२० चैत्र २०८१ बुधबार
image/svg+xml १५:३ अपराह्न
कला

कोरा कागज

कथा

‘किन र आज पनि तिम्रो बाबा तिमीलाई भेट्न आउनुभएन?’ होमवर्क गरिरहेकी निशालाई हेर्दै मैले सोधेँ।

‘हैन आउनुभएको त थियो तर एकछिनमै उहाँ फर्कनुभयो।’ निशा मलाई पुलुक्क हेर्दै फेरि आफ्नै सुरमा कलम चलाइरहिन्।

कुनै बेला ऊ बिना म रहनै नसिकिने र म बिना ऊ पानीबिनाको माछाझैं छटपटी हुन्थ्याे।

जागिरको सिलसिलामा रविनलाई तिन महिनाका लागि झापा पठाएको थियो। गएको हप्ता दिन पनि नबित्दै ऊ फर्कियो।

- बरु जागिर नै छाडिदिन्छु रोमा तिमीबिना यति टाढा बस्न सकिनँ।

लाग्न त मलाई पनि ऊ बिना यति पर बस्ने मन त थिएन।

- हा छ्या मान्छेले के भन्छ! तपाईं त विदेश गएको त होइन नि!  दुईतिन वर्षका लागि जाबो ६ महिना।

दुधे छोरीलाई देखाउँदै मैले रविनको मन राख्न भनिरहेकी थिएँ, ‘म पनि तपाईको साथमा आउन मन लाग्छ नि तर कसरी आउने हो यति सानी नानीलाई बोकेर।’

दुई दिन बसेर रविन फेरि झापा फर्कियो। यति ६ महिना कटाउन पनि मलाई ६ वर्ष बिताउने जस्तो लाग्न थालेकाे थियाे। उसलाई भेट्न म आफैं व्यग्र थिएँ।

यो कस्तो हामी बिचको माया जसको महसुसमा मात्र पनि रोमाञ्चित हुने।

समय सोचे जस्तो हुँदो रहेनछ त यहाँ पनि फरक रंगले बदलिँदो रहेछ जब झापाबाट रविन ६ महिनापछि फर्किएको थियो उस्मा मप्रतिको दृष्टि बेग्लै देखिन मैले। म सोच्नै नसिकिने आश्चर्यमा परें। जब उसकाे पर्समा एउटी केटीकी तस्वीर देखे त बल्ल उसको मनको रेखा किन मोडिरहेको भनी मैले बुझें। मेरो कमजोर मुटु टुक्रिन खाेज्दै थियाे।

केही दिन हामी बिच रूखो संवाद भयो। लगत्तै म आफ्नो कलेजोको टुक्रो लिएर माइती गएँ।आखिर ऊ त्यो केटीका लागि यति झरिसकेको रहेछ कि उसले मलाई सम्बन्ध-विच्छेद माग्न पनि पछि परेन।

यता मेरा दाइहरूले उसको यस्तो घिनलाग्दाे हर्कत देखेर मेरो  र नानीको भविष्य सेभ गर्न सम्बन्धविच्छेद पत्रमा राजी गराई मलाई छोडपत्रमा हस्ताक्षर गर्न लगाउनुभयाे।

यो माया भन्ने चिज पनि अचम्मको रहेछ। मैले उसलाई अझै भुल्न सकिरहेकी थिइनँ। यदाकदा म उसलाई बाटामा देख्छु तर पनि नदेखेझैं म जान्छु। उसको  प्रेमको निशानी त मैले बोर्डिङमा पढाइराखेकी थिएँ। उनलाई मात्र भए पनि भेट्न आउँछ भन्ने खबरले म मेरो प्रेम जिउँदो छ भनी भित्रभित्रै खुशी भइरहेकी थिएँ।

कुनै दिन यो भावनात्मक प्रेमको सम्बन्धले ऊ पनि एकदिन अवश्य बिउँझिने छ। फगत कोरा कागजभित्रको विचलनले। आखिर ऊ पनि एक दिन अवश्य पछुताउने छ भन्ने मनमा लागिरहेकाे थियाे।

म एक्कासि अतीतबाट बिउँझिन यसो हेर्दा निशा आफ्नै धुनमा होमवर्क अझै गरिरहेकी हुन्छे। 

प्रकाशित: ३ फाल्गुन २०८१ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App