मोटरसाइकल अड्याएर छेउमा उभिई फोनमा गफिराथ्याे राकेश, एउटी वृद्वा आमा खुट्टो खोच्याउँदै उसकाे अगाडि आउनुभयाे।
“लौन बाबु, केही साधन पनि भेटिएन। मलाई पर श्यामको क्लिनिकसम्म लगिदेऊ न,” आफ्नो रगताम्मे खुट्टो देखाउँदै भन्नुभयाे।
शीरदेखि पाउसम्म नियाल्याे उसले उपेक्षाकाे भावमा। “केरे चिन्नु न जान्नुको मान्छेसँग लिफ्ट माग्न सरम छैन?” सानाे आवाजमा बर्बरायाे।
“बाबु मेरै छोरो जस्तो लागेर पो!”
-याँ बस्नु ठिक छैन बेइज्जत मात्र हुन्छ। साेच्दै घरतिर टाप कस्याे राकेश।
उसकाे अफिसमा भर्खर सरुवा भएर आउने सुब्बा साहेबले बेलुकाको खाना खान आफ्नामा अनुरोध गरे, नजौँ कसरी, आफ्नो स्टाफको निम्तामा, श्रीमतीलाई भन्याे, "भरेको खाना मलाई नकुर्नु , अलिक ढिला हुन सक्छ।”
दुवै गफिंदै गए।
“घरमा कोको हुनुन्छ? "आफूभन्दा सिनियरसँग अप्ठ्याराे लाग्दै बोल्याे।
"विवाहित कि अविवाहित?" साेध्याे, सुब्बा साहेबले भने।
“म त अविवाहित हुँ अहिलेसम्म,घरमा मात्र आमा र म दुई जना हो।”
आमाले दु:ख गरेर हुर्काउनुभयाे, पढाउनुभयाे एक्लै। बुबा पहिल्यै बित्नुभको। आमाको बानी साथीहरू लिएर गयो भने असाध्य रमाउनुहुन्छ जाे साथी लिएर गए पनि आफ्नै छोरो जस्तै मान्नुहुन्छ, आज उहाँले नै खाना बनाइराख्छु कोही साथी लिएर आइज है भन्नुभाछ।"
घरमा आमाले खाना तयार पार्दै हुनुहुँदाेरहेछ भित्र, उनीहरू दुवै आफ्नै सुरमा गफिराथे।
आमा फुत्त बाहिर निस्किनुभो खुसी हुँदै, सायद खाना तयार भो अब खानुपर्छ भन्ने सूचना दिन होला।
आफ्नो छोरा र उसकाे साथीलाई हेर्नुभो पालैपालाे, आँखासँग उहाँका आँखा राकेशका आँखासँग जुधे, उसले हतारहतार घोसेमुन्टो लगायाे। कुनै शब्द नबाेली।
शीर माथि नउठाई खाना खायाे, बहाना गर्दै हतारहतार घरतिर टाप कस्याे राकेश।
- विष्णु भण्डारी आचार्य
प्रकाशित: २३ फाल्गुन २०८१ ११:५० शुक्रबार





