पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली लिग वानको उपाधि दौडमा प्रभावशाली मोनाकोसँग ३–१ गोल अन्तरले हार बेहोर्दा महत्त्वपूर्ण अंक गुमाएको छ।
लिगको शीर्ष स्थानमा रहेको पिएसजीको यस सिजन चौथो हार अझ ठूलो अन्तरले पनि हुन सक्थ्यो। अब दोस्रो स्थानको लेन्सले आइतबार पुछारमा रहेको मेचलाई हराए शीर्ष स्थानसँग एक अंकको दूरीमा झार्नेछ। पिएसजीको घरेलु मैदानमा मोनाकोका तीव्र गतिका विङ्गर माघ्नेस अक्लिउशेले खेलको पहिलो गोल गर्दै अग्रता दिलाएका थिए।
अमेरिकी फरवार्ड फोलारिन बालोगुनले ७३औं मिनेटमा डिफ्लेक्ट भएको प्रहारमार्फत जित सुनिश्चित गरेका हुन्। सेप्टेम्बरमा लिगको खेलमा मोनाकोले पिएसजीलाई १–० ले हराएको थियो। यस सिजन दुवै टोलीबीच भएका चारै खेलमा मोनाकोले पहिले अग्रता लिएको छ। जसमा च्याम्पियन्स लिगका दुई खेल पनि समावेश छन्।
अब पिएसजीले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सीलाई घरेलु मैदानमा स्वागत गर्नेछ। खेलको २७औं मिनेटमा पिएसजीका वारेन जाइरेएमेरीको कमजोर डिफेन्सका कारण अक्लिउशेले गोल गर्ने अवसर पाए। उनले पेनाल्टी क्षेत्रबाट ड्रिबल गर्दै बाहिर ल्याउन खोज्दा बल गुमाए। त्यो बल लिँदै अक्लिउशेले मौका सदुपयोग गरेका हुन्। त्यसपछि बालोगुनले छिटो प्रतिक्रिया दिँदै दायाँपट्टी अक्लिउशेसँग तालमेल मिलाए र बल जाली चुमाए।
अक्लिउशेले यसअघि पनि पार्क दे प्रिन्सेस मैदानमै च्याम्पियन्स लिग प्लेअफको रिटर्न लेगमा गोल गरेका थिए। त्यस खेलमा पिएसजीले समग्रमा ५–४ को जित निकाल्दै चेल्सीसँगको भेट पक्का गरेको थियो।
पाँचौं स्थानमा रहेको मोनाकोले दोस्रो हाफको १० मिनेटमै अर्को गोल थप्यो। मिडफिल्डर अलेक्सान्द्र गोलोभिनले दायाँबाट आएको क्रसलाई नियन्त्रण गर्दै बललाई पोस्टको तल्लो कुनामा पठाए।
केही क्षणपछि उनले २५ मिटर टाढाबाट उत्कृष्ट प्रहार पनि गरे, तर गोल हुन सकेन। बालोन डिओर विजेता उस्मान डेम्बेले चोटका कारण तीन खेल गुमाएका थिए। त्यसैले मोनाकासँग उनी एक घन्टापछि मात्र मैदान प्रवेश गरेका थिए तर उनी अपेक्षित लयमा देखिएनन्। पिएसजीका फरवार्ड ब्राड्ली बारकोलाले ७१औं मिनेटमा गोल फर्काए तर त्यसको दुई मिनेटपछि नै मोनाकोले गोल फर्कायो।
बालोगुनले पेनाल्टीक्षेत्रबाट गरेको प्रहार गोलकिपर मातवेई साफोनोभको टाउको माथिबाट जाली चुम्न पुग्यो। यो गोलसँगै मोनाको दुई गोलको अग्रता पुग्यो। खेलको अन्त्यतिर पनि साफोनोभ फेरि पराजित भएका थिए तर साइमन अडिन्ग्राको प्रहार क्रसबारमा लागेर फर्कियो। यस सिजन राष्ट्रिय टोलीमा स्थान बनाएका अक्लिउशेले फ्रान्सका लागि पाँच खेल खेलिसकेका छन्। उनले यस वर्ष हुने विश्वकपका लागि प्रशिक्षक डिडिएर डेसच्याम्प्सको टोलीमा स्थान बनाउन आफ्नो दाबी बलियो बनाइरहेका छन्। अक्लिउशेले पिएसजीविरुद्ध निरन्तर समस्या सिर्जना गरेका थिए। पहिलो हाफको अन्त्यतिर पनि उनी फेरि गोलको नजिक पुगे, तर पिएसजीका मिडफिल्डर भिटिन्हाले उनको प्रहार रोकिदिए।
प्रकाशित: २४ फाल्गुन २०८२ १२:४४ आइतबार





