२७ चैत्र २०८१ बुधबार
image/svg+xml १:५२ पूर्वाह्न
कला/संस्कृति

खकारजस्तै सरकार देख्छु, हरामजस्तै व्यवहार देख्छु!

मुक्तक

१) मुक्तक

खकारजस्तै सरकार देख्छु,

हरामजस्तै व्यवहार देख्छु।

खै दोष कोको म यहाँ लगाऊँ,

मसानजस्तै दरबार देख्छु।

२) मुक्तक

दिन हुँ, रजनी भगाउँछु,

बाढी हुँ, फोहर बगाउँछु।

खरानी छ, अझै हिरोसिमा,

पानी हुँ, सृष्टि जगाउँछु।

३) मुक्तक

मौसम मन्दमन्द छ,

बाटो बन्दबन्द छ।

बाज नाच्छन् झण्डामा,

सबैतिर छन्दछन्द छ।

४) मुक्तक

महलले छाप्रो जलाइरहेछ,

फटाहाले लाटो चलाइरहेछ।

जता हेर्‍याे उतै शनि दृष्टि छ,

बेथितिले थिति ढलाइरहेछ।

५) मुक्तक

हरे, मानवता कता हरायो!

मान्छेले मान्छे नै बलि चढायो।

धुवा बनेर नवमाथि पुग्नका लागि,

दाउराले शरीरमै आगो लगायो।

६) मुक्तक

धरती एउटै फरक छानो छ,

पेट एउटै फरक मानो छ।

आमा र सन्ततिहरूमा पनि,

कोही ठूलो र कोही सानो छ।

७) मुक्तक

बुद्ध तिम्रो आत्मा जल्दै छ किन!

तिम्रो सहारा उपदेश गल्दै छ किन!

दया, शान्ति अहिंसाको बोटमा,

लटरम्म ऐरेलु पो फल्दैछ किन!

८) मुक्तक

ए सुन्दर फूल नभाँच आँकुरा,

सगरमाथा तिमी नथुक टाकुरा।

दरबार त सधैं मिठोमसिनो खा,

म पसिना खान्छु नतोड पाखुरा।

- यम रेग्मी

प्रकाशित: २७ फाल्गुन २०८१ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App