२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

फागुन २१ अघि कुनै विवाद र बहसमा नजान कांग्रेस कार्यकर्तालाई विश्वप्रकाशको निर्देशन

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विघटित प्रतिनिधि सभा पुनर्स्थापना नहुने दाबी गरेका छन्। झापा–२ अन्तर्गत बिर्तामोडमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते नै निर्वाचन हुने दाबी गर्दै त्यसका लागि तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिए।

उनले संसद् पुनर्स्थापना हुने विषयमा कुनै अन्योल नराख्न आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको समयसीमालाई आधार मानेर निर्वाचन टर्ने सम्भावना नरहेको बताए। उनका अनुसार अब बाँकी रहेको समय अदालतका लागि पर्याप्त नहुने भएकाले फागुन २१ मै निर्वाचन हुने निश्चित छ। उनले भने, संसद् पुनर्स्थापना हुँदैन, फागुन २१ मै निर्वाचन हुन्छ। सर्वोच्च अदालतमा मुद्दा रहे पनि सामान्य मुद्दा हेर्न नै समय लाग्ने अवस्था छ। बाँकी ३२ दिनमा छलफल र बहस सकिने सम्भावना छैन। अनुमान गर्दा पनि फैसला फागुन २४ वा २५ तिर आउन सक्छ। अदालतको फैसला जे आए पनि स्वीकार गर्नुपर्छ, तर फागुन २१ मा चुनाव हुन्छ भन्नेमा कुनै शंका गर्नु नपर्ने उनको भनाइ थियो।

शर्माले केही समय पार्टीभित्र द्वन्द्व देखिए पनि विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध भएर निर्वाचनमा होमिएको जिकिर गरे। उनले विशेष महाधिवेशनबाट गगन थापा सर्वसम्मत रूपमा सभापति चयन भएको पनि बताए।

उनले पार्टीपंक्तिलाई निर्वाचन केन्द्रित हुन आग्रह गर्दै फागुन २१ अगाडिसम्म कुनै विवाद वा बहसमा नजान अनुरोध गरे। उनका अनुसार यदि कसैलाई छलफल वा बहस गर्नुपर्ने भए फागुन २१ गते निर्वाचन सकिएपछि वा फागुन २२ गतेदेखि गर्न सकिनेछ। उनले पार्टीलाई निर्वाचनसम्म एक ढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: १९ माघ २०८२ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App