन्दसूचीमा भने कसैको नाम परेको छैन ।
यता जिल्लाबाट नेपाली कांग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याहाङ र नेपाली कम्युनिस्ट पार्टीले खेलप्रसाद बुढाक्षेत्री (पराग) को एकल नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलले भने प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरिसकेको छैन ।
प्रकाशित: १९ पुस २०८२ १८:३६ शनिबार





