२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

११ जनप्रतिनिधिको पद गुम्यो, संसदीय यात्रामा पनि पूर्णविराम

प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्थानीय तहका पद छाडेर संसदीय दौडमा होमिएका अधिकांश जनप्रतिनिधिका लागि यो चुनाव निराशाजनक बनेको छ। पद त्यागेर संघीय संसद् पुग्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका १४ जनामध्ये तीन जनाबाहेक ११ जना भने न विजयी हुन सके, न पुरानै पदमा फर्कन सके।

विशेषगरी भरतपुर महानगरपालिकाको प्रमुख पद छाडेर चितवन–३ बाट उम्मेदवारी दिएकी रेणु दाहाल पराजित भएकी छन्। माओवादी केन्द्रबाट नेकपामा रूपान्तरण भएर चुनावी मैदानमा उत्रिएकी उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले हराइन्।

त्यस्तै धुलिखेलका पूर्वमेयर अशोक व्याञ्जु श्रेष्ठ काभ्रे–२ मा रास्वपाका बदन भण्डारीसँग पराजित भए। उनी उक्त क्षेत्रमा तेस्रो स्थानमा सीमित भए। मोरङ–२ मा एमालेका उम्मेदवार तथा रंगेलीका पूर्वमेयर दिलिप वगडियालाई रास्वपाका कृष्णकुमार कार्कीले पराजित गरे।

इलाम–१ मा नेकपाका उम्मेदवार तथा सूर्योदयका पूर्वमेयर रणबहादुर राई पाँचौँ स्थानमा खुम्चिए। सो क्षेत्रमा नेपाली कांग्रेसका निष्कल राई विजयी भए।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा प्रवेश गरेका टीकापुरका पूर्वमेयर रामलाल डगौरा थारू पनि कैलाली–१ मा पराजित भएका छन्। सो क्षेत्रमा रास्वपाकी कोमल ज्ञावली विजयी हुँदा थारू तेस्रो स्थानमा सीमित भए।

गाउँपालिका अध्यक्ष पद छाडेर प्रतिनिधिसभा चुनाव लडेका असिम राई सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाश सिंह कार्कीसँग पराजित भए। असिम थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष पद त्यागेर उम्मेदवार बनेका थिए।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पद छाडेर उदयपुर–२ बाट चुनाव लडेका नेकपा माओवादी केन्द्रका मेजरकुमार राईको त जमानत नै जफत भयो।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई बाँके–२ मा छैटौँ स्थानमा रहे भने ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा एमालेबाट उम्मेदवार बने पनि चौथो स्थानमा सीमित भइन्।

वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह र धरानका वडाध्यक्ष मनोज भट्टराई पनि चुनावमा पराजित भएका छन्।

संसदीय दौडमा उत्रिएका १४ जनामध्ये रहेका दुई महिला जनप्रतिनिधि रेणु दाहाल र अस्मिता थापा दुवै पराजित भएका छन्। स्थानीय सरकार सञ्चालनको अनुभवलाई राष्ट्रिय नीति निर्माणमा लैजाने भन्दै पद त्यागेर चुनावी मैदानमा उत्रिएका यी ११ नेताहरूका लागि यो निर्वाचन अन्ततः ‘न पद बच्यो, न संसद् पुगे’ भन्ने अवस्थासँगै समाप्त भएको छ।

स्थानीय तहको पद छाडेर संघीय राजनीतिमा छलाङ मार्ने आकांक्षा राखेका उनीहरूका लागि यो चुनाव भने ‘आकाशको फल आँखा तरी मर’ जस्तै सावित भएको विश्लेषण गर्न थालिएको छ।

प्रकाशित: २५ फाल्गुन २०८२ २१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App